२०८१ पौष २५, बिहिवार , ०४:३७:५८ बजे

Sajhamanch
'

केदार कार्कीलाई हिक्मत कार्कीको जवाफः ‘ब्याक बेञ्चर’ ले चलाउन जान्दैनन्

आइतवार, जेठ २७, २०८१

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले झुक्किएर नेतृत्वमा पुगेपनि ‘ब्याक बेञ्चर’ हरु सफल नेता बन्न नसक्ने बताएका छन् ।

केही समयअघि पूर्वमुख्यमन्त्री केदार कार्कीले ‘फस्ट बेञ्चर’ साथी खरदार र ब्याक बेञ्चर आफू मुख्यमन्त्री भएको बताएका थिए । अभिव्यक्तिका कारण केदार कार्कीको आलोचना भएको थियो । तर, उनले आफ्नो अभिव्यक्ति बारम्बार दोहोर्याएका थिए ।

इटहरी जेसीजले आइतवार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ब्याक बेञ्चरले चलाउन नसक्ने बताए । उनले राजनीतिज्ञ बन्नका लागि अध्ययन अति आवश्यक रहेको बताए ।

“कोही–कोही मुख्यमन्त्री साथीहरुले म ब्याक बेञ्चर थिएँ भन्नुभयो, कोही ब्याक बेञ्चरहरु कहिलेकाहीँ झुक्किएर उछिट्टिएर राम्रो ठाउँमा पुग्छन्, तर चलाउन सक्दैनन्, जान्दैनन्”, उनले भने, “म असल विद्यार्थी हो, म राम्रो पढ्ने विद्यार्थी हुँ, मैले कानूनमा मास्टर्स गरेको छु ।”

पूर्वमुख्यमन्त्री कार्कीप्रति लक्षित गर्दै उनले राजनीति गर्नेहरु लोभ, लालच नगर्ने र चरित्र पनि सफा भएको हुनुपर्ने बताए ।

“मैले सबै बुझेरै राजनीतिमा आएको छु, राजनीति गर्ने मान्छेमा लोभ हुनुहुँदैन, चरित्र बिग्रनु हुँदैन”, उनले भने, “राजनीति गर्ने राष्ट्र, राष्ट्रीयता, जनताप्रति नकारात्मक बन्ने र देश जनताको बेहितमा सोच्ने हुँदैन ।”

मुलुकको नेतृत्व गर्छु भन्ने राजनीतिज्ञहरुका लागि अध्ययन अत्यावश्यक रहेको बताउँदै उनले नेपालको संघीय संरचनामा सबैभन्दा उत्कृष्ट नतिजा प्रदेश सरकारले दिइरहेको दाबी गरे ।

सम्बन्धित खबर