
दाङ । रुकुम पश्चिममा भिरबाट लडेर एक जना शिक्षकको मृत्यु भएको छ।
त्रिवेणी गाउँपालिका–१० पेउघाका ४६ वर्षीय शिक्षक भद्रबहादुर खड्काको मृत्यु भएको हो।बुधबार विद्यालयबाट घर फर्किएपछि उनी खेतमा कुलोबाट पानी सिँचाइका लागि गएका थिए।
रुकुम पश्चिमका प्रहरी प्रमुख डिएसपी नवराज पोख्रेलका अनुसार कुलोबाट खेतमा पानी लगाई फर्किने क्रममा बेलुकी करिब पाँच बजेतिर उनी भिरबाट लड्न पुगेका थिए।
गम्भीर अवस्थामा उद्धार गरी खड्कालाई आफन्तले उपचारको लागि जिल्ला अस्पताल सल्ले पुर्याएका थिए। तर, तत्कालै चिकित्सकले उनलाई मृत घोषणा गरी दिएका थिए।
खड्काले स्थानीय बाल कल्याण माध्यमिक विद्यालय टोड्केमा पढाउँदै आएका थिए।