२०८१ साउन ११, शुक्रवार , ०८:४४:३८ बजे

Sajhamanch
'

दुग्ध किसान र व्यवसायीले तीन महिनाभित्रै भुक्तानी पाउने वातावरण बनाउँछौं: मन्त्री साह

शनिवार, जेठ १९, २०८१

मेचीनगर । कृषि तथा पशुपंक्षी विकास मन्त्री ज्वालाकुमारी साहले दूध उत्पादक किसान र व्यवसायीले भुक्तानीमा भोग्दै आएको समस्या तीन महिनाभित्र सुल्झाउने बताएकी छन् ।

२४ औं विश्व दुध दिवशको सन्दर्भ पारेर राष्ट्रिय दुग्ध विकास बोर्डले शनिवार दुहागढीमा आयोजना गरेको कार्यक्रममा उनले सो कुरा बताएकी हुन् ।

‘किसानले पाउन बाँकी दुधको मूल्य सबै हिसाब गरेर ३ महिनाभित्र उपलब्ध गराउँछौं ।’, मेचीनगर–१४ स्थित एनएमसी एग्रो फार्ममा आयोजित कार्यक्रममा मन्त्री साहले भनिन् ।

राज्यले किसानलाई आत्मनिर्भर बनाउने लक्ष्यसहित देशभरका कृषकहरुलाई सहुलियत र अनुदानमा प्रविधिहरु प्रदान गरेको उनको भनाई थियो ।

राम्रो काम गर्ने किसान र दुग्ध व्यवसायीहरुलाई सम्मान गरिने बताउँदै मन्त्री साहले भनिन्, ‘तर, राज्यसँग लिएको अनुदान दुरुपयोग गर्नेलाई दण्ड जरिवाना पनि हुन्छ ।’

उपत्यकामा मात्र सीमित यसप्रकारका कार्यक्रम पहिलो पटक मोफसलको कोशी प्रदेश अन्तर्गत झापाको मेचीनगरमा किसानलाई समेटेर एनएमसी एग्रो फार्मको गाई गोठमै गरिएको उनको भनाई थियो ।

शुक्रवार झापा आएकी मन्त्री साहले दमक, गौरादह, बाहुनडाँगी लगायत क्षेत्रका गाई फार्मको अवलोकन गरेकी छन् ।

त्यस्तै, कोशी प्रदेश मुख्यमन्त्री तथा मन्त्री परिषद् कार्यालयकी राज्यमन्त्री सिर्जना राईले किसानका समस्याहरु बुझेको उल्लेख गर्दै सरकार फेरबदल भइरहँदा किसान र दुग्ध व्यवसायीको पीरमर्का सम्बोधन गर्न कठिनाई भइरहेको बताइन् ।

कार्यक्रममा कोशी सरकार उद्योग, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा.लेखराज दाहाल, राष्ट्रिय दुग्ध विकास संस्थानका महाप्रबन्धक राजेन्द्रप्रसाद अधिकारी, राष्ट्रिय दुग्ध विकास बोर्डका सदस्य सुमित केडिया, दुग्ध सहकारी संघका केन्द्रीय अध्यक्ष अम्बरबहादुर कुँवर, डेरी उद्योग संघका अध्यक्ष राजकुमार दाहाल, नेपाल डेरी एशोसिएशनका उपाध्यक्ष सियाराम सिंह, कोशी प्रदेश डेरी उद्योग समितिका संयोजक एवं नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) का संस्थापक अध्यक्ष रामचन्द्र उप्रेती लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

सो अवसरमा उत्कृष्ट कृषक, उत्कृष्ट सहकारी संस्था, उत्कृष्ट पशुपालन फार्म, उत्कृष्ट दुग्ध उद्योगी, उत्कृष्ट कृषि पत्रकार र डेरी विज्ञ सम्मानित भए ।

उत्कृष्ट कृषकमा झापाका राजकुमार तामाङ र मोरङका विज्ञान बस्नेत, उत्कृष्ट सहकारी संस्थामा पिठुवा दुग्ध उत्पादक सहकारी संस्था चितवन र कामधेनु दुग्ध विकास सहकारी संस्था सुनसरी, उत्कृष्ट पशुपालन फार्ममा सिंहदेवी पशुपालन सहकारी संस्था तेह्रथुम, उत्कृष्ट दुग्ध उद्योगमा एनएमसी डेरी उद्योग झापा र गल्फु विनायक डेरी काभ्रे, उत्कृष्ट कृषि पत्रकारमा अभियान आर्थिक दैनिकका पत्रकार प्रशान्त खड्का र डेरी विज्ञ प्रो. डा. भेषराज भण्डारीलाई सम्मान गरियो ।

राष्ट्रिय दुग्ध विकास बोर्डका निमित्त निर्देशक डा.बालक चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा शाब्दिक स्वागत पशु सेवा विभागका उपमहानिर्देशक डा. विनयकुमार कर्ण र सञ्चालन शाखा अधिकृत दिपेन्द्र अधिकारीले गरेका थिए ।

‘दूध तथा दुग्ध पदार्थको सेवन, दुग्ध व्यवसायको प्रवर्द्धन’ भन्ने मूल नारासहित दिवश विशेष सो कार्यक्रम आयोजना गरिएको हो ।

सम्बन्धित खबर