२०८१ माघ १३, आइतवार , ०५:५५:०४ बजे

Sajhamanch
'

अफगानिस्तानमा महिलामाथि प्रतिबन्ध, बालविवाह पच्चीस प्रतिशतले बढ्ने अनुमान

आइतवार, जेठ १३, २०८१

काबुल । तालिबान सरकारले महिला र युवतीहरूमाथि लगाएको प्रतिबन्धले अफगानिस्तानमा बालविवाहको संख्या पच्चीस प्रतिशतले बढ्ने संयुक्त राष्ट्र संघले जनाएको छ ।

संयुक्त राष्ट्र महिला, आप्रवासनका लागि अन्तर्राष्ट्रिय संगठन (आइओएम) र अफगानिस्तानका लागि संयुक्त राष्ट्र सहायता कार्यक्रम (युएनएएमए) ले संयुक्त विज्ञप्ति जारी गर्दै अन्तर्राष्ट्रिय समुदाय समक्ष अफगान महिलाहरूले सामना गर्ने मुद्दा र उनीहरूका मागहरू प्रस्तुत गरिएको छ ।

विवरणअनुसार तालिबानले महिला तथा बालिकामाथि लगाएको प्रतिबन्धले बालविवाहमा २५ प्रतिशतले वृद्धि, प्रारम्भिक प्रसवमा ४५ प्रतिशतले वृद्धि र मातृ मृत्युको जोखिम ५० प्रतिशतले बढ्नेछ ।

हाल ८२ प्रतिशत अफगानी महिलाहरूको मानसिक स्वास्थ्य खराब भएको विज्ञप्तिमा जनाइएको छ । अफगानिस्तान विश्वको एक मात्र राष्ट्र हो जसले केटीहरूलाई छैठौँ कक्षाभन्दा माथि पढ्न प्रतिबन्ध लगाएको छ ।

टोलो न्यूज रिपोर्टका अनुसार अफगानी महिलाहरूलाई विश्वविद्यालय जान पनि प्रतिबन्ध लगाइएको छ ।

संयुक्त राष्ट्रसंघका निकायहरूले जारी गरेको संयुक्त विवरणअनुसार तालिबानले लगाएको प्रतिबन्धका बावजुद अफगानी महिलाहरूले आफ्नो सम्मानपूर्वक बाँच्न पाउने अधिकारका लागि लड्न छोडेका छैनन् ।

विज्ञप्तिमा भनिएको छ, “अफगानी महिलाहरूले अझै पनि नागरिक समाज संगठनहरु गठन गरिरहेका छन्, व्यवसायहरू चलाइरहेका छन् र अझै पनि आफ्ना समुदायहरूलाई सेवा प्रदान गरिरहेका छन् । सबैभन्दा महत्वपूर्ण कुरा उनीहरू अन्तर्राष्ट्रिय समुदायमा आफ्ना मागहरू स्पष्ट पार्ने तरिकाहरू खोज्न तल्लीन छन् ।”

संयुक्त राष्ट्रसंघ महिला, आइओएम र युएनएएमएको संयुक्त विज्ञप्तिमा अफगानी महिलाहरूले अन्तर्राष्ट्रिय समुदायसमक्ष शिक्षा र रोजगारको अधिकारसहित महिलाको अधिकार पुनः स्थापित गर्न आग्रह गरेका छन् ।

सम्बन्धित खबर