२०८१ पौष २६, शुक्रवार , ०६:५७:४४ बजे

Sajhamanch
'

पाँच वर्षपछि ७ वटा उत्तरी नाका खुले, अन्य ७ नाका पनि खुल्ने घोषणा

शनिवार, जेठ १२, २०८१

विराटनगर । नेपाल र चीन सीमा जोड्ने ७ वटा नाका शनिवारदेखि पुनः सुचारु भएका छन् ।

अन्य ७ वटा नाका उपयुक्त समयमा खुलाउँदै जाने पनि घोषणा भएको हो । ती नाका पाँच वर्ष अगाडि कोरोना संक्रमणका कारण बन्द भएका थिए ।

उक्त नाकाको नेपाल सरकारका उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र चीनको तिब्बत स्वायत्त क्षेत्रका उपाध्यक्ष सिलाङ निमाले तिब्बतको छेन्ताङमा आयोजित कार्यक्रमबाट नाका पुनः सञ्चालनमा आएको घोषणा गरेका हुन् ।

कार्यक्रममा नेपालतर्फबाट कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, संखुवासभाबाट निर्वाचित संघीय सांसद दीपक खड्काका साथै, सुरक्षा निकायका अधिकारी, गृह, वाणिज्य, रक्षा र परराष्ट्र मन्त्रालयका कर्मचारी प्रतिनिधिको सहभागिता थियो ।

२०७६ सालदेखि उक्त नाका बन्द थिए । दुई मुलुकबीच कूटनीतिक माध्यमबाट निरन्तर छलफलपछि औपचारिक कार्यक्रमको आयोजना गरी नाकाहरू खुला भएको घोषणा गरिएको हो ।

१४ नाकामध्ये संखुवासभाको किमाथांकासहित ७ नाकाहरू शनिवारदेखि नै खुलेका छन् । बाँकी ७ नाकाहरू उपयुक्त समयमा खुल्ने कार्यक्रममा घोषणा गरियो ।

‘केही नाकाहरूमा मौसम, भूगोल र हावापानीको असहजताका कारण नाका खुल्ने र बन्द हुने आफ्नै परम्परागत तालिका छ, सो बमोजिम समय आएपछि खुल्ला हुने गरी सहमति गरिएको छ’, परराष्ट्र मन्त्री श्रेष्ठले भने ।

शनिवारदेखि संखुवासभा, दार्चुला, डोल्पा, मुस्ताङ, गोरखा, दोलखा र ताप्लेजुङ जिल्लासँग सीमा जोडिएका नाकाहरू खुलेका हुन् ।

तिब्बतको कार्यक्रमपछि तुम्लिङटार विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै मन्त्री श्रेष्ठले आफ्नो चीन भ्रमणका क्रममा भएका सहमतिहरू क्रमशः कार्यान्वयन भइरहेको जानकारी दिए ।

नेपाली नागरिकहरू चीन जाँदा भिजा शुल्क नलाग्ने निर्णय मे १ बाट कार्यान्वयनमा आएको उनले जानकारी दिए

त्यस्तै, ल्हासाबाट सामान ल्याउँदा सीमा क्षेत्रबाट सवारी साधन परिवर्तन गर्नुपर्ने बाध्यता हटाई हाल सोझै सोही साधनबाट गन्तव्यमा पुर्याउने सहमति कार्यान्वयन भइसकेको मन्त्री श्रेष्ठले बताए ।

सम्बन्धित खबर