२०८१ पौष २५, बिहिवार , ०१:५०:४६ बजे

Sajhamanch
'

किमाथांकासहित चीनसँग जोडिएका धेरैजसो नाका आजबाट फेरि खुल्दै

शनिवार, जेठ १२, २०८१

काठमाडौं । नेपाल सरकारको निरन्तरको कूटनीतिक प्रयासपछि संखुवासभास्थित चीनसँग सीमा जोडिएको किमाथांकासहित अधिकांश व्यापारिक नाका आजदेखि पुनः सञ्चालनमा आउने भएका छन् ।

कोभिड महामारीको कारण देखाउँदै चीन सरकारले बन्द गरेका ती नाका नेपाल र चीनका उच्च राजनीतिक नेतृत्वबीचको वार्ता, संवाद र सहमतिबाट करीब चार वर्षपछि पुनः सञ्चालनमा आउने भएका हुन् ।

कोभिड–१९ फैलने डरले चीन सरकारले किमाथांकासहित उत्तरी क्षेत्रमा रहेका १४ वटा परम्परागत सीमा व्यापार नाका बन्द गरेको थियो । परम्परागत नाका पुनः सञ्चालनका लागि दुई मुलुकबीच कूटनीतिक माध्यमबाट निरन्तर छलफल हुँदै आएको थियो ।

उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले गत चैतमा गरेको जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका अवसरमा नेपाल–चीन सीमा क्षेत्रमा रहेका सम्पूर्ण परम्परागत व्यापार नाका क्रमशः खुलाउने समझदारी भएको थियो ।

किमाथांकासहित नेपाल–चीन सीमामा रहेका १४ वटै व्यापारिक नाका पुनः सञ्चालनको उद्घाटन समारोहमा सहभागी हुन उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री श्रेष्ठको नेतृत्वमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, गृह र परराष्ट्र मन्त्रालयका सह–सचिव, प्रमुख जिल्ला अधिकारी, जिल्लास्थित सुरक्षा निकायका प्रमुख लगायत उच्चपदस्थ अधिकारी सहभागी प्रतिनिधिमण्डल आज (शनिवार) किमाथांका जाँदैछ ।

उपप्रधानमन्त्री श्रेष्ठ र चीनको तिब्बत स्वायत्त क्षेत्रका उपाध्यक्ष सिलाङ निमाले एक समारोहकाबीच किमाथांक–छेन्ताङसहित सम्पूर्ण व्यापार नाका पुनःसञ्चालन भएको घोषणा गर्ने कार्यक्रम छ ।

उक्त कार्यक्रमबाट नेपाल–चीन सीमामा रहेका १४ वटै व्यापार नाका खुलेको घोषणा गरिने संखुवासभाका प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले जानकारी दिए ।

सम्बन्धित खबर