नयाँ दिल्ली । भारतको राजधानी दिल्लीमा गर्मी बढ्न थालेपछि सरकारले सबै विद्यालय बन्द गर्न निर्देशन दिएको छ । दिल्लीको तापक्रम ४७ डिग्री सेल्सियस पुगेपछि त्यहाँको सरकारले सबै विद्यालय बन्द गर्न आदेश दिएको हिन्दुस्तान टाइम्सले जनाएको छ । शिक्षा निर्देशनालयले अस्ति सोमवार सूचना निकालेर यही जेठ ११ देखि जेठ ३० गतेसम्म सबै विद्यालयलाई गर्मी बिदा दिन निर्देशन दिएको हो ।
केही विद्यालय बन्द भईसकेका छन् भने केहीले बन्द गर्ने तयारी गरेका छन् । दिल्लीको अधिकतम तापक्रम ४७ दशमलव ८ डिग्री सेल्सियससम्म पुगेको छ । मौसम विभागले केहीदिनको लागि रेड अलर्ट जारी गरेको छ । भारतीय मौसम विभागले यो हप्ता दिल्लीमा अझै गर्मी बढ्ने पूर्वानुमान गरेको छ ।
विश्वव्यापी जलवायु परिवर्तनका कारण मौसममा विश्वभर असर परेको वैज्ञानिकले बताउँदै आएका छन् । तापक्रम बढेसँगै दिल्लीमा लू को लहरको अवधि पहिलेको भन्दा बढेको पाइएको छ । जनस्वास्थ्यका लागि पहिलेको भन्दा लूले गम्भीर असर देखाइरहेको हुनाले जनस्वास्थ्यका मापदण्ड पालना गर्न सरकारले आह्वान गरेको छ ।