२०८१ असोज २, बुधवार , १२:४६:०६ बजे

Sajhamanch
'

कोशी प्रदेशमा चलचित्र विकास बोर्ड गठन गर्छौंः मुख्यमन्त्री कार्की

सोमवार, जेठ ७, २०८१

झापा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले चलचित्र क्षेत्रको समृद्धिका लागि प्रादेशिक चलचित्र विकास बोर्ड बनाउने प्रतिबद्धता गरेका छन् ।

चलचित्र महोत्सव २०८१ को उद्घाटन समारोहमा मुख्यमन्त्री कार्कीले कला, साहित्य, संस्कृति र पर्यटकीय क्षेत्रमा धनी रहेको कोशी प्रदेशसँग चलचित्र छायाङ्कनका लागि नेपाली र भारतीय चलचित्रकर्मीलाई आकर्षण गर्न सक्ने सामाथ्र्य रहेको पनि औंल्याएका थिए ।

आइतबार बिर्तामोडमा भएको महोत्सव उद्घाटनका अवसरमा बोल्दै मुख्यमन्त्री कार्कीले कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमा चलचित्र छायाङ्कनका लागि ‘आउटडोर’ र ‘इन्डोर’ छायाङ्कनस्थल निर्माण गर्न बजेट छुट्याउने आश्वासन पनि दिएका छन् । मौलिक कला र संस्कृतिलाई जगेर्ना गर्दै पर्यटन प्रवर्धनमा टेवा पुर्याउने चलचित्र निर्माण गर्न उनले निर्माताहरुलाई आग्रह पनि गरेका छन् ।

नेपाल चलचित्र निर्माता सङ्घका अध्यक्ष नवल खड्काले चलचित्र मनोरञ्जन प्रदान गर्ने माध्यम मात्र नभएर २१औँ शताब्दीमा देशको राष्ट्रिता, कला र संस्कृतिको पहिचान बोक्ने शक्तिशाली माध्यम भएको बताए ।

उनले प्रदेशस्तरमा महोत्सवको आयोजना गर्ने कोशी पहिलो प्रदेश भएको जनाउँदै यस क्षेत्रको विकासका लागि प्रादेशिक विकास बोर्ड गठन हुनुपर्ने माग गरेका थिए ।

यही जेठ ११ गतेसम्म सञ्चालन हुने चलचित्र महोत्सवको आयोजना कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले गरेको हो । यसको व्यवस्थापन कोशी चलचित्रकर्मी सङ्घले गरेको छ ।

प्रदेशका भाषाभाषी र जातजातिको मौलिक चलचित्रहरु महोत्सवका क्रममा प्रदर्शन हुने भएका छन् । महोत्सवमा चलचित्र सम्बन्धी कार्यशाला, गोष्ठी र सांस्कृतिक झाँकी प्रस्तुत हुनेछन् ।

विर्तामोड, विराटनगर, इटहरीलगायत शहरमा छानिएका चलचित्रहरु महोत्सवमा प्रदर्शन गरिने चलचित्रकर्मी सङ्घ कोशी प्रदेश समितिका महासचिव रमेश तिवारीको भनाई छ ।

सम्बन्धित खबर