झापा । दक्षिण अफ्रिकाले गाजामा युद्धविरामको आदेश दिन र रफाहामा इजराइली आक्रमण रोक्न अन्तर्राष्ट्रिय न्यायालयलाई आग्रह गरेको छ । दक्षिण अफ्रिकाले अन्तर्राष्ट्रिय न्यायालय (आईसीजे) समक्ष इजराइललाई प्यालेस्टिनीविरुद्धको नरसंहारको आरोप लगाएको मुद्दाअन्तर्गत रफाहमा भएको आक्रमण रोक्ने आदेश दिन आग्रह गरेको समाचार संस्था अलजजिराले जनाएको छ ।
गाजामा इजराइलको आक्रमणलाई लिएर दक्षिण अफ्रिकाले जनवरीमा मुद्दा दायर गरेको थियो । दक्षिण अफ्रिकी वकिल टेम्बेका एनग्कुकाइटोबीले ‘नरसंहार’ को परिणाम निम्त्याउन सक्ने ‘स्पष्ट चेतावनी’ हुँदाहुँदै पनि इजराइलले रफाहमा आक्रमण गर्न दबाब दिइरहेको बताउनुभयो ।
इजरायलले सन् १९४९ को नरसंहार महासन्धि उल्लङ्घन गरेको भन्ने दक्षिण अफ्रिकाको दाबीलाई आधारहीन भन्दै अस्वीकार गरेको छ । अदालती सुनुवाइको केही मिनेटअघि इजराइली रक्षामन्त्री योव गालान्टले व्यापक रूपमा आलोचना गरिएको रफाह ‘अपरेशन’ जारी रहने बताउनुभएको खबरमा उल्लेख छ ।
आईसीजेका न्यायाधीशहरूले पहिले नै गाजामा मानवीय पीडा सीमित गर्न अस्थायी उपायहरू जारी गर्दै इजराइललाई आवश्यक पहल गर्न आदेश दिएका थिए । ती प्रावधानमध्ये इजराइलले गाजामा गम्भीर भोकमरीबाट पीडित प्यालेस्टिनीलाई ढिलाइ नगरि आधारभूत खाद्यान्न आपूर्ति सुनिश्चित गर्नु थियो ।
यस महिना इजराइली सेनाले मानवीय सहायताका लागि महत्त्वपूर्ण प्रवेश विन्दु गाजा पट्टी र इजिप्टबीचको रफाह सीमा क्रसिङको प्यालेस्टिनी पक्ष कब्जा गरी बन्द गरेको हो । सहायता एजेन्सीहरूले इजराइलको यो कदमले उनीहरूको सहायता सञ्चालनमा उल्लेखनीय बाधा पुर्याएको चेतावनी दिएका छन् ।