२०८१ पौष १३, शनिवार , ०९:२६:४८ बजे

Sajhamanch
'

आजदेखि तीन दिन तातो हावा चल्ने

शुक्रवार, जेठ ४, २०८१

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले अबको तीन दिन तातो हावा चल्ने जनाएको छ । आजदेखि आइतबारसम्म तापक्रम बढ्ने र तातो हावा चल्ने विभागको भनाइ छ ।

विगत केही दिनदेखि देशका अधिकांश भू–भागहरूको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिक रूपमा वृद्धि भइरहेको विभागको भनाइ छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागका केही स्थानहरूमा बिगत केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सो भन्दामाथि मापन गरिएको विभागले जनाएको छ ।

“कम्तीमा आजदेखि तीन दिनसम्म तराईका भू–भागहरूमा अत्यधिक गर्मीको सम्भावना रहने हुनाले आवश्यक तयारी गर्न र सतर्कता अपनाउन हामीले आग्रह गरेका छौँ,” मौसमविद् शान्ती कँडेल  भन्छिन्, “त्यसैले तराईका भू–भागहरूमा आजदेखि ६ गतेसम्म तातो हावा तथा तातो लहर चल्ने भएकाले त्यसको असरबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।”

हिजो भैरहवामा अधिकतम ४१.४, नेपालगन्जमा ४०.५, धनगढीमा ४० डिग्री सेल्सियस तापक्रम मापन गरिएको थियो ।“विशेषगरी सुदूरपश्चिम र लुम्बिनीका तराईका भू–भागमा गर्मी धेरै बढ्नेछ । यी स्थानमा ४० डिग्री सेल्सियसभन्दा माथि नै तापक्रम रहनेछ,” मौसमविद् कँडेल भन्छिन्, “अन्य प्रदेशका तराईका क्षेत्रमा पनि ४० डिग्री सेल्सियसकै हाराहारीमा तापक्रम रहन्छ ।”पश्चिमी वायु सक्रिय नहुनु र जलवास्पयुक्त वायु विकास गर्ने अन्य कुनै प्रणाली नरहेकाले गर्मी बढेको हो । हाल नेपालमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव मात्रै रहेको छ ।

तातो हावा तथा तातो लहरबाट थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता आदि हुनसक्ने विभागले बताएको छ ।

सम्बन्धित खबर