झापा । चिनियाँ राष्ट्रपति सी जिनपिङ र उहाँका रुसी समकक्षी भ्लादिमिर पुटिनबीच भेटवार्ता भएको छ । दुई दिने औपचारिक भ्रमणमा सीलाई भेट्न पुटिन बेइजिङ पुग्नुभएको हो । रुस–युक्रेन युद्धयता रुस र चीनका राष्ट्र प्रमुखबीचको भेट यो तेस्रो पटक हो ।
रुसको राष्ट्रपतिमा पाचौँ कार्यकालका लागि चयन भएसँगै पुटिनले आफ्नो पहिलो अन्तर्राष्ट्रिय भ्रमण चीनमा गर्नुभएको चिनियाँ सञ्चारमाध्यम सिन्ह्वाले जनाएको छ । यस भेटमा दुई देशबीच बृहत् रणनीतिक साझेदारीसम्बन्धी सम्झौता हुनसक्ने अपेक्षा गरिएको छ ।
यसैबीच पुटिनले युक्रेनसँग संवादका लागि आफू तयार रहेको बताएका खबरमा उल्लेख छ । चिनियाँ सञ्चारमाध्यमसँगको कुराकानीमा पुटिनले युद्धमा संलग्न सबै राष्ट्रहरूको हित हुनेगरी सहमतिका लागि रुस बाधक नरहेको बताउनुभएको छ ।