झापा । दक्षिण अफ्रिकाको अनुरोधमा संयुक्त राष्ट्र सङ्घ अन्तर्राष्ट्रिय अदालतले इजरायललाई रफाहमा आक्रमण रोक्नका लागि आपत्कालीन आदेश लागू गर्न भोलि बिहीवार र पर्सि शुक्रवार सुनुवाइ गर्ने भएको छ । हेगमा रहेको अन्तर्राष्ट्रिय अदालतले भोलि दक्षिण अफ्रिकाका वकिलको तर्फबाट बयान सुन्ने र अर्को दिन इजरायलको प्रतिक्रिया बयान सुन्ने भएको छ ।
रफाहमा भएको आक्रमणलाई लिएर दक्षिण अफ्रिकाले इजरायललाई तत्काल आफ्नो सैन्य आक्रमण बन्द गर्न आदेश दिन मागसहित अन्तर्राष्ट्रिय अदालतमा निवेदन दिएको थियो । रफाहमा आक्रमणपछि सर्वसाधारण विस्थापित हुने क्रम बढेको छ ।
मध्यस्थकर्तामध्येको एक कतारले इजरायलको सैन्य आक्रमणबाट लडाकु समूह हमाससँग हुने भनिएको वार्तालाई गतिरोधको अवस्थामा पुर्याएको जनाएको समाचार संस्था एएफपीले उल्लेख गरेको छ । रफाहमा आक्रमण रोक्न अन्तर्राष्ट्रिय समुदायले इजरायललाई निरन्तर दबाब दिइरहेका छन् ।