२०८१ माघ १२, शनिवार , ०१:१९:५४ बजे

Sajhamanch
'

एकीकृत समाजवादीले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत नदिने, जसपाले दिने

आइतवार, वैशाख ३०, २०८१

विराटनगर । सर्वोच्च अदालतमा मुद्दा विचाराधीन अवस्थामै रहेका बेला विश्वासको मत लिन खोजेको भन्दै कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई विश्वासको मत लिने बैठकमा एकीकृत समाजवादी अनुपस्थित रहने भएको छ ।

एकीकृत समाजवादी कोशी प्रदेश संसदीय दलका नेता राजेन्द्रकुमार राईले अदालतमा मुख्यमन्त्रीकै विरुद्धको मुद्दा विचाराधीन अवस्थामा रहेको बेला विश्वासको मत लिन खोज्नु गलत भएको बताए ।

‘अदालतमा मुद्दा विचाराधीन छ । हतार हतार विश्वासको मत लिनु हुँदैन थियो । संविधानको प्रावधानअनुसार ३० दिनभित्र विश्वासको मत लिन पाउने अवस्था हुँदा हुँदै अदालतले जेठ ९ गते सुनुवाइ गर्ने भनिसकेको अवस्थामा हतार गर्नुहुँदैन थियो,’ राईले भने ।

उनले आफ्नो पार्टी राष्ट्रिय महाधिवेशनको तयारीमा रहेका कारण पनि सोमबार बस्ने संसद् बैठकमा उपस्थिति हुन नसक्ने बताए । ‘हाम्रो पार्टीको राष्ट्रिय अधिवेशन पनि छ । हामी सबै सांसदहरू केन्द्रीय सदस्य हौँ । भोलि उपस्थित हुन सक्दैनौँ,’ उनले भने । उनले सरकारलाई समर्थन गर्ने या नगर्ने भन्ने विषयमा अगामी अन्य संसद् बैठकमा विशेष समय लिएर प्रस्ट पार्ने बताए ।

उता, राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि मुख्यमन्त्री कार्कीलाई समर्थन गर्ने या नगर्ने भन्ने विषयमा निर्णय गरिनसकेको जनाएको छ । दलका नेता भक्तिप्रसाद सिटौलाले आफ्नो दलले सोमबार बिहान बैठक बसेर निर्णय दिने बताए । ‘तत्काल हामी सरकारमा जाँदैनौं । तर, सरकारलाई समर्थन गरेर बाहिरै बस्ने कि समर्थन नदिने भन्ने विषयमा भोलि निर्णय गर्छौं,’ सिटौलाले भने ।

उता, जसपा नेपालकी सांसद निर्मला लिम्बूले भने आफूले सरकारलाई विश्वासको मत दिने बताइन् । ‘हाम्रो दलले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई विश्वासको मत दिन्छ,’ उनले भनिन्, ‘हामीले समर्थन गरिसकेका छौँ ।’

एमालेका उपसभामुखसहित ४० र माओवादीका १३ जना सांसदको समर्थनमा कार्की वैशाख २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । संविधानको धारा १६८ (५) अनुसार नियुक्त भएका मुख्यमन्त्री कार्कीको नियुक्ति प्रक्रियाका विरुद्धमा कांग्रेस सांसद तथा निवर्तमान मुख्यमन्त्री केदार कार्कीले सर्वोच्चमा रिट दायर गरेका छन् । उक्त रिटको अन्तिम सुनुवाइका लागि अदालतले जेठ ९ गतेका लागि तोकेको छ ।

कोशी प्रदेशमा एमालेका ४०, कांग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा (एकीकृत समाजवादी) का ४ र जसपा नेपालका १ सांसद छन् । जसपा नेपालकी सांसद निर्मला लिम्बूले केन्द्रमा पार्टी विभाजन भए पनि अहिले कुन दल रोज्ने भन्ने निर्णय गरिनसकेको बताएकी छिन् ।

सम्बन्धित खबर