विराटनगर । कोशी प्रदेशका प्रमुख परशुराम खापुङ्गले सनाखतका लागि सांसदहरूलाई बोलाएका छन्।
नेकपा (एमाले) का हिक्मत कार्कीले मुख्यमन्त्रीमा दाबी पेस गर्दा सांसदहरूको हस्ताक्षर बुझाएका थिए। ती सांसदहरूलाई खनाखतका लागि प्रदेश प्रमुखले बोलाएका हुन्।
‘प्रदेश प्रमुखले मुख्यमन्त्री दाबीकर्ताका समर्थनमा हस्ताक्षर गर्नुभएका सम्पूर्ण प्रदेश सभा सदस्यहरूलाई प्रदेश प्रमुख कार्यालयको सभाहलमा परिचय खुल्ने परिचय पत्रसाथ उपस्थित भई सनाखत गर्ने प्रयोजनका लागि उपस्थित गराउने निर्णय गर्नुभएको छ,’ प्रदेश प्रमुख कार्यालयका सूचना अधिकारी रामकुमार श्रेष्ठले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
कार्कीलाई मुख्यमन्त्रीमा समर्थन गर्दै एमाले, माओवादी केन्द्रका ५२ सांसदले हस्ताक्षर गरेका छन्। कोशीमा बहुमत पुग्न ४७ सांसद भए पुग्छ। जसपाकी एक सांसदले पनि कार्कीलाई समर्थन गरेकी छन्।