२०८१ जेठ ६, आइतवार , १०:३२:४८ बजे

Sajhamanch
'

माईजोगमाई अध्यक्ष कप सन्दकपुरलाई हराउँदै इलाम अन्तिम ८ मा प्रवेश

मङ्गलवार, वैशाख २५, २०८१

इलाम । सन्दकपुर गाउँपालिकालाई हराउँदै डिफेन्डिङ च्याम्पियन इलाम नगरपालिका दोस्रो माईजोगमाई गाउँपालिका अध्यक्ष कप अन्तरपालिका आमन्त्रित पुरुष फुटबल प्रतियोगिताको क्वाटरफाइनल प्रवेश गरेको छ ।

प्रतियोगिताको उद्धघाटन खेलमा इलामले सन्दकपुरलाई सडनडेथमा हराएको हो । निर्धारित समयमा दुवै टिमले गोेल रहित बराबरी खेलेका थिए । खेलमा बराबरी भएपछि निर्णयका लागि पेनाल्टी सुटआउट रोजिएको थियो । पेनाल्टी सुटआउटमा ६–५ गोल अन्तरले जित निकाल्दै इलामले अन्तिम ८ मा स्थान सुरक्षित गरेको हो ।

इलामको जितमा कप्तान प्रदिप बिष्ट, पासाङ शेर्पा, सविन मगर, प्रिन्स शेर्पा, नितेश गुरुङ र साङ्गे शेर्पाले गोल गरे । सन्दकपुरका राकेश मगर, अविशेक राई, निशान राई, मदन मगर र रोजन घलेले गोल गरे ।

गोलरक्षक पुजन गुरुङको प्रहार इलामका गोलरक्षक आङ्पेल शेर्पाले बचाए । खेलको म्यान अफ दि म्याच इलामका गोलरक्षक शेर्पा घोषित भए ।

जितसंगै इलामले माङसेबुङ गाउँपालिकासँग खेल्ने निश्चित भएको छ । प्रतियोगिताको दोस्रो प्रि–क्वाटरफाइनल खेलमा फाकफोकथुम गाउँपालिका र सूर्योदय नगरपालिका प्रतिस्पर्धा गर्नेछन् ।

माईजोगमाई गाउँपालिका खेलकुद विकास परिषदको आयोजनामा बालागुरु खेल मैदानमा आगामी वैशाख ३१ गतेसम्म प्रतियोगिता संचालन हुनेछ । प्रतियोगिताको विजेताले २ लाख ११ हजार १११ रुपैयाँ र उपविजेताले १ लाख २१ हजार १११ रुपैया नगद पुरस्कार प्राप्त गर्नेछन् ।

माईजोमाई गाउँपालिका अध्यक्ष कुशबहादुर थेवेको अध्यक्षतामा भएको कार्यक्रममा इलाम क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य महेश बस्नेतको प्रमुख आतिथ्य रहेको थियो ।

कार्यक्रममा परिषदका अध्यक्ष देवेन्द्र पौडेलले स्वागत र गाउँपालिका उपाध्यक्ष प्रविना राईले स्वागत मन्तव्य राखेकी थिइन् ।

प्रमुख अतिथि महेश बस्नेत र सन्दकपुर गाउँपालिका अध्यक्ष तुलाराम गुरुङले प्रतियोगिता उद्घाटनका अवसरमा शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रम परिषदका सचिव महेशचन्द्र सापकोटाले संचालन गरेका थिए ।

सम्बन्धित खबर