
काठमाडौं । अत्यधिक गर्मीसँगै तातो हावा चल्न थालेपछि बुटवल उपमहानगरपालिकाले दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले केही दिनदेखि चलेको तातो हावाका कारण विद्यार्थीको स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने भन्दै आज र भोलि विद्यालय बन्द गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।
उपमहानगरले सूचना निकालेर यस क्षेत्रमा पर्ने सामुदायिक तथा संस्थागत विद्यालय बन्द गर्न निर्देशन दिएको हो । बुटवलमा बिहानैदेखि चर्को घाम र तातो हावा चल्ने गरेकाले विद्यालयका बन्द कोठामा विद्यार्थी बिरामी पर्न सक्ने भनेर अभिभावकले आग्रह गरेपछि दुई दिन बन्द गर्ने निर्णय गरेको खनालले बताउनुभयो ।
बुटवल–भैरहवा क्षेत्रमा पछिल्लो एक हप्ताको तापक्रम ३८ देखि ४३ डिग्रीसम्म मापन भएको छ ।