२०८१ वैशाख २१, शुक्रवार , ०८:५६:५३ बजे

Sajhamanch
'

देशभर गर्मी बढ्यो, तराईका विभिन्न ठाउँमा तातो हावा

सोमवार, वैशाख १०, २०८१

काठमाडौं । एक हप्तायता देशभर गर्मी बढेको छ । तराईका विभिन्न ठाउँमा तातो हावा चल्न थालेको छ । धनगढी, नेपालगञ्ज, भैरहवा, सिमरा र जनकपुरको तापक्रम ३८ डिग्री सेल्सियसभन्दा माथि पुगेको छ ।

अझ जनकपुर र भैरहवाको तापक्रम ४० डिग्री सेल्सियसभन्दा पनि धेरै छ । अस्ति शनिवार भैरहवाको तापक्रम ४३ दशमलव ६, नेपालगञ्जको ४२ दशमलव २ र धनगढीको ४२ दशमलव २ डिग्री सेल्सियस पुगेको थियो । हिजो बादल लागेकाले ती ठाउँको तापक्रम थोरै घटे पनि आजदेखि फेरि बढ्ने सम्भावना रहेको मौसमविद् गोविन्द झाले बताउनुभयो ।

तराईका विभिन्न ठाउँमा तातो हावा चलेर तापक्रम ‘लु’ को अवस्थामा पुगे पनि जल तथा मौसम विज्ञान विभागले लुु चलेको आधिकारिक घोषणा गरिसकेको छैन । सामान्यतया लगातार तीन दिन वा त्योभन्दा धेरै समयसम्म असामान्य रूपमा तापक्रम बढ्दा लुु चलेको घोषणा गरिन्छ ।

यसको निश्चित मापदण्ड नभए पनि निरन्तर तापक्रम ४० डिग्रीभन्दा माथि पुग्यो भने ञलुु चलेको घोषणा गर्ने गरिएको मौसमविद् झाले उज्यालोलाई जानकारी दिनुभयो । तत्काल पानी पर्ने सम्भावना नभएकाले देशभरको तापक्रम अझ बढ्न सक्ने उहाँको भनाइ छ ।काठमाडौंको तापक्रम ३३ दशमलव ५ डिग्री सेल्सियससम्म पुगेको छ । आज पनि बिहानैदेखि गर्मी छ ।

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै ठाउँमा तथा कोशी र बागमती प्रदेशको पहाडी भूभागका एक, दुई ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाकाअनुसार आज मधेश प्रदेशका केही ठाउँ तथा कोशी र लुम्बिनी प्रदेशका तराई भूभागका थोरै ठाउँमा हावाहुरीको सम्भावना रहेको छ ।

सम्बन्धित खबर