बिर्तामोड । गरिबी निवारणको लागि लघु उद्यम विकास कार्यक्रम अन्तरगत बिर्तामोड नगरपालिकाले वडा नम्बर १ मा आयोजना गरिएको गुडिया बनाउने तालिम आइतबार सम्पन्न भएको छ ।
गत चैत्त १९ गतेदेखि सुरु भएको उक्त तालिममा वडाका १३ जना महिलाहरुले सहभागिता जनाएका थिए । तालिममा सहभागीहरुलाई आइतबार आयोजित एक संक्षिप्त कार्यक्रमका बीच वडा नम्बर १ का वडाअध्यक्ष अग्निप्रसाद पाण्डेले प्रमाण पत्र वितरण गरेका थिए ।
कार्यक्रममा बोल्दै वडाअध्यक्ष पाण्डेले तालिममा सिकेको सिपलाई व्यवसायिक बनाउन आग्रह गरे । नगरपालिकाले महिलाहरुलाई आत्मनिर्भर बनाउन लघु उद्यम विकास कार्यक्रम अन्तर्गत गुडिया बनाउने, सिलाई बुनाई, ब्याग बनाउने, ढाका बुन्ने, बाख्रा पालन लगायतका तालिम सन्चालन गरिरहेको उनले जानकारी दिए ।
बिर्तामोड नगरपालिकाले सिपमुलक तालिम प्रदान गरेका महिलाहरुको लागि लागत सहभागितामा आवश्यक मेशिनसमेत उपलव्ध गराउँदै आएको छ ।
सहभागीहरुले तालिम उपलव्धीमुलक बनेको प्रतिक्रिया दिएका छन् । उनीहरुले सिकेको सिपलाई सदुपयोग गर्नको लागि योजना बनाएर अघि बढ्ने प्रतिवद्दता व्यक्त गरे ।
गरिवी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम सहजकर्ता चनिमाया तामाङले तालिम प्राप्तहरुलाई उद्यमी बनाउन नगरपालिकाले सहजीकरण गर्नुपर्ने बताइन् । तालिममा मेनुका चाम्लिङले प्रशिक्षण दिएकी थिइन् ।