२०८१ पौष १९, शुक्रवार , ०२:०२:२० बजे

Sajhamanch
'

सिटी धनी र चालकका छोराछोरीलाई निःशुल्क कम्प्युटर तालिम

आइतवार, वैशाख ९, २०८१

मेचीनगर । तीन पाङ्ग्रे सवारी साधन (सिटी रिक्सा) का धनी र चालकका छोराछोरीलाई काँकरभिट्टामा निःशुल्करुपमा कम्प्युटर सिकाउन थालिएको छ ।

झापा टेम्पो सर्भिस प्रालिद्वारा सञ्चालित ई–रिक्साको काँकरभिट्टा कार्यालयले त्यहाँस्थित नाइस कम्प्युटर इन्स्टिच्यूटसँगको सहकार्यमा कम्प्युटरको निःशुल्क कक्षा शुरु गरेको हो ।

“संस्थामा आबद्ध सिटी सफारीका धनी र चालकका ६ जना छोराछोरीले सिक्दै छन्” प्रालिका कार्यालय प्रमुख चिरञ्जीवि सुब्बाले भने, “योक्रमलाई निरन्तरता दिने योजना छ ।”

उनका अनुसार संस्थाको ६० प्रतिशत लगानी र इन्स्टिच्यूटको ४० प्र्रतिशत छूटमा आधारभूत तहको ४ महिने कम्प्युटर कक्षा सञ्चालन भइरहेको छ ।

प्रशिक्षण लिइरहेकाहरुमा सामुदायिक र निजी विद्यालयबाट एसइई दिएका २ जना र ७ देखि कक्षा ९ सम्म अध्ययनरत् ४ जना विद्यार्थी छन् ।

“अहिले १ जना छात्र र ५ जना छात्रा कम्प्युटर कक्षामा सहभागी छन्” सुब्बा भन्छन्, “संस्थाको वार्षिक योजना अन्तर्गत शैक्षिक, खेलकूद लगायत क्षेत्रमा लगानी गरेका हौं ।”

युवावर्गलाई आत्मनिर्भर बनाउने उद्देश्यले सीपमूलक विभिन्न तालिम सञ्चालनको तयारी गरेको संस्थाले सामाजिक उत्तरदायित्वका गतिविधि अघि बढाउने उनको भनाई छ ।

३ वर्षअघि स्थापना भई क्याम्पस रोडमा सञ्चालित उक्त संस्थामा हाल ४० वटा सिटी सफारी आबद्ध छन् ।