
काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका लागि नेपालले अपनाएको समावेशी चरित्र विश्वमाझ पुर्या एर इन्द्रेणी पर्यटन भित्र्याउन लाग्नु पर्ने आवश्यकता औंल्याएकी छन् ।
नेपालमा पहिलोपटक आयोजना भएको इन्द्रेणी (रेन्बो) पर्यटन अन्तर्राष्ट्रिय सम्मेलनलाई शनिबार सम्बोधन गर्दै मन्त्री चौधरीले त्यस्तो धारणा राखेकी हुन् । पहिलो अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरेकोमा आयोजक एवं सहयोगीलाई धन्यवाद दिँदै मन्त्री चौधरीले इन्द्रेणी पर्यटन क्षेत्रबाट थाइल्यान्डको कूल ग्रार्हस्थ उत्पादनमा २० प्रतिशत योगदान दिएको बताइन् ।
लैङ्गिक समानता नीति २०७७ मै लागू भएको बताउँदै मन्त्री चौधरीले ‘लैङ्गिक समानता नीति २०७७ मा लागू भएको छ, पहिलो समलिङ्गी विवाह दर्ता भएको छ । विगतमा पनि यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका लागि लुम्बिनी र कोशी प्रदेशमा अभिमुखीकरण र सचेतनाका कार्यक्रम सञ्चालन भएका थिए, अब सातै प्रदेशमा सञ्चालन गर्ने तयारी गरेको’ बताइन् ।
नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा मायाको पहिचान नेपालले अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरेको हो । नेपाललाई इन्द्रेणी पर्यटनको गन्तव्य बनाउने उद्देश्यका साथ आयोजना भएको सम्मेलनमा मन्त्री चौधरीले लैङ्गिक समानताका लागि कानुन पर्याप्त रहेको भन्दै पूर्ण रूपमा कार्यान्वयनको क्रममा रहेको जानकारी पनि दिइन् ।
नेपालमा पहिलोपटक १३ मङ्सिर २०८० मा लमजुङको दोर्दी गाउँपालिका कार्यालयले माया गुरुङ्ग र सुरेन्द्र पाण्डेलाई विवाह दर्ताको प्रमाणपत्र दिएको थियो । माया र सुरेन्द्रको पहिलो विवाह दर्ता भएसँगै सुप्रिता गुरुङ्ग र दिप्ती श्रेष्ठलाई बर्दियाको बढैयाताल गाउँपालिकाले लेस्बियन विवाह दर्ताको प्रमाणपत्र दियो ।
एसियाकै पहिलो समलिङ्गी सांसद एवं मायाको पहिचान नेपालका कार्यकारी निर्देशक सुनिलबाबु पन्तले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक पर्यटकलाई स्वागत गर्न नेपाल तयार भएर बसेको बताए ।
उनले अरू देशमा जस्तो नेपालमा आउँदा डराउनु पर्ने अवस्था नरहेको पनि प्रष्ट पारेका छन् । ‘संवैधानिक अधिकार दिएको छ । अरू देशमा जाँदा डराई डराई जानुपर्छ, ’पन्तले भने,‘यहाँ (नेपाल)मा सुरक्षा छ । समलिङ्गी विवाह हनिमुन डेस्टिनेसनको रूपमा लैजाने सोचिरहेका छौं ।’
नेपालका लागि युरोपियन युनियनका राजदूत भेरोनिक लोरेन्जोले विश्वका १४५ देशमा गरिएको अध्ययनमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकका लागि नेपालको अवस्था राम्रो रहेको बताइन् । ‘१४५ देशहरूमा नेपालको अवस्थामा राम्रो र उत्साहप्रद देखिएको छ । अनुकरणीय छ। प्रगति राम्रो भएको छ’ उनले भनिन्, ‘समलिङ्गी विवाहलाई कानुनी मान्यता दिने नेपाल एसियामा दोस्रो देश बनेको छ ।’
इन्द्रेणी पर्यटनको विश्व बजार गो म्यागेजिनका सम्पादक डियान एन्डरसनले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक पर्यटनको ग्लोबल अवलोकन र अर्थतन्त्र –जिडिपी)मा यसको योगदान प्रस्तुत गर्दै इन्द्रेणी (रेन्बो) पर्यटनको बजार विश्वमा २ खर्ब ११ अर्ब डलरको रहेको जानकारी गराए ।
अमेरिका, चीन र जापानमा रहेको इन्द्रेणी पर्यटनको खरिद शक्ति नेपालसँग पनि रहेको बताउँदै उनले तीन वटा देशमा कोभिडको समयमा ४ ट्रिलियन डलर रहेको इन्द्रेणी पर्यटनको बजार अहिले ४.७ ट्रिलियन डलर पुगेको अध्ययनले देखाएको सुनाए ।
विश्वमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको जनसङ्ख्या ३० करोड रहेको बताउँदै उनले भनिन्, ‘यो कुल जनसङ्ख्याको ६.५ प्रतिशत हुन आउँछ । उनीहरू धेरै घुम्न रुचाउने हुन्छन् ।’
पर्यटन सम्मेलनमा अमेरिका, न्यूजिल्याण्ड, जर्मनीका पर्यटन व्यवसायीले कार्यपत्र प्रस्तुत गरेका छन् भने भारतीय लेखक एवं म्याथोलोजिष्ट देवदत्त पटनायक र पारोमिताले यौनिकता तथा लैङ्गिकताबारे पुराना तथ्यहरू प्रस्तुत गरेका थिए ।