२०८१ वैशाख २०, बिहिवार , १२:५०:४१ बजे

Sajhamanch
'

एमालेले मनाउन लागेको नेकपा स्थापनाको हीरक महोत्सवमा देउवादेखि वैद्यसम्मलाई निम्तो

शुक्रवार, वैशाख ७, २०८१

काठमाडौं । नेकपा स्थापनाको ७५ वर्ष पूरा भएको अवसरमा सत्तारुढ नेकपा (एमाले) ले हीरक महोत्सव आयोजना गर्दैछ।

वैशाख १० गते गोदावरीको सनराइज हलमा आयोजना गर्न लागेको महोत्वसमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई निम्तो दिइएको एमाले सचिव योगेश भट्टराईले जानकारी दिए।

उनकाअनुसार हीरक महोत्सवमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्रीहरू एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईलाई निम्तो दिइएको छ।

सत्ता साझेदार दल जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द र नेकपा (क्रान्तिकारी माओवादी)मा महासचिव मोहन वैद्यलाई पनि निम्तो दिइएको उनले बताए।

‘यसपटक हामीले विशेष समारोह आयोजना गर्दैछौं। नेकपा स्थापनाको ७५ औं वर्ष पूरा गरेको अवसरमा आयोजना गर्न लागिएको कार्यक्रम भएकाले क्रियाशील राजनीतिक दलका प्रमुख, सरकार प्रमुखहरूलाई आमन्त्रण गरिएको हो,’ उनले भने।

यसैबीच नेकपा (एमाले)ले शनिबारबाट महाधिवेशन प्रतिनिधि परिषद्को बैठक आयोजना गर्दैछ। गोदावरीको सनराइज हलमै हुने क्रार्यक्रममा दुई हजार ५०० प्रतिनिधि सहभागी हुनेछन्।

एमालेको दसौं महाधिवेशनमा करिब २२ सय प्रतिनिधि सहभागी थिए। ती सबै महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा सहभागी हुनेछन्। यसका अतिरिक्त केन्द्रीय निकायका सदस्यहरू गरी दुई हजार ५०० प्रतिनिधि रहनेछन्।

आइतबारसम्म चल्ने परिषद् बैठकमा ६ वटा दस्तावेज प्रस्तुत हुनेछन्।