२०८१ वैशाख २१, शुक्रवार , १२:३४:५२ बजे

Sajhamanch
'

रुपन्देहीमा छोरीको हत्या आरोपमा बुबा पक्राउ

शुक्रवार, वैशाख ७, २०८१

बुटवल । रुपन्देहीमा छोरीको हत्या गरेको आरोपमा प्रहरीले बुबालाई पक्राउ गरेको छ ।

रुपन्देहीको कञ्चन गाउँपालिका–५ बर्गदवाका नारायणबहादुर जिसी १७ वर्षीया छोरी अञ्जली जिसीको हत्या गरेको आरोपमा पक्राउ परेका हुन् । नारायणबहादुरलाई रड प्रहार गरी छोरीको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

बुटवलको ईटाभट्टी लाइनस्थित मालिका होटल एण्ड लजमा बुधबार रडले हानेर छोरीको हत्या गरी शवलाई होेटलकै कोठामा सिरकले छोपेर नारायण भागेका थिए ।

खोजी गर्ने क्रममा बिहीबार दिउँसो कञ्चन ४, थकालीचोकबाट नारायणलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक मनोहर भट्टले बताए । अञ्जली कञ्चनकै हरैया माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत् थिइन् ।

अञ्जली बुधबार दिउँसो साथीलाई भेट्न भनेर घरबाट हिंडेकी थिइन् । छोरीलाई खोज्दै बुटवल आइपुगेका उनले बुटवलमा भेटेर घर जान आग्रह गर्दा नमानेपछि रिसको झोंकमा रड प्रहार गर्दा मृत्यु हुन गएको बयान दिएका डीएसपी भट्टको भनाई छ ।

घटनापछि अञ्जलीकी आमाले आफ्ना पति नारायणविरुद्ध किटानी जाहेरी दिएकाले अदालतबाट म्याद थप गरी थप अनुसन्धान शुरु भएको उनले बताए ।

सम्बन्धित खबर