२०८१ माघ ३०, बुधवार , ०५:३८:४६ बजे

Sajhamanch
'

भाषासेवी रेग्मीलाई चन्द्रगढीमा अभिनन्दन

शुक्रवार, चैत ३०, २०८०

भद्रपुर । पूर्वका मोतिराम उपनामले परिचित भाषाविद चूडामणि रेग्मीलाई चन्द्रगढीमा अभिनन्दन गरिएको छ ।

प्राध्यापन, पत्रकारिता तथा भाषा साहित्यको माध्यमबाट नेपाली माटोको सेवा पुर्याएका रेग्मीलाई ८८औं वर्ष प्रवेशको अवसर पारेर लेखनाथ पुस्तकालय चन्द्रगढीले अभिनन्दन गरेको हो ।

रेग्मीले वि. सं. २०२१ सालबाट मेची महाविद्यालयको संस्थापक भएर तीन दशक बढी प्राध्यापन गरेका थिए भने झापा सदरमुकाम चन्द्रगढीमा रहेर चार दशक बढी समचार पत्र तथा साहित्यिक पत्रकारिताको माध्यमबाट नेपाली भाषा र साहित्यको निरन्तर सेवा पुर्याएका थिए ।

रेग्मीले नयाँ स्रष्टा जन्माउन युगज्ञान साप्ताहिक तथा जुही त्रैमासिकको माध्यमबाट विशिष्ठ योगदान गरेको कार्यक्रममा सहभागी स्रष्टाहरूले स्मरण गरेका थिए ।

रेग्मीको स्रष्टा व्यक्तित्व परिचय गराउँदै सहप्राध्यापक चूडामणि वशिष्ठले भद्रपुरमा मेची क्याम्पस स्थापना गराउनेदेखि भाषा साहित्यका स्रष्टा जन्माउने काममा युवा कवि मोतिरामले जस्तै विशिष्ठ योगदान दिएको स्मरण गरेका छन् ।

चूडामणि रेग्मी नेपाली भाषाको झर्रोवादी आन्दोलनको अथक योद्धा भएको बताउँदै सहप्राध्यापक वशिष्ठले युगज्ञान र जुही पत्रिकाको माध्यमबाट सयौं भाषासेवी स्रष्टा जन्माउने विशिष्ठ व्यक्तित्व भएको जानकारी दिए ।

वि सं १९९३ साल चैत्र २९ गते संखुवासभाको वानामा जन्मिएका रेग्मी भारतको वनारस विश्व विद्यालयबाट साहित्यचार्य उत्रीर्ण भएपछि नेपाल फर्किएर शिक्षण तथा पत्रकारिताको माध्यमबाट निरन्तर सेवा प्रवाह गरिरहेका छन् ।

प्रगतिशील विचारधारा राख्ने रेग्मीका कथा, काव्य, निबन्ध, उपन्यास, नाटक र समालोचना गरी दर्जनौ कृति प्रकाशित छन् भने भाषा तथा व्याकरणका पुस्तकसमेत प्रकाशित भएको पाइन्छ ।

पुस्तकालयका सभापति कृष्ण सुवेदी निराकारको अध्यक्षता तथा मेची बहुमुखी क्याम्पसका पूर्व प्रमुख कमलप्रसाद गुरागाईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा स्वागत कोषाध्यक्ष गोविन्द कोइराला तथा सञ्चालन सचिव हरिकिशोर आचार्यले गरेका थिए ।

सम्बन्धित खबर