२०८१ कार्तिक १०, शनिवार , ०१:१३:३९ बजे

Sajhamanch
'

पर्यटक लोभ्याउँदै काँकरभिट्टास्थित देवकोटा पार्क

बिहिवार, चैत २९, २०८०

मेचीनगर । नेपाली साहित्य जगतका एक उज्ज्वल नक्षत्र महाकवि लक्ष्मीप्रसाद देवकोटाको स्मृतिमा निर्मित काँकरभिट्टास्थित देवकोटा पार्क पछिल्लो समय पर्यटक आकर्षणको केन्द्र बन्न थालेको छ ।

महाकवि देवकोटाको पूर्णकदको शालीक रहेको पार्कको शान्त, स्वच्छ र हराभरा वातावरणले बालकदेखि वृद्धसम्मलाई लोभ्याउने गरेको हो ।

“काँकरभिट्टालाई साहित्यिक शहरका रुपमा चिनाउन पार्कको अवधारणा बनेको थियो”, देवकोटा पार्क व्यवस्थापन समितिका अध्यक्ष बालकृष्ण थापा भन्छन्, “यो ठाउँ वास्तवमै साहित्यमा पनि अब्बल छ ।”

उनका अनुसार पार्क परिसरको हरियाली वातावरणका कारण पछिल्लो समय आन्तरिक र बाह्य पर्यटक घुमफिर गर्न, सेल्फी खिच्न र समय व्यतित गर्न आउने गरेका हुन् ।

पर्यटकमैत्री वातावरणले कतिपय विद्यालय र संघ–संस्थाको टोली स्थलगत अध्ययन अवलोकन भ्रमणका लागि पनि आएको थापा बताउँछन् ।

“शनिबार र विदाका बेला भीड अलिक हुन्छ, अरुबेला त्यति हुँदैन” उनी थप्छन्, “साना र ठूला गरी दैनिक १०० जति आउँछन्, सानालाई प्रतिव्यक्ति २० रुपैयाँ लाग्छ, ठूलालाई लाग्दैन ।”

पार्कको प्रवेश शुल्कबापत मासिक झण्डै ३० हजार रुपैयाँ संकलन हुने बताउँदै उनले संकलित रकम संकलक र मालीलाई तलब दिएर बचत रकम पार्कको मर्मतसम्भार लगायतमा खर्च हुने गरेको बताए ।

राष्ट्रिय आवास कम्पनीको स्वामित्व र मेचीनगर नगरपालिकाको संरक्षणमा रहेको करीब १२ कट्ठा क्षेत्रफलमा उक्त पार्क फैलिएको छ ।

पार्क परिसरमा समितिको कार्यकक्ष, सामग्री भण्डारण कक्ष, हावा घर, चमेनागृह, शौचालय, स्नानकक्ष, पुस्तकालय लगायत भौतिक संरचना निर्माण गरिएको छ ।

त्यस्तै, पार्कमा धुपी, अशोका, रुद्राक्ष, स्वामी, मुसुन्डा, गोदावरी, सयपत्री, लिलि, लिचि, एभोकाडा लगायत विभिन्न प्रजातिका फलफूलका बिरुवा रोपिएको छ ।

मौसमी र बाह्रमासे फलफूल रहेको बगैँचाले पार्कको सौन्दर्यता बढाएको पार्क व्यवस्थापन समितिका सदस्य प्रविण बानियाँ बताउँछन् ।

बालबालिकालाई लक्षित गरी पार्क परिसरमा पिङ, चिप्लेटी, चाकाचुली लगायत खेल सामग्रीसँगै योगा सामग्री, थकान मेटाउन आराम गर्ने फलामको बेञ्चलगायत छन् ।

बच्चाहरुका लागि जम्पिङ सेट, वरिपरि ट्रयाक खोलेर रेल सञ्चालन, पानीको फोहोरा, देवकोटा सभाहल, पार्कको आकर्षण र सुरक्षाका लागि सोलार बत्ती जडान लगायतको तयारी गरिएको समितिले जनाएको छ ।

त्यस्तै, पार्कमा जीर्ण अवस्थामा रहेको बालबालिकाको खेल सामग्रीलाई आवश्यक मर्मतसम्भार र पुनर्निर्माण गर्न लागिएको समितिका सचिव शेखरकाजी थापाले बताए ।

समितिका अध्यक्ष थापाका अनुसार पार्कलाई दीर्घकालीनरुपमा व्यवस्थित ढंगले सञ्चालन गर्न सर्वदलीय एवं सर्वपक्षीय छलफल भएको छ ।

छलफलपछि समितिले पार्क सञ्चालन विधि तयार गरी वर्तमान समितिको निरन्तरताका लागि मेचीनगर नगरपालिकालाई जानकारी गराएको उनले बताए ।

समितिका अनुसार पार्कमा कार्यक्रम गर्न मेचीनगर वडा नम्बर ६ सहित स्थानीय नागरिक, राजनीतिक दल, उद्योगी, व्यवसायी, संघ–संस्थालगायतबाट गच्छेअनुसार सहयोग जुट्ने गरेको छ ।

पार्कको भौतिक संरचना विस्तार, मर्मतसम्भार लगायत विभिन्न शीर्षकमा कोशी प्रदेश सरकार र मेचीनगर नगरपालिकाबाट हालसम्म करीब ४० लाख रुपैयाँ बजेट प्राप्त भएको अध्यक्ष थापाको भनाइ छ ।

उक्त पार्कमा वर्षेनी लक्ष्मीपूजाका दिन लक्ष्मी जन्मजयन्ती विशेष समारोह आयोजना हुँदै आएको छ ।

सम्बन्धित खबर