
शिवसताक्षी । शिवसताक्षी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृतबहादुर राईले उपप्रमुख नरमाया कार्कीको कार्यकक्षमा मंगलबार अभद्र व्यवहार गरेका छन् ।
उपप्रमुख बसेको नजिकैको खाली कुर्सीलाई उनले लात्तले हानेर लडाएका हुन् । समाचार स्रोतका अनुसार छलफल चलिरहेका बेला रिसले चुर भएका राईले जुरुक्क उठेर उपप्रमुख नजिकैको कुर्सी माथि लात्ती वर्षाए र बैठक कक्षबाट बाहिरिएका थिए ।
घर नक्सा किर्ते प्रकरणका लागि चार महिना अघि गठन भएको छानबिन समितिले बुझाएको प्रतिवेदन उपर छलफलका लागि बोलाइएको बैठकमा आफू अनुकूलको प्रतिवेदन नआएको भन्दै उनले झोंक देखाउँदै खाली कुर्सीमाथि लात्ती हानेका थिए । प्रमुख प्रसासकीय अधिकृतले दोषी देखिएका कर्मचारीको बचाउ गरिरहेको पनि समाचार स्रोतको दावी छ ।
शिवसताक्षी नगर कार्यपालिकाको बैठकले नगरभित्रको घरनक्सा किर्ते प्रकरणको सत्य तथ्य छानबिनका लागि उपप्रमुख नरमाया कार्कीको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो ।
यसअघि पनि वडा नम्बर ८ का वडा अध्यक्ष सन्तकुमार फेउदिनको नेतृत्वमा छानविन समिति गठन भएको थियो । समिति गएको साउनमा गठन भएको थियो । वडा अध्यक्ष फेउदिन नेतृत्वको समितिले मंसिरमा प्रतिवेदन बुझाए पनि स्वतन्त्र रुपमा नगरकार्यपालिकाले सार्वजनिक गरेको थिएन ।
पछिल्लो पटक गठन भएको समितिले बुझाएको प्रतिवेदन पनि प्रमुख प्रसासकीय अधिकृत राईले सार्वजनिक गर्न अटेर गरेका थिए । कतिपयले घरनक्सा किर्ते प्रकरणको प्रतिवेदन सार्वजनिक गर्न नसक्नुलाई मिलेमतोको संज्ञा दिएका छन् ।
उपप्रमुख कार्की नेतृत्वको समितिले करिब ४ महिना लगाएर प्रतिवेदन तयार पारेको थियो । समितिले तयार पारेको प्रतिवेदन नगरप्रमुख मेगाहाङ थोप्रालाई बुझाइएको थियो ।
प्रमुख प्रशासकीय अधिकृत राईले उक्त प्रतिवेदन अनुकुल नभएको भन्दै समय थपेर पुनः सच्याउन आग्रह गरिरहेका थिए । समितिले प्रमुख प्रशासकीय अधिकृतको मागलाई वेवास्ता गर्दै आएको थियो । समितिका एक सदस्यका अनुसार समितिले सुक्ष्म अध्ययन र अनुसन्धान गर्दा जे देखियो प्रतिवेदनमा त्यै उल्लेख भएको बताएका छन् ।
समाचार स्रोतका अनुसार प्रतिवेदनमा घर नक्सा किर्ते प्रकरण कार्यमा दोषी देखिएका केही कर्मचारीलाई निलम्बन गर्न समितिले सिफारिस गरेको छ । समितिको सिफारिस प्रमुख प्रशासकीय अधिकृतलाई चित्त नबुझेको उनका यस्ता हर्कतहरुले प्रमाणित गर्दै आएको स्रोतको भनाई छ ।
दुईवटा समितिले तयार पारेको प्रतिवेदन सार्वजनिक गर्न आलटाल गर्नु र निलम्बनको सिफारिस गरिएका कर्मचारीलाई बचाउन खोजेकै कारण मंगलबारको बैठकमा प्रमुख प्रसासकीय अधिकृत रिसाएको हुनसक्ने बैठकमै सहभागीले बताएका छन् ।
प्रमुख प्रशासकीय अधिकृतले पदीय मर्यादा भुलेर आवेगमा कार्यालय कै कुर्सीमा लात्ती हान्नु अशोभनीय भएको प्रत्यक्षदर्शीले बताउँछन् । ‘कार्यालयको हाकिमले देखाएको हर्कत बिल्कुलै अमर्यादित, अशोभनीय र केटाकेटीपन जस्तो देखिएको छ । उनलाई कार्वाहीको दायरामा ल्याउन कार्यपालिकाले ढिलाई गर्नु हुन्न’ प्रत्यक्षदर्शीको माग छ ।
शिवसताक्षी नगरपालिकाको घर नक्सा शाखाबाट २०७२ सालयता १५० जना सेवाग्राहीका प्रमाणपत्र नक्कली छन् । सेवाग्राहीले नगरका कर्मचारीलाई दिएको राजश्व शाखामा दाखिला नगरी प्रमाणपत्र प्रदान गरिएको पाइएको थियो ।
घटनाका बारेमा नगर उपप्रमुख नरमाया कार्कीले कुनै प्रतिकृया दिन मानेकी छैनन् ।
यसैबीच प्रमुख प्रशासकीय अधिकृत राईले स्थानीय पत्रकार बिनोद सापकोटालाई प्रहरी लगाएर पक्राउ गर्ने धम्की दिएको बताएका छन् । सामाजिक सञ्जालमा सापकोटाले लेखेको एउटा स्टाटसलाई आधार मानेर प्रशासकीय अधिकृत राईले पत्रकार सापकोटालाई फोन गरेर ‘तपाईँ कुन ठाँउमा हुनुहुन्छ ? त्यहीँ प्रहरी लगाएर पक्राउ गर्न प्रहरी पठाउँछु’ भनी धम्की दिएको सापकोटाको भनाई छ ।