मेक्सिकोको दूतावासमा आक्रमण गरेपछि इक्वेडरविरुद्ध ल्याटिन अमेरिकी देश एकजुट भएका छन् । हिजो इक्वेडरको सुरक्षा बलले राजधानी क्विटोमा रहेको मेक्सिकोको दूतावासमा आक्रमण गरेपछि ल्याटिन अमेरिकाका सरकारहरूले इक्वेडरको चर्को आलोचना गरेका हुन् ।
अर्जेन्टिना, बोलिभिया, ब्राजिल, चिली, कोलम्बिया, क्युबा, पेरु, उरुग्वे र भेनेजुएलाले मेक्सिकोको दूतावासमा इक्वेडरले गरेको आक्रमणको चर्को निन्दा गरेका छन् । निकारागुआले इक्वेडरसँग कुटनीतिक सम्बन्ध तोड्न मेक्सिकोसँग मिलेर काम गर्ने बताएको छ । मेक्सिकोले हिजो नै इक्वेडरसँगको सम्बन्ध तोडिसकेको छ । ब्राजिलले इक्वेडरको कदमलाई अन्तर्राष्ट्रिय कानुन र मापदण्डको ‘स्पष्ट उल्लङ्घन’ को रूपमा निन्दा गरेको छ । कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोले ल्याटिन अमेरिकाले विश्वमा अगाडि बढिरहेको बर्बरताको बीचमा अन्तर्राष्ट्रिय कानुनको कार्यान्वयनलाई जीवित राख्नुपर्ने बताउनुभएको छ । यस्तै संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले दुवै पक्षलाई विवाद समाधान गर्न संयम देखाउन आग्रह गर्नुभएको छ ।
भ्रष्टाचारको आरोप लागेका इक्वेडरका पूर्वउपराष्ट्रपति जोर्गे ग्लास त्यहाँको मेक्सिकन दूतावासमा शरण लिएर बसेका थिए । ग्लासलाई पक्राउ गर्न इक्वेडरको प्रहरीले मेक्सिकोको दूतावासभित्र प्रवेश गरेर आक्रमण गरेपछि मेक्सिको र इक्वेडरबीच तनाव बढेको छ ।