
काठमाडौं । काठमाडौं महानगरपालिका भित्रका सामुदायिक र संस्थागत विद्यालयले आगामी शैक्षिक सत्रमा प्रयोग गर्ने पाठ्यपुस्तक, पोशाक तथा स्टेसनरी विद्यालयबाटै बिक्री गर्न र किन्न बाध्य बनाउन नपाउने भएका छन्। शुक्रबार महानगरको शिक्षा विभागले विद्यालयहरूलाई परिपत्र गर्दै उक्त कार्य नगर्न सचेत गराएको हो।
यस्तै, सामुदायिक विद्यालयले पाठ्यक्रम विकास केन्द्रले तयार पारेका पाठ्यपुस्तक मात्र प्रयोग गर्न पाउनेछन्। अंग्रेजी माध्यमका पाठ्यपुस्तक प्रयोग गर्नु परेमा केन्द्रले अनुवाद गरेर प्रकाशन गरेका वा सूचीकृत भएका मात्र प्रयोग गर्नुपर्ने महानगरले बताएको छ। यसबाहेकका पाठ्यपुस्तकका लागि महानगरले भुक्तानी नगर्ने समेत व्यहोरा परिपत्रमा उल्लेख छ।
संस्थागत विद्यालयले पनि पाठ्यक्रम विकास केन्द्रले सूचीकृत गरेका पाठ्यसामग्री मात्र प्रयोग गर्न गराउनु पर्नेछ।विद्यालयले यस विपरीतका कार्य स्वीकृत पाठ्य सामग्री प्रयोग नगरेमा, पोसाक, स्टेसनरी लगायतका सामग्री विद्यालयबाट खरिद गर्न विद्यार्थी तथा अभिभावकलाई बाध्य गराएमा कानुनी कारबाही गर्ने जनाएको छ।