२०८१ फागुन १२, सोमवार , ०४:१४:०८ बजे

Sajhamanch
'

चैत २९ गते झापा स्पोर्टस अवार्ड वितरण गरिने

शुक्रवार, चैत १६, २०८०

बिर्तामाड । नेपाल खेलकुद पत्रकार मञ्च झापाले आयोजना गर्दै आएको ‘एनएसजेएफ झापा स्पोर्टस अवार्ड २०७९’ चैत २९ गते बिहीबार हुने भएको छ ।

मञ्चले शुक्रबार बिर्तामोडमा पत्रकार सम्मेलन गरेर अवार्डबारे जानकारी दिएको हो । २०७३ सालदेखि मञ्चले निरन्तर आयोजना गर्दै आएको अवार्डको यो पाँचौँ संस्करण हो ।

बिर्तामोडमा आयोजना हुने अवार्ड २०७९ सालभर उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रका सफल खेलाडी र प्रशिक्षकलाई प्रदान गरिने मञ्चका सचिव तथा खेल प्रतिभा छनोट उपसमिति संयोजक चिरञ्जीवी घिमिरेले जानकारी दिए ।

अवार्ड फुटबलर स्वर्गीय आशिषविक्रम नेम्वाङको स्मृतिमा हुँदै आएको छ । कोशी प्रदेशमै पाँचौँपटक मञ्चको झापा समन्वय शाखाले अवार्ड कार्यक्रम गर्न लागेको हो । झापा जिल्लाका खेलाडी र प्रशिक्षकलाई अवार्ड प्रदान गरिनेछ ।

विगतका वर्षमा जस्तै यसपटक वर्षका उत्कृष्ट खेलाडी पुरुष, वर्षका उत्कृष्ट खेलाडी महिला, उत्कृष्ट युवा वर्ष खेलाडी, उत्कृष्ट वर्ष प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, स्पेशल अचिभमेन्ट अवार्ड र लाइफटाइम एचिभमेन्ट अवार्ड गरी सात विधामा खेलाडी, प्रशिक्षक, पुराना खेलकर्मीलाई सम्मान गरिने मञ्चका अध्यक्ष इन्द्रजीत मुखियाले जानकारी दिए ।

यो वर्षदेखि एउटा विधा थप गरिएको मञ्चका पूर्वअध्यक्ष तथा कार्यक्रम संयोजक हिमाल खरेलले जानकारी दिए । पाँचौँ संस्करणमा एकजना खेलकुद पत्रकारलाई उत्कृष्ट खेलकुद पत्रकार अवार्ड प्रदान गरिने उनले बताए ।

वर्ष खेलाडी महिला, पुरुष, युवा, प्रशिक्षक र पिपल्स च्वाइस अवार्डका लागि खेलाडीको मनोनयन सार्वजनिक गरिनेछ । यसका लागि मञ्चको खेलाडी छनोट समितिले आवश्यक तयारी सुरु गरिसकेको बताइएको छ ।

स्पेशल अचिभमेन्ट अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र उत्कृष्ट खेलकुद पत्रकार अवार्डको विजेता भने कार्यक्रमकै दिन घोषणा गरिनेछ ।

वर्ष खेलाडी पुरुष र महिला विजेतालाई नगद एक लाख, ट्रफी प्रदान गरिनेछ । युवा, प्रशिक्षक र पिपल्स च्वाइस र स्पेशल अवार्ड विधाका विजेतालाई जनही २५ हजार र लाइफटाइम एचिभमेन्ट अवार्ड विजेतालाई नगद ५० हजार रुपैयाँसहित विभिन्न गिफ्ट ह्याम्पर प्रदान गर्ने मञ्चले जनाएको छ ।

एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङले आफ्ना भाइ फुटबलर स्वर्गीय आशिषविक्रम नेम्वाङको स्मृतिमा मञ्चलाई एक लाख रुपैयाँ प्रदान गर्दै आएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

त्यस्तै, सहारा अटोमोबाइल्स प्रालि र सहारा नेपाल बिर्तामोडले दुई लाख ५० हजार रुपैयाँ प्रदान गर्दै आएको छ ।
अवार्डलाई सफल बनाउन अध्यक्ष इन्द्रजीत मुखियाको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ । मञ्चका सम्पूर्ण सदस्य मूल आयोजक समितिका सदस्य रहनेछन् ।

मञ्चका सचिव चिरञ्जीवी घिमिरेको संंयोजकत्वमा खेल प्रतिभा छनोट समिति गठन गरिएको छ । सदस्यहरुमा पुष्प बराल र राजु पौडेल छन् ।

अवार्ड कार्यक्रमका लागि विभिन्न उपसमिति गठन गरिएको छ ।
पत्रकार भेटघाट कार्यक्रममा संस्थापक अध्यक्ष रमेश समदर्शीले अवार्ड सुरु गर्दाका अनुभव सुनाएका थिए ।