२०८२ साउन १, बिहिवार , ०५:५९:०२ बजे

Sajhamanch
'

‘अहिले सत्ता समिकरण गरिएको हो, गठबन्धन होइन : एमाले अध्यक्ष ओली

बिहिवार, चैत १५, २०८०

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘मिसन ८४’ पार्टीको अर्जृनदृष्टि भएको बताएका छन् । आगामी आम निर्वाचनमा एमालेले एक्लै सरकार चलाउन पुग्नेगरी बहुमत ल्याउन ‘मिसन ८४’लाई अर्जुनदृष्टि बनाइरहेको उनले बताएका छन् ।

झापाको बिर्तामोडमा पार्टीको ११औं झापा जिल्ला अधिवेशन उद्घाटन गर्दै अध्यक्ष ओलीले वर्तमान सत्ता समीकरण देश विकासका लागि भएको पनि बताए । ‘यसअघि नेकपा एमालेलाई एक्ल्याउन र अघि बढ्न नदिन कांग्रेसले स्वार्थको गठबन्धन गरेको थियो, एमालेले त्यो गठबन्धन तोडाएर नयाँ समीकरण बनाएको’ अध्यक्ष ओलीको भनाई छ ।

कांग्रेसको गठबन्धन भत्कनै पर्ने जनाउँदै पुरानो गठबन्धन भत्किएपछि एमालेले परिस्थिति सम्हालेको उनको जिकिर छ ।

कार्यक्रममा पार्टीको उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, सल्लाहकार कमिटी अध्यक्ष अमृतकुमार बोहोरा, कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडा र झापा इञ्चार्ज विशाल भट्टराईले मन्तब्य राखेका थिए ।

एमाले झापाले विभिन्न कालखण्डमा जिल्ल पार्टीको नेतृत्व हाँकेका र योगदान पुर्याएका अग्रज नेताहरुलाई कदरपत्र प्रदान गरेको छ ।

सम्मानित हुनेहरुमा पार्टीका उपाध्यक्ष एवम् बागमती प्रदेशका पूर्वमुख्यमन्त्री अष्टलक्ष्मी शाक्य, पार्टीका सल्लाहकार कमिटीका अध्यक्ष अमृतकुमार बोहोरा, झापा विद्रोहका अगुवा नेता नरेश खरेल, झापाको पहिलो पार्टी प्रमुख डिल्लीराम मैनाली, दोस्रो र चौथो पार्टी प्रमुख कालिदास श्रेष्ठ, अनेमसंघ झापाका पहिलो अध्यक्ष शोभा कुँवर मैनाली, पृथ्वीशोभा मैनाली, ७० वर्षभन्दा ज्येष्ठ नेतृत्व सुमित्रा प्रसाई, सावित्रा खड्का, मजदूर नेता अन्तलाल धिमाल तथा पहिलो महिलो गाउँकमिटी प्रमुख जानुका सिटौला सिवाकोटी लगायतलाई कदर पत्र र सम्मान पत्र प्रदान गरिएको छ ।

एमालेले युवा वैज्ञानिक सबिन बाँस्कोटा, लाहा उद्योगी डम्बरकुमार विश्वकर्मा, झापा इनर्जीका सञ्चालक एलपी साँवा र तारा नमस्ते बालआश्रमका अध्यक्ष नारायणप्रसाद पोखरेल लगायतलाई प्रशंसापत्र प्रदा गरी सम्मानित गरेको छ ।

पार्टीका जिल्ला उपसचिव असारु राजवंशीले शाब्दिक स्वागत गरेको अधिवेशन उद्घाटन समारोहको सञ्चालन सचिव शिव ढुंगेलले गरेका थिए । उद्घाटन समारोहको अध्यक्षता कार्यवाहक जिल्ला अध्यक्ष प्रेमबहादुर गिरीले गरेका थिए ।

जिल्ला अधिवेशनको उद्घाटन समारोहमा दुई दर्जनभन्दा बढी युवा एमालेमा प्रवेश गरेका छन् । एमाले प्रवेश गर्नेहरुमा नेकपा माओवादी केन्द्र मेचीनगरका सहइञ्चार्ज एवम् जिल्ला सदस्य प्रकाश खड्कासहित युवाहरु छन् ।

सम्बन्धित खबर