
आफ्ना लाखौँ नागरिकका अनलाइन खाताहरु चिनियाँ ह्याकिङ षड्यन्त्रमा फसेका अमेरिकाले दावी गरेको छ । ह्याकर समूहले महत्वपूर्ण र जिम्मेवार अमेरिकी अधिकारीहरुलाई लक्षित गरी नागरिकका अनलाइन खाताहरु ह्याक गरेका अमेरिकी न्याय विभाग र कानुन सम्बन्धी अनुसन्धान गर्ने निकाय एफबीआईले जनाएको छ ।
अमेरिकाले अहिलेसम्म ह्याकर समूहमा आबद्ध सात जना चिनियाँ नागरिकलाई साइबर हमला अभियान सञ्चालन गरेको आरोप लगाएर उनीहरुको खोजी गरिरहेको बीबीसीले जनाएको छ । एफबीआईका अनुसार उनीहरुले १४ वर्षसम्म अभियान सञ्चालन गरेका खबरमा उल्लेख छ ।
अमेरिकी राज्य विभागले यो मुद्दामा आरोपितहरुको बारेमा जानकारी दिनेलाई १० मिलियन अमेरिकी डलर पुरस्कार दिने पनि घोषणा गरेको छ । अमेरिकी न्याय विभागका अनुसार ह्याकरहरूले अमेरिकी नागरिकसहित अमेरिकामा रहेका चीनका विदेशी आलोचकहरू, व्यवसायीहरू र राजनीतिज्ञलाई लक्षित गरेका छन् ।