
झापा । यही चैत १५ गतेदेखि हुने नेपाल कम्युनिष्ट पार्टी (एमाले) झापाको ११औं जिल्ला अधिवेशनको तयारी अन्तिम चरणमा पुर्याइएको छ । पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले समुद्घाटन गर्ने जिल्ला अधिवेशनको तयारी तीब्र पारिएको हो ।
जिल्ला अधिवेशन सम्पन्न गर्नको लागि जिल्ला कमिटीको नवौं पूर्ण बैठकले गठन गरेका ११ वटा उपसमितिले आ–आफ्ना जिम्मेवारीहरु क्रमशः पूरा गर्दै गएको उपसमितिका संयोजकहरुले सचिवालय बैठकमा जानकारी गराएका छन् ।
बिर्तामोडको अग्रसेन भवनमा गरिने अधिवेशनका लागि हल तथा मञ्च ब्यवस्थापनसहित सजावटको कार्य भइरहेको संयोजक नगेन्द्रप्रसाद संग्रौलाले जनाएका छन् ।
यसैगरी खाद्य ब्यवस्थापनका संयोजक देवराज कार्कीले स्वस्थकर र स्वादिलो खाना एवम् खाजा र चिया पानीको ब्यवस्थापन गर्न सक्षम क्याटरिङहरुबाट कोटेशन माग गरेर चैत १० गतेभित्रमा निर्णयमा पुग्ने जानकारी गराए ।
अधिवेशनमा सहभागी हुने ७८६ जना प्रतिनिधि र आयोजकहरुको परिचय पत्र तयारीका लागि प्राविधिक टिमले काम गरिरहेको जनाउँदै संयोजक नरेश चुडालले केही पालिकाबाट प्रतिनिधिहरुको नाम आउन ढिला भएकाले छपाइमा पठाउन बाँकी रहेको बताएका छन् ।
जिल्ला कार्यालयका अनुसार पालिकाबाट ४३० जना, जनसंगठनहरुबाट ८९ जना, मजदुरबाट ३० जना, सल्लाहकारहरु २५ जना, सम्पर्क मञ्चबाट ५ जना र आयोजक १६९ जना एवम् मनोनित प्रतिनिधिहरु ३८ जना गरी ७८६ जनाले अधिवेशनमा सहभागिता जनाउने छन् ।
अधिवेशनको प्रचार प्रसारको लागि रेडियो जिङ्गल उत्पादन भइसकेको, जिल्लाका सम्पूर्ण १३१ वटै वडा कमिटीले आफ्नो वडाका मुख्य चोक एवम् बजारहरुमा सरसफाइसहित झण्डाहरु राख्ने कार्य चैत १० गते गर्ने तथा मुख्य सहरहरुमा ठूला फ्लेक्स ब्यानरहरु राखिने तयारी भएको जिल्ला प्रचार तथा प्रकाशन विभागका प्रमुख गोपाल काफ्लेले जानकारी दिए ।
जिल्ला अधिवेशनको उद्घाटन समारोहमा झापाको पार्टी जीवनका अनेकन कालखण्डमा भूमिका खेल्ने नेतृत्वहरु, सामाजिक, सांस्कृतिक, कृषि, खेलकुद, गीत संगीत आदिमा योगदान गरेका करिब दुई दर्जन व्यक्तित्वहरुलाई सम्मान गर्ने तयारी गरिएको प्रचार तथा प्रकाशन विभाग प्रमुख काफ्लेले जनाएका छन् ।
अधिवेशनको बन्दसत्रमा कार्यवाहक अध्यक्ष प्रेमबहादुर गिरीले राजनीतिक प्रतिवेदन, सचिव शिव ढुंगेलले सांगठानिक प्रतिवेदन र कार्यालयको तर्फबाट आर्थिक प्रतिवेदन प्रस्तुत गरिने छ ।
अधिवेशनको प्रस्तावित कार्यक्रम तालिका अनुसार १५ गते बिहान ११ बजेदेखि उद्घाटन समारोह सुरु गर्ने, १६ गते बिहान खानापछि बन्दसत्र सुरु गरी २ बजेभित्र प्रतिवेदनहरु पास पारित गरेर नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी मनोनयन सुरु गर्ने तयारी छ । यद्यपी निर्वाचन समितिसँग समन्वय गरेरमात्र सो को अन्तिम निश्कर्षमा पुगिने अध्यक्ष गिरीले जनाएका छन् ।