हतुवागढी । भोजपुरको हतुवागढी ७ पिप्लेमा आगलागीबाट ज्यान गुमाएका बालबालिकाको परिवारलाई कोशी प्रदेश सरकारले एक लाखका दरले राहत रकम उपलब्ध गराएको छ ।
मुख्यमन्त्री केदार कार्कीले मंगलबार घटनास्थलमा नै पुगेर पीडितलाई समवेदना दिँदै ज्यान गुमाएका बालबालिकाका दुई परिवारलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट एक लाखका दरले राहत रकम हस्तान्तरण गरेका हुन् ।
राहत हस्तान्तरण गर्दै मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले दुःखको समयमा सरकारले मलमपट्टी लगाएको उल्लेख गरे । ‘प्रदेश तथा स्थानीय सरकार घर आँगनकै सरकार भएकाले जनताको समस्यामा तथा पीडामा सधैँ साथ रहन्छन्, उनले भने, दुःखमा सरकार सँगै छ ।’
चेक हस्तान्तरण कार्यक्रममा भोजपुरबाट कोशी प्रदेशमा निर्वाचित सांसद विनोद बान्तवा राई, सृजना राई, कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव लक्ष्मीप्रसाद पौडेलका साथै स्थानीय जनप्रतिनिधि सहभागी थिए ।
शनिबार भएको आगलागीमा स्थानीय रमेश कार्कीका ५ वर्षिया छोरी दिपशिखा कार्की, ३ वर्षीय छोरा दिउनिष कार्की र केदार कार्कीका ४ वर्षीय छोरा प्रनिष कार्कीको ज्यान गएको थियो ।
यसैबीच, मुख्यमन्त्री कार्कीले यो समय हावाहुरीका साथै आगलागी बढी हुने समय पनि भएकाले सावधान रहन प्रदेशबासीलाई अपिल गरेका छन् ।
आज मंगलबार एक सन्देश मार्फत उनले भनेका छन् ‘वन जंगलमा डढेलो लगाउने कार्य नगर्न, स–साना बालबालिका नजिक आगोजन्य वस्तुका र प्रज्वलनशील पदार्थ नराख्न, आगोको काम सकिएपछि पूर्णरुपमा निभाउन, ग्यास तथा विद्युतीय सामग्रीहरू सावधानीपूर्वक प्रयोग गरी यस्ता घटना न्यूनीकरण गर्न सकिन्छ । विपद्को घटना हुनासाथ नजिकको प्रहरी कार्यालयको कन्ट्रोल १०० र दमकल सेवाका लागि १०१ मा जानकारी गराई जिम्मेवार नागरिकको कर्तव्य निभाउनका लागि अनुरोध गर्दछु ।’