२०८१ माघ ९, बुधवार , ०५:३६:४४ बजे

Sajhamanch
'

रूसमा थप १५ नेपाली मारिएको आशंका, पहिचान गर्न परिवारको ‘डीएनए’ रिपोर्ट माग

मङ्गलवार, चैत ६, २०८०

काठमाडौं । रूसी सेनामा भर्ती भई युक्रेनसँगको युद्धमा मारिएको आशंकामा रूसले १५ नेपाली परिवारसँग ‘डीएनए’ रिपोर्ट माग गरेको छ ।

रूसी विदेश मन्त्रालयले मस्कोस्थित नेपाली दूतावासमार्फत मारिएको आशंका गरिएका १५ नेपालीको परिवारको डीएनए परीक्षणको रिपोर्ट मागेको हो । मस्कोस्थित नेपाली दूतावासले रूसी विदेश मन्त्रालयको उक्त पत्र परराष्ट्र मन्त्रालयमा पठाइसकेको छ । परराष्ट्रले सम्बन्धित परिवारलाई डीएनए परीक्षण गरी रिपोर्ट उपलब्ध गराउन भनिसकेको छ ।
“रूसले अनुरोध गरेअनुसार हामीले सम्बन्धित १५ परिवारलाई डीएन परीक्षण गरी रिपोर्ट उपलब्ध गराउन भनिसकेका छौँ । रिपोर्ट आएपछि एक–दुई दिनमा हामी पठाउँछौँ । त्यसपछि रूसी सेनामा भर्ती भई युक्रेनसँगको युद्धमा मारिएका नेपाली हुन् वा होइनन् भन्ने निक्यौल हुनेछ,” परराष्ट्र मन्त्रालय स्रोतले भन्यो ।

यसअघि रूसले औपचारिक रूपमा रूसी सेनामा भर्ती भई युक्रेनसँगको युद्धमा १९ नेपालीको मृत्यु भएको जानकारी गराइसकेको छ । योबाहेक थप १५ नेपाली युक्रेनसँगको युद्धमा मारिएको आशंकासहित रूसले सम्बन्धित परिवारको डीएनए रिपोर्ट माग गरेको हो ।
रूसी सेनामा भर्ती भई युक्रेनसँगको युद्धमा मृत्यु, घाइते र सम्पर्कविहीन रहेका नेपालीका परिवारको न्यायका पक्षमा आवाज उठाउँदै आएकी कृतु भण्डारीले रूसले डीएनए रिपोर्ट मागेका १५ परिवार आफ्नो सम्पर्कमा आएको बताइन् ।

“डीएनए रिपोर्ट मागेका १५ परिवार अहिले मेरो सम्पर्कमा हुनुहुन्छ । यीमध्ये मोरङका विकास राईको परिवारले डीएनए परिक्षण नगराउने जानकारी दिनु भएको छ । राईलाई केही दिनअघि युक्रेनले युद्धबन्दी सार्वजनिक गर्दा त्यहीँ देखिएको हुँदा उनको मृत्यु नभएको कारण परिवारले डीएनए परीक्षण नगराउने निर्णय गर्नुभएको हो,” भण्डारीले भनिन् ।

बाँकी १४ जना सम्बन्धित परिवारको डीएनए परीक्षण शिक्षण अस्पतालमा गर्ने तयारी गरिएको उनले जनाइन् । तर, डीएनए परीक्षण गर्ने क्रममा सरकारले पीडित परिवारलाई सहजीकरण गर्नुको सट्टा दुःख दिएको उनले बताइन् ।
“घरी कहाँबाट के पत्र लेराइज भन्छन्, घरी पत्रको व्यहोरा मिलेन फेरि बनाएर लेराइज भन्छन् । गाउँबाट आउनुभएका पीडित परिवारहरू कहाँ जाने, कसलाई भेट्ने अन्योलमा पर्नुहुन्छ । सरकारले सहजीकरण गर्नुभन्दा पनि झन् दुःख थपिदिने काम गरेको छ,” भण्डारीले भनिन् ।
यही चैत १ गते परराष्ट्र मन्त्रालयले थप सात नेपालीको मृत्यु भएको सूचना रूसले दिएको जनाएको थियो ।

त्यसअघि परराष्ट्रले रूसी सेनामा भर्ती भएका १२ नेपालीको मृत्यु भएको जनाएको थियो । चैत १ गते थप सातजना थपिएसँगै रूसी सेनामा भर्ती भई युक्रेनसँगको युद्धमा मारिने नेपालीको संख्या १९ पुगेको हो ।
नेपालले बारम्बार रूससँग नेपालीको भर्ती रोक्न, भर्ती भएकाहरूको विवरण उपलब्ध गराउन र फिर्ता गर्न, मृत्यु भएको शव पठाउन, मृत्यु र घाइते हुनेको परिवारलाई क्षतिपूति रकम उपलब्ध गराउन आग्रह गर्दै आएको छ । तर, रूसले रूसी सेनामा भर्ती भएका नेपालीको विवरण नेपाल सरकारलाई उपलब्ध गरेको छैन ।
सोमबार मात्र उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले प्रतिनिधिसभा बैठकमा रूसले आफ्नो सेनामा भर्ती भई घर फर्कन चाहने नेपालीहरूको करारपत्र रद्द गर्न सैद्धान्तिक सहमति जनाएको जानकारी दिएका थिए ।

“रूसी विदेश मन्त्रालयले रूसी सेनामा भर्ना भई घर फर्कन चाहने नेपालीको करार रद्द गर्ने आफ्नो सैद्धान्तिक सहमति रहेको जानकारी गराएको छ,” केही दिनअघि रूसी विदेशमन्त्री र नेपालका लागि रूसी राजदूतसँग कुरा गरेको स्मरण गर्दै उनले प्रतिनिधिसभा बैठकमा भनेका थिए, “तर त्यसको मोडालिटी तयार हुन बाँकी छ । यसबारेमा मस्कोस्थित नेपाली दूतावासले निरन्तर फलोअप गर्नेछ ।”
रूसी सेनामा भर्ती भई युक्रेनसँगको युद्धमा हालसम्म १९ नेपालीको मृत्यु भएको औपचारिक जानकारी रूसले नेपाललाई दिएको छ । थप १५ नेपाली मारिएको आशंकामा डीएनए परीक्षणको रिपोर्ट मागेको छ जसमध्ये एकजना जिउँदै रहेको सम्बन्धित परिवारले जनाएको छ ।

युक्रेनसँग रूसको तर्फबाट लड्दा सयौँ नेपाली घाइते भएका छन् । रूसी सेनामा भर्ती भएका ६ सयभन्दा बढीका आफन्तले उनीहरूलाई फिर्ता ल्याउन अनुरोध गरेको भण्डारीले बताइन् । युक्रेनमा युद्धबन्दी बनाइएका पाँच नेपालीलाई छुटाएर नेपाल फर्काउन आईसीआरसीको सहयोग मागिएको छ ।

रूसले युक्रेनसँगको युद्धमा मारिएका नेपालीको परिवारलाई क्षतिपूर्ति र बिमाबापतको रकम उपलब्ध गराउने नेपाललाई बताएको छ । तर, हालसम्म उक्त रकम प्राप्त गरेका छैनन् ।

सम्बन्धित खबर