काठमाडौं । काठमाडौंको महाराजगञ्ज नर्सिङ कलेजमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले तालाबन्दी गरेको छ । क्याम्पस प्रशासनले आफूहरूले उठाएका मागहरू सुनुवाइ नगरेको भन्दै स्ववियुले तालाबन्दी गरेको हो । बिगत १५ दिनदेखि बीएमएस अध्ययनरत विद्यार्थीहरूले एकेडेमिक र क्लिनिकल गतिविधिहरूलाई बहिस्कार गर्दै आएका थिए ।
लामो समयदेखि क्याम्पसमा डीनसँग वार्तामा बसे पनि सम्बन्धित निकायले बेवास्ता गर्ने गरेको उनीहरूको आरोप छ । सम्बन्धित निकायले बेवास्ता गरेर विद्यार्थीको भविष्यमाथि खेलबाड गर्ने काम भएको स्ववियु उप–सभापति आकृति ढकालले बताउनुभयो । डीन कार्यालय, चिकित्सा शिक्षा अध्ययन संस्थान र क्याम्पस गरी तीनवटै निकायबाट विद्यार्थीका समस्या समाधान नगरुन्जेल ताला नखुल्ने उहाँको भनाइ छ ।