२०८१ पौष २७, शनिवार , ०५:३३:५८ बजे

Sajhamanch
'

सातै प्रदेशमा आंगिक नर्सिङ क्याम्पस खोल्ने सीटीईभीटीको तयारी

सोमवार, चैत ५, २०८०

काठमाडौं । प्राविधिक तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)ले सातै प्रदेशमा आंगिक नर्सिङ कलेज सञ्चालन गर्ने तयारी गरेको छ । आगामी शैक्षिक सत्रदेखि पीसीएल नर्सिङ कार्यक्रम सुरु गर्नेगरी सीटीईभीटीले प्रक्रिया अघि बढाएको हो ।

त्यसका निम्ति कार्यदल बनाएर पूर्वाधार, जनशक्ति लगायतको अध्ययन भइरहेको सीटीईभीटीका उपाध्यक्ष खगेन्द्रप्रसाद अधिकारीले बताए । सीटीईभीटीले कम्तीमा एकसय बेडका प्रादेशिक अस्पतालहरूसँग सम्झौता गरी पीसीएल नर्सिङ पढाइ सञ्चालन गर्न लागेको उनले बताए ।
साथै साविकका अञ्चल अस्पतालहरूमा पीसीएल नर्सिङ र पारामेडिक्स कार्यक्रम सञ्चालन गर्ने सम्बन्धमा पनि छलफल भइरहेको अधिकारीको भनाइ छ । यसबारे शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयसँगको पत्राचारमा सीटीईभीटीले आफ्नो मातहतमा कलेज सञ्चालन गर्ने र प्रशासनिक तथा पूर्वाधार खर्च सरकारले व्यहोर्नुपर्ने राय दिएको उनले बताए ।

मापदण्ड पुगेका चार निजी कलेजलाई सम्बन्धन दिने तयारी
सीटीईभीटीले राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ बमोजिम मापदण्ड पुगेका चारवटा नर्सिङ क्याम्पसलाई पीसीएल नर्सिङका निम्ति सम्बन्धन दिने तयारी गरेको छ ।

ऐनअनुसार आफ्नै एकसय बेडको अस्पताल बनाइ आवेदन दिएका २५ मध्ये चारवटालाई आगामी शैक्षिक सत्रदेखि पढाई सुरु गर्नेगरी सम्बन्धनको प्रक्रिया अघि बढाएको उपाध्यक्ष अधिकारीले बताए । उनका अनुसार अन्य क्याम्पसको हकमा भने भौतिक पूर्वाधार तथा जनशक्ति लगायतका मापदण्डको अनुगमनको क्रममा छ ।

निजी क्याम्पसको मापदण्ड खुकुलो गर्ने पक्षमा छैन मन्त्रालय
सीटीईभीटी ऐन २०४५ र नियमावली २०५१ मा भने ५० बेडको अस्पताल भएका तथा ५० बेडका अस्पतालसँग सम्झौता गरेका क्याम्पसहरूले पीसीएल नर्सिङ कार्यक्रम सञ्चालन गर्न पाउने उल्लेख थियो ।

राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ को दफा १२ (क)मा ‘विद्यार्थीको पढाइ र अभ्यासको लागि मेडिकलतर्फ कम्तीमा तीनसय तथा डेन्टल र नर्सिङतर्फ एकसय शैयाको अस्पताल सञ्चालन नभएसम्म र आयोगले तोकेको अन्य मापदण्ड पूरा नगरेमा सम्बन्धित विषयको कार्यक्रम सञ्चालन शिक्षण संस्थालाई आशय पत्र प्रदान गरिने छैन’ भन्ने उल्लेख छ । तर, आयोगको ऐन लागु भएपछि भने एकसय बेडको अस्पताल नभएका कारण निजी क्षेत्रबाट सञ्चालित १०९ वटा क्याम्पसमध्ये ७८ वटा पीसीएल नर्सिङ कार्यक्रम बन्द भए ।

केहीले एकसय बेडका निम्ति स्तरोन्नतिको प्रक्रिया सुरु गरे । चिकित्सा शिक्षा ऐन लागु भएयता बन्द निजी नर्सिङ क्याम्पसको मापदण्ड खुकुलो गरी सञ्चालन गर्नुपर्ने बहस विभिन्न क्षेत्रबाट चलिरह्यो ।

सीटीईभीटीले कोरोनाकालमा स्तरोन्नति अवरुद्ध भएकाले थप दुई वर्ष ‘ग्रेस’ निजी कलेजहरूलाई दिनुपर्ने सीटीईभीटीले प्रस्ताव गरेको थियो । सो सम्बन्धमा प्रतिनिधिसभा अन्तर्गतको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले गत पुस २५ गते शिक्षा मन्त्रालयलाई निर्देशन दिएको थियो ।

जसमा आयोगबाट मापदण्ड तयार भई लागु नहुँदासम्मका लागि कोभिड–१९ को बन्दा बन्दीको समयलाई शून्य समय मानी आफ्नै १०० शैयाको अस्पताल बनाउन सात वर्षको (२०७५ देखि पाँच वर्ष भुक्तान भैसकेकोले थप दुई वर्ष मात्र)को समय दिई नर्सिङ कार्यक्रम सञ्चालन गर्ने र नयाँ मापदण्ड बनेपछि सोहीअनुसार गर्ने भनिएको थियो ।
यस्तै, चिकित्सा शिक्षा ऐन, २०७५ को व्यवस्थाबमोजिम दुई वर्षभित्र आफ्नै अस्पताल सञ्चालन हुनुपर्ने व्यवस्था भएकोमा कोभिड–१९ को शून्य समयको कारणले आफ्नै अस्पताल बनाउन नसकेका संस्थाहरूको हकमा हाललाई नर्सिङ शिक्षाको गुणस्तर कायम गर्न प्रयोगात्मक अभ्यासको सुनिश्चितताका लागि १०० शैयाको अन्य कुनै पायक पर्ने अस्पताल (सरकारी, निजी, गैरसरकारी)सँग सम्झौता गरी सो कार्यक्रम सञ्चालन गर्ने पनि निर्देशन दिइएको थियो । तर, शिक्षा मन्त्रालयले भने निजी क्याम्पसहरूको हकमा तत्काल खुकुलो नगर्ने अडान लिएको छ । शिक्षासचिव सुरेश अधिकारी बन्द निजी नर्सिङ कलेजलाई आफ्नै एकसय शैयाका अस्पताल नभए पनि सञ्चालन गर्न दिने समितिको निर्देशन कार्यान्वय गर्न नसकिने बताउँछन् ।

“हामीले कानुनसम्बत काम गर्ने हो, चिकित्सा शिक्षा ऐनमा आफ्नै सय बेडको अस्पताल अनिवार्य हुनुपर्ने व्यवस्था छ, यसको विपरीत गएर समितिको निर्देशन कार्यान्वयन गर्न मन्त्रालयले सक्दैन,” उनले  भने । साथै एकसय शैयाका आफ्नै अस्पताल बनाउन सरकारले दिएको समयसीमा थप्न समेत कानुनसम्बत नभएको उनको भनाइ छ ।

अस्पताल बनाउन दिइएको समयसीमा २०८१ सम्म कायम गर्नुपर्ने सुझाव व्यवहारिक रूपमा ठिक भए पनि ऐनमै नभएको कुरा कार्यान्वय गर्न नसकिने उनको भनाइ छ । बरु चिकित्सा शिक्षा ऐन र परिषद् ऐनमा बाँझिएका विषय संशोधन गर्न मन्त्रालयले प्रक्रिया अघि बढाउने उनले बताए ।

“मापदण्डकै विषय लिएर निजी नर्सिङ कलेज सञ्चालनलाई खुकुलो गरिहाल्ने पक्षमा मन्त्रालय छैन,” उनले थपे । समितिका निर्देशन र सुझावहरू समयसामयिक रूपमा ऐन संशोधनपछि भने कार्यान्वयन गर्न सकिने उनको भनाइ छ ।

नेपालमा हाल ५८ वटा प्रतिष्ठान तथा ३१ वटा निजी क्याम्पसबाट पीसीएल नर्सिङ कार्यक्रम सञ्चालन भइरहेको छ । यस्तै सीटीईभीटीका ६५ आंगिक क्याम्पसमध्ये केहीले पीसीएल नर्सिङ, पारामेडिक्स तथा स्वास्थ्यका अन्य केही विषय अध्यापन गराइरहेका छन् ।

सम्बन्धित खबर