२०८१ पौष ८, सोमवार , ०८:०१:३१ बजे

Sajhamanch
'

रुसमा मारिएका २२ जनाको शवविनै काजकिरिया

मङ्गलवार, फागुन २९, २०८०

काठमाडौं । ओखलढुंगाका खोमकुमार भुजेल रोजगारीका लागि कतार पुगेको १८ महिना भएको थियो । त्यही बेला रुसी सेनामा भर्ना खुलेको र राम्रै कमाइ हुने कुरा कतारमै रहेका साथीहरुले उनलाई सुनाए ।

साथीहरुकै लहैलहैमा लागेर उनी गत कात्तिक ४ गते कतारबाट रुसी सेनामा भर्ना हुन गए । रुस पुगेर युद्ध क्षेत्रमा खटाइएका उनी मंसिर २२ गते दिउँसोसम्म परिवारकै सम्पर्कमै थिए । ‘युद्ध क्षेत्रमा जादैछु भनेर अन्तिम पटक कुरा भएको थियो’ श्रीमती अनिशा भुजेल भन्छिन्, ‘त्यसपछि उहासँग सम्पर्क नै टुट्यो ।’

परिवार भने खोमकुमारसँग सम्पर्क हुने पर्खाइमा बस्यो । तर महिना दिन बित्दा पनि उनी सम्पर्कमा आएनन् । सम्पर्कविहीन भएको ठीक एक महिनापछि पुस २३ गते रुसबाट उनको मृत्युको खबर आयो । त्यो खबर रुसी सेनामै रहेका उनकै साथीहरुले ह्वाटसएपबाट पठाएका थिए । तर उनको मृत्यु भएको पुष्टि हुने आधार केही आएन । उनको शवको फोटोसम्म पाएनन् परिवारले । अन्ततः परिवारले साथीहरुले पठाएको खबरकै भरमा विश्वास गर्न बाध्य भए ।

मृत्यु भएको स्वीकारे पनि परिवार भने खोमकुमारको शव आउने पर्खाइमा बस्यो । तर शव ल्याउँन सम्भव देखिएन । ‘मृत्यु भए पनि शव हेरेर दाहसंस्कार गर्न चाहन्थ्यौं,’ श्रीमती अनिशाले भनिन्, ‘तर शव नआउने भएपछि कुशकै भरमा २७ पुसमा अन्तिम संस्कार गर्‍यौं ।’

आफन्त गुमाए पनि शवसम्म देख्ने चाहना परिवारको थियो । तर शव बिनै काजकिरिया गर्दा झन् पीडामा छन् । ‘शवसम्म देख्न पाएको भए पनि मन बुझाउन सकिन्थ्यो होला ,’ उनले भनिन् ।

०८० कात्तिक ६ गते साढे आठ लाख बुझाएर रुस पुगेका, धादिङका पूर्णबहादुर गुरुङको मंसिर २२ गते मृत्युको अपुष्ट खबर आयो । रुसी सेनामा भएका एक जना नेपाली कमाण्डरले पठाएको खबरकै भरमा परिवारलाई मृत्यु भएको पत्याउन मुश्किल भयो । परिवारले मुत्युको प्रमाण स्वरुप शवको फोटो मागे ।

त्यसको केही दिनपछि पूर्णबहादुर गुरुङको फोटो त आयो तर एकदमै विभत्स । हात र टाउँको काटिएको त्यो फोटो हेर्न नसकिने खालको थियो । त्यहीकारण परिवारको त्यो फोटो उनको श्रीमती लिलु गुरुङलाई देखाएनन् ।

‘मृत्यु भयो भनेर फोटो आएको छ रे’ श्रीमती लिलु गुरुङले भनिन्, ‘तर घरमा मलाई फोटो देखाउँनु भएको छैन ।’ पूर्णबहादुर परदेशमा वितेको खबरको प्रमाण त्यही थियो । त्यसैलाई आधार मानेर परिवारले मंसिर २८ गते फोटो कपडासहित उनको अन्तिम दाहसंस्कार गर्‍यो ।

कैलालीका भरतबहादुर शाहीले घर छोड्दा श्रीमती भद्रा शाही गर्भवती थिइन् ।

दलालको प्रलोभनमा परेर साउन ३० गते रुस पुगेका उनी सीधै रुसी सेनामा पुगेर भर्ना भए । रुसी सनोमा भर्ना भएको मंसिरको दोस्रो सातासम्म उनी परिवारसँग सम्पर्कमै थिए ।

त्यहीबीच उनको छोरी जन्मियो । रुसी सेनामा हुँदै उनले बच्चाको मुखसम्म हेर्न पाए । तर मंसिरको दोस्रो सातादेखि भने उनी सम्पर्कविहीन भए । घरमा बच्चा जन्मिएर परिवारमा खुसी छाएकै बेला मंसिर २३ गते भरतबहादुरको वितेको खबर आयो ।

रुसमा रहेका भरतबहादुरका साथीहरुले मृत्युको खबर पठाएका थिए । ‘सुत्केरी भएकै बेला त्यस्तो खबर आएपछि म बोहोसीमा ढले’ उनले भनिन्, ‘कयौं धेरै दिन वितेपछिमात्र होस आयो ।’

खबरकै भरमा मृत्यु पत्याउनु परेको परिवारले पनि शव हेर्न चाहे । तर शव ल्याउन सम्भव थिएन । त्यसपछि परिवारले शवबिना मंसिरको अन्तिममा दाहसंस्कार गर्‍यो । ‘अन्तिमसम्म पनि शव नै पर्खेर बस्यौं,’ उनले भनिन्, ‘केही उपाय नदेखेपछि फोटो र कुशकै भरमा काजकिरिया गर्न बाध्य भयौं ।’

अहिले उनको काखको बच्चा तीन महिनाको छ । अर्की छोरी सानै छिन् । रुसी सेनामा गएका श्रीमान्को मृत्युको खबरले विक्षप्त बनेकी उनी मरे भनिएका श्रीमान्को शव फर्काइदिन भनेर सरकारसँग हारगुहार गरिरहेकी छन् ।

मानवतस्करीको फन्दामा परेर रुसी सेनामा पुगेर रुस(युक्रेन युद्धमा नेपालीहरु मृत्युको खबर तान्तार आइरहेका छन् ।

औपचारिक रुपमा मृत्युको खबर परिवार समक्ष आइरहँदा परराष्ट्र मन्त्रालयले भने हालसम्म १२ जना नेपालीको मृत्यु भएको खबर सार्वजनिक गरेको छ । तर, अनलाइनखबरसँग सम्पर्कमा आएका २२ जना परिवारले भने मृत्युभएको भनेर अन्तिम दाहसंस्कार समेत गरिसकेका छन् ।

रुसी सेनामा गएर वेपत्ता, घाइते र मृत्यु भएका परिवारहरुलाई जोडिरहेको पीडित परिवार तथा नागरिकको जीवन रक्षाका लागि सचेतना अभियानका अनुसार २२ जना परिवारले दाहसंस्कार गरिसकेका छन् । जस अनुसार दोलखाका राजकुमार रोका, कैलालीका भरतबहादुर शाही, कास्कीका देवन राइ, स्याङजाका प्रितम कार्की, इलामका गंगाराज मोक्तान, कपिवबस्तुका रुपक कार्की, गोर्खाका सन्दीप थपलिया, दार्चुलाका कुन्दनसिंह नगाल, धादिङका राजकुमार गिरी, धादिङकै पूर्णबहादुर गुरुङ, बाँकेका संजय केसी, लम्जुङका साजन गुरुङको परिवारले आफ्नो धार्मिक परम्परा अनुसार अनरुप काजकिरिया गरिसकेका छन् ।

त्यस्तै लम्जुङकै सन्तोष गुरुङ, रसुवाका सुन्दर मोक्तान, दाङका जितबहादुर पुन, खोलढुंगाका खोमबहादुर भुजेल, रुपेन्देहीका लालबहादुर बुढा, रुपेन्देहीकै नेत्रबहादुर भुजेल, बाग्लुङका जीतबहादुर विक, स्याग्जाकै हरिप्रसाद अर्याल, र प्युठानका घनश्यामका पुनको र ठेगाना नखुलेको राजकुमार बुढाथोकीका परिवारले काजत्रिया गरिसकेका छन् ।

अभियानकी अभियन्ता कृतु भण्डारीका अनुसार यी सबै परिवारले शव बिनै, कुश र फोटोलाई दहासंस्कार गरेर काजकिरिया गरेका छन् । ‘रुसी सेनामा गएर मुत्यु भएकाहरुको शव आउँने अवस्था छैन,’ उनले भनिन्, ‘परिवारले शव नदेखेरै खबरकै भरमा पनि मृत्यु स्वीकारर्नु परेको अवस्था छ ।’

मृत्यु भनिएका यी परिवार मध्यले केहीको शवको फोटो, अस्पतालको मृत्यु प्रमाण पत्र आए पनि अधिकांश परिवारले भने रुसबाट आएको खबरकै भरमा समेत अन्तिम संस्कार गरेको उनले सुनाइन् ।