![](https://sajhamanch.com/wp-content/uploads/2024/03/Yogi-malyarpan.jpg)
अर्जुनधारा । वेद, वेदान्त, इतिहास, पुरातत्व, पुराणजस्ता गहन विषयहरूका ज्ञाता, प्रकाण्ड विद्वान योगी नरहरिनाथको ११०औं जन्मजयन्ती झापाको अर्जुनधारामा विशेष महत्वका साथ मनाइएको छ ।
योगी नरहरिनाथ स्मृति अन्तर्राष्ट्रिय परिषद्को आयोजनामा १२१ जना ब्रम्हचारी बटुकहरुले ११ पटक १२१ आवृत्ति पाठपारायण तथा हवन गरी महारुद्राभिषेक महालघु मनाइएको हो । शंकराचार्य पीठ खुदुनाबारी साधुटारका प्राचार्य लक्ष्मीप्रसाद खतिवडाको संयोजकत्वमा आयोजित महालघुमा आचार्य छन्दुराम भण्डारीसहितका गुरुहरुले मन्त्रोच्चारण गरी योगीजीको स्मरण गरिएको हो ।
कालिकोट जिल्लाको लालुभन्ने गाउँमा वि. सं. १९७१ साल फागुन १७ गते जन्मिएका योगीजीसँग लामो समय संगत गरेका अर्जुनधारा ६ का गोविन्द काफ्लेले स्थापना गरेको योगी नरहरिनाथ स्मृति अन्तर्राष्ट्रिय परिषद्को आयोजनामा भएको सो महालघु विरलै सम्पन्न गरिने कार्यक्रम रहेको प्राचार्य खतिवडाको भनाई छ ।
योगी नरहरिनाथ स्मृति अन्तर्राष्ट्रिय परिषद्का अध्यक्ष गोविन्द काफ्लेको अध्यक्षतामा आयोजित सो महालघु एवम् योगी नरहरिनाथको ११०औं जन्मजयन्ती समारोहमा आमन्त्रित अतिथिहरुलाई सचिव डा. रुपक खनालले शाब्दिक स्वागत गरेका थिए ।
परिषद्का आजीवन सदस्य तोयानाथ काफ्लेको सञ्चालन रहेको सो कार्यक्रममा योगी नरहरिनाथको जीवनीसम्बन्धी चर्चा पनि गरिएको थियो । उक्त महालघुमा १६५ जना बटुकहरुले पाठ पारायण गरेर पूर्वमा नै एउटा फरक आध्यात्मिक अनुभूति प्रदान गरेको बताइएको छ ।
सोही अवसरमा आयुर्वेद चिकित्सक डा. नविन बाँस्तोलाले परिषद्को परिसरमा निःशुल्क स्वास्थ्य परीक्षण शिविर सञ्चालन गरेका थिए ।
तस्वीरहरु :