२०८१ पौष २२, सोमवार , ०३:३६:१३ बजे

Sajhamanch
'

आजको मौसम

शुक्रवार, फागुन १८, २०८०

काठमाडौं । देशका केही भू–भागमा आज वर्षा र हिमपात हुने भएको छ । पश्चिमी वायु पुनः सक्रिय हुँदा वर्षाको सम्भावना रहेको हो । अहिले पश्चिमी वायुको आंशिक प्रभाव रहेकोमा साँझबाट यो प्रणाली (पश्चिमी वायु) थप सक्रिय हुँदा वर्षा हुने भएको हो ।जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान गण्डकी र कोसी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ ।दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।

गण्डकी, कर्णाली र सुदूर पश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।विभागका अनुसार राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।

सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा तथा गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

आज साँझबाट पश्चिमी क्षेत्र हुँदै पश्चिमी न्यूनचापीय प्रणाली पुनः केही दिन सक्रिय हुने भएको छ । आज बेलुकाबाट पश्चिमी क्षेत्रबाट बादल प्रवेश गर्न सुरु गर्ने मौसमविद् सञ्जिव अधिकारी बताउँछन् । “पश्चिमी न्यूनचापीय प्रणाली पुनः केही दिन सक्रिय हुँदा केही दिन पुनः हिउँदे वर्षा हुनेछ,” उनले भने ।आजबाट पुनः सक्रिय हुने प्रणालीले पश्चिमी भू–भागमा तुलनात्मक रूपमा धेरै र मध्य तथा पूर्वी क्षेत्रमा कम वर्षा गराउने उनको भनाइ छ ।यो प्रणाली आइतबारसम्म जारी रहने मौसमविद् अधिकारी बताउँछन् ।

सम्बन्धित खबर