२०८२ साउन १७, शनिवार , ०३:१३:४२ बजे

Sajhamanch
'

वर्तमान गठबन्धन खरानीको डल्लोजस्तै, सुकाए पनि फुट्छ, भिजाए पनि फुट्छ : एमाले अध्यक्ष ओली

बुधवार, फागुन १६, २०८०

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान गठबन्धन खरानीको डल्लो भएको बताएका छन् ।

आज बुधबार विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष ओलीले गठबन्धन कति समय टिक्छ भन्ने विषय आफूलाई थाहा नभएको बताएका हुन् ।

पूर्वप्रधानमन्त्री पनि रहेका एमाले अध्यक्ष ओलीले थपे, ‘तर त्यो खरानीको डल्लो भएकोले कुनै पनि बेला फुट्छ । गठबन्धन खरानीको डल्लो हो, यो सुक्यो भने पनि फुट्छ, भिज्यो भने पनि फुट्छ ।’

कांग्रेसमा सोच, विचार, चिन्तन केही पनि नभएको टिप्पणी गर्दै एमाले अध्यक्ष ओलीले कांग्रेसले सरकार र सत्तामा पुग्ने बाहेक केही थाहा पाउँदैन । सरकार फेरबदलको खेलमा एमाले नरहेको प्रष्ट्याँदै अध्यक्ष ओलीले ‘गठबन्धनको खेलमा हामी छँदै छैनौँ, हामी मिसन २०८४ मा छौँ ।’

अध्यक्ष ओलीले आफूहरूको ध्यान मिसन ८४ मा केन्द्रित रहेको बताउँदै २०८४ मा हुने चुनावमा एमाले बहुमतसहितको दलमा स्थापित हुने दाबी गरे । राष्ट्रियतालाई बलियो बनाउन, सुशासन र विकास कायम गर्न, जनताको निराशा चिर्न एमालेलाई निर्णायक शक्तिको रूपमा विकास गरिने ओलीको दृढता थियो ।

अहिले राष्ट्रियता कमजोर भएको, सुशासन र विकास कमजोर भएको कारण नागरिकमा निराशा छाएको बताउँदै पूर्वप्रधानमन्त्री ओलीले त्यसलाई सुदृढ गर्न र जनतामा आशा जगाउन एमालेले मिसन २०८४ भनेको छ ।

एमाले सत्य निरूपण तथा मेलमिलाप विधेयक पारित गर्नुपर्छ भनिरहेको स्पष्ट पार्दै ओलीले सबैको सहमतिमा पीडित मैत्री हुने गरी सो विधेयक पास गर्नुपर्ने धारणा राखेका छन् ।

सरकारले बनाएकै समितिले दोषी ठहर गरेपछि मन्त्रीले राजीनामा दिनुपर्ने जिकिर गर्दै एमाले अध्यक्ष ओलीले मानव हत्याको विषयमा दोषी ठहरिएका व्यक्तिलाई झण्डा हल्लाएर हिँड्ने अधिकार नरहेको प्रष्ट पारेका छन् ।

सम्बन्धित खबर