बिर्तामोड । बिर्तामोड उद्योग वाणिज्य संघको फागुन १४ गते हुने निर्वाचनमा अर्जुनकुमार मैनाली नेतृत्वको स्वतन्त्र ब्यवसायिक प्यानलबाट उम्मेदवारी दिएका व्यवसायीहरुले आफू निर्वाचित भएपछि बिर्तामोडको व्यवसाय प्रवर्धनमा केही न केही नयाँ काम गरेर देखाउने दावी गरेका छन् ।
स्वतन्त्र ब्यवसायिक प्यानलको तर्फबाट जारी गरिएका २९ वटा प्रतिवद्धताहरु पूरा गर्ने सिलसिलामा प्रत्येक उम्मेदवारले आफ्नो विजय पछि थप नयाँ काम गर्ने मतदातासमक्ष भनाई राख्दै आएका छन् ।
राजकुमार घिमिरे (राजु)
वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार घिमिरे बिर्तामोड क्षेत्रका चिर परिचित व्यवसायी हुन् । व्यवसायीका नीतिगत समस्याका विषयमा निरन्तर आवाज उठाउँदै उनीहरूको हकहित र संरक्षणमा घिमिरेको भूमिका अग्रणी रहँदै आएको छ ।
बिर्तामोड उद्योग वाणिज्य सङ्घको नेतृत्वमा रहेर उनले व्यवसायिक हितका पक्षमा जुन वकालत गरे, त्यसैको परिणाम स्वरूप यसपटक अर्जुनकुमार मैनाली नेतृत्वको स्वतन्त्र व्यावसायिक प्यानलको तर्फबाट वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने एउटा अवसर घिमिरेलाई प्राप्त भएको हो ।
आम व्यवसायी मतदाताको मन र मत जितेर बिर्तामोड उद्योग वाणिज्य सङ्घको व्यवस्थापकीय नेतृत्वमा आफूलाई स्थापित गर्ने चाहनासहित निर्वाचनमा होमिएका घिमिरे राज्यले व्यवसायी माथि लगाइरहेका अनाधिकृत करको विरुद्धमा लाग्नुपर्ने बेला आएको बताउँछन् ।
घिमिरेको पहिलो एजेन्डा भनेकै राज्यले लगाएका करको समायोजन हो । व्यावसायिक क्षेत्रले सरकारी निकायलाई चिठी वा ज्ञापन बुझाएर मात्रै करको विषय समाधान नहुने घिमिरेको धारणा छ ।
उनी सार्वजनिक बहसका माध्यमबाट करका विषयहरू निरूपण गर्दै सरकारका निकायहरूलाई पारदर्शी र जवाफदेही बनाउन प्रयत्न गर्नुपर्छ भन्ने पक्षमा छन् ।
सरकारी निकायले समयमा सुसुचित नगर्ने तर करका विषयमा व्यवसायी माथि ज्यादती गर्ने परम्परागत प्रवृत्तिविरुद्ध संघको नेतृत्वले आवाज उठाउनु पर्ने, अन्यायमा परेका व्यवसायीको संरक्षण गर्नुपर्ने, तिनका लागि कानुनी सहयोग र सहायता उपलब्ध गराउनु पर्ने लगायतका विषयमा घिमिरे प्रष्ट छन् ।
घिमिरेको अर्को एजेन्डा भनेको अनाधिकृतरुपमा चन्दा चिठ्ठा मागेर व्यवसायीलाई आतंकित बनाउने प्रवृत्ति विरुद्ध हो । स्वेच्छाले चन्दा दिनु स्वभाविक हुन्छ । तर, रकम तोकेर नदिए धाकधम्की दिने, व्यवसायमा अवरोध गर्ने लगायतका समस्याबाट बिर्तामोड क्षेत्र वरपरका व्यवसायी निरन्तर समस्यामा छन् । त्यसविरुद्ध बोल्ने आँट नभएसम्म व्यवसायी सधैँ पीडित हुनुपर्ने भएकाले त्यसका लागि संघलाई दरिलो बनाउन पनि आफ्नो खाँचो पर्ने घिमिरेको तर्क छ ।
घिमिरेको अर्को एजेन्डा भनेको दैवी प्रकोप घटनामा व्यवसायी पीडित भए राहत दैवी प्रकोप उत्थान राहत कोष खडा गरी त्यसमार्फत व्यवसायीलाई राहत उपलब्ध गराउने हो । तिनै तहका सरकारसँग दूरी बढ्नुमा वाणिज्य सङ्घको नेतृत्व जिम्मेवार हुने भएकाले यसमा सबैसँग समन्वय र सहजीकरण गर्न सक्ने व्यावसायिक क्षमता चाहिने घिमिरे बताउँछन् ।
बिर्तामोड उद्योग वाणिज्य सङ्घमा कुमार भट्टराईको नेतृत्वमा रहेको समितिमा उनले एक कार्यकाल सदस्यको भूमिका निर्वाह गरेका छन् । सदस्य पदमा सर्वाधिक मत पाएर जितेका घिमिरे त्यही बेलादेखि संघको नेतृत्वमा बिस्तारै स्थापित हुने मनस्थितिमा थिए ।
निर्वाह गरेको कार्यकुशलताका कारण प्रकाश सिवाकोटी नेतृत्वको कार्यसमितिमा उनलाई उपाध्यक्ष पदमा रहेर काम गर्ने अवसर जुरेको थियो । व्यावसायिक क्षेत्रमा आफ्नो भूमिकालाई अझै फराकिलो र प्रभावकारी बनाउँदै लगेका घिमिरे यसपटक वरिष्ठ उपाध्यक्षको नेतृत्व गर्ने सोचमा छन् ।
ओमप्रकाश श्रेष्ठ
बिर्तामोड उद्योग वाणिज्य संघको फागुन १४ गते हुने निर्वाचनमा उद्योग उपाध्यक्ष पदमा उम्मेदवारी दिएका ओमप्रकाश श्रेष्ठले नयाँ भिजनसहित आफूले उम्मेद्वारी दिएको बताएका छन् । थुप्रै सामाजिक संघ संस्थामा नेतृत्वदायी भूमिकामा रहेर काम गरिसकेका श्रेष्ठले आफ्ना अनुभवलाई संघमा प्रयोग गर्ने उद्देश्यले उम्मेद्वारी दिएको बताएका हुन् ।
संघको संस्थापक सदस्यसमेत रहेका श्रेष्ठ २८ वर्षदेखि ब्यवसाय क्षेत्रसहित विभिन्न सामाजिक संघसंस्थामा आवद्ध रहेर नेतृत्वदायी भूमिका निर्वाह गरिरहेका कुसल ब्यवसायी हुन् । उनी बिर्तामोडमा रहेको साइ अटोमोबाइल प्लाजाका सञ्चालक हुन् ।
सालिन र मिजासिलो स्वभावका श्रेष्ठ २०५२ सालमा गोमेन्द्र कलेजमा उच्च शिक्षा अध्ययन गर्ने क्रममा नै गणेश भण्डारमार्फत वाणिज्य क्षेत्रमा प्रवेश गरेका थिए ।आफैँ केही गर्नुपर्छ भन्ने हुटहुटी बोकेका श्रेष्ठले २०६२ सालमा काइनेटिक कम्पनीको मेचीका लागि डिलर लिएर स्कुटर तथा मोटरसाइकल बिक्री गर्न थालेका थिए । २०६६ सालदेखि महिन्द्रा कम्पनीको स्कुटर तथा मोटरसाइकल बिक्री शुरु गरेका श्रेष्ठले १५–१६ जना युवाहरुलाई रोजगारीसमेत दिएका छन् ।
संघको संस्थापक सदस्य भएर अनुभव हासिल गरिसकेका श्रेष्ठले यसपटक उद्योग उपाध्यक्षमा आफ्नो दरिलो उम्मेदवारी पेश गरेका हुन् । उनले व्यवसायीका साझा समस्या बुझेकाले त्यसको समाधानका लागि अग्रणी भूमिका निर्वाह गर्न तयार रहेको बताएका छन् ।
उद्योग बाणिज्य संघलाई राजनीति गर्ने थलोको रुपमा व्यवसायीहरु माझमा रहेको बुझाईलाई हटाएर साझा संस्थाको रुपमा विकास गर्न अग्रसर हुने, बैंक–वित्तीय संस्था र सहकारीबाट समस्यामा परेका व्यवसायीहरुका समस्या समाधानका लागि ठोस र दीर्घकालीन नीति अवलम्बन गर्ने, घरबहाल कर सम्बन्धी ऐन र हाटबजारका व्यापारीहरुलाई सुरक्षित बनाउने विषयमा बिर्तामोड नगरपालिकासँगको सहकार्यमा जोड दिने, व्यापारिक क्षेत्रलाई सुरक्षित बनाउन नगरका अन्य क्षेत्रमा पनि सिसी क्यामरा जडान गर्न पहल गर्ने बताए ।
गंगाप्रसाद मैनाली
उद्योग वाणिज्य संघलाई स्वतन्त्र व्यवसायिक छाता संस्थाको रुपमा पैरवी गर्न बौद्धिक नेतृत्वको खाँचो महशुस भइरहेको बेला उक्त आवश्यकताको वकालत गर्न तयार देखिएका छन् गंगाप्रसाद मैनाली । वाणिज्य उपाध्यक्ष पदका उम्मेदवार मैनाली संघसंस्थालाई सफलतापूर्वक अगाडि बढाउने मुढेबलभन्दा सुझबुझ आवश्यक भएको धारणा राख्छन् ।
मतदाताहरु माझ आफ्ना प्रतिवद्धता बाँढ्ने क्रममा बजारमा भेटिएका मैनाली आफुसँग वाणिज्य संघको भावी योजना कस्तो हुनुपर्ने भन्ने स्पष्ट कार्ययोजना भएको दाबी गर्छन । पचासको दशकमा स्नातक गरेका उनले एक दशक राजधानी र झापाका विद्यालयमा शिक्षण पेशामा आबद्ध रहे ।
मैनालीले झापाको शिवगञ्जस्थित नवकिरण विद्या मन्दिरमा करिब ४ वर्ष प्रिन्सिपल भएर नेतृत्वदायी भूमिका निर्वाह गरे । २०२८ सालमा जन्मिएका मैनाली पछिल्लो १४ वर्षदेखि बिर्तामोडमा हार्डवेयर व्यवसायमा आबद्ध छन् । हार्डवेयर व्यवसायी संघ झापाको सदस्यसमेत रहेका मैनाली रक्षा हार्डवेयरका सञ्चालक हुन् ।
बिहानी टोलका पूर्व अध्यक्षसमेत रहेका मैनाली नयाँ बसपार्कस्थित आदर्श सामुदायिक प्रहरी सेवा केन्द्रका सचिव हुन् । इमान्दार व्यवसायीको रुपमा परिचित मैनाली संघको नेतृत्व सिर्जनात्मक क्षमता भएको र वौद्धिक हुनुपर्नेमा जोड दिन्छन् ।
उनले उद्योग वाणिज्य संघलाई हालसम्म ल्याउन मेहेनत गर्ने अग्रजहरुलाई धन्यवाद दिँदै आगामी नेतृत्वले वाणिज्य क्षेत्रलाई विस्तार गर्दै सबैखाले व्यवसायीलाई छाता संस्थामा अटाएर लैजानु पर्ने धारणा राख्छन् ।
विगतका वर्षहरुमा राजनीतिक खिचातानीमा अल्झिएको संघ विशुद्ध व्यवसायिक हितमा केन्द्रित भएर काम गर्नुपर्ने मैनालीको भनाई छ । संघ र व्यवसायीहरु बीच कार्यगत एकताको खाँचो औँल्याउँदै त्यो पहलकदमी वाणिज्य संघले लिनुपर्ने उनी बताउँछन् ।
गोमा भट्टराई
झापाको बिर्तामोडमा रहेर सामाजिक संघ–संस्थाहरुमा सक्रियपूर्वक जिम्मेवारी निर्वाह गर्ने अगुवा महिला गोमा भट्टराईको यात्रा अब बिर्तामोड उद्योग वाणिज्य संघमा हुने निश्चित भएको छ ।
फागुन १४ गते हुने निर्वाचनमा उनी जनसम्पर्क उपाध्यक्षका उम्मेदवार बनेकी छन् । भट्टराईको लोकप्रियता र चर्चाले उनलाई वाणिज्य संघको यात्रामा सफल बनाउनेछ ।
बिर्तामोडमा रहेर पुस्तक व्यवसायमा स्थापित भट्टराई यस क्षेत्रकै अगुवा महिला नेतृ हुन् । नेतृत्व सीप भएकी उनी वाणिज्य संघ प्रवेशमा महिला भएर मात्र होइन, नेतृत्व गर्न योग्य पात्र भएकै कारण निर्वाचनमा अग्रसर भएकी हुन् ।
जनसम्पर्क उपाध्यक्षका उम्मेदवार भट्टराईलाई आम व्यवसायीहरुले विजयको शुभकामना दिइसकेका छन् । हक्की स्वभाव, प्रस्ट वक्ता एवम् नेतृत्वदायी क्षमता भएकी उनलाई व्यवसायीहरुले वाणिज्य संघको कार्यसमितिमा हेर्न चाहेका छन् ।
व्यवसायी जीवनमा सफल भट्टराईले यसअघि निर्वाह गरेका जिम्मेवारीका कारण उनको लोकप्रियता बलियो छ । ‘म झट्ट वाणिज्य संघको उम्मेदवार बन्न आएको होइन, वर्षौदेखि निरन्तर काममा छु । अनुभव र क्रियाशिलताका कारण वाणिज्य संघको उम्मेदवार बनेको हुँ । व्यवसायीका साना देखि ठूला समस्याहरुसँग जानकार उनी व्यवसाय जीवनमा महिलाका चुनौति बारे अझ पोख्त छिन् ।
महिलालाई आर्थिक रुपमा सक्षम बनाउन आफैं नेतृत्व गरेर दर्जनौ अभियानहरु सञ्चालन गर्ने भट्टराईले सामाजिक सेवामा आफ्नो उपस्थितिलाई बाक्लो बनाउँदै आएकी छन् । स्वतन्त्र व्यवसायिक प्यानलबाट उम्मेदवार बनेकी उनले २९ बुँदे प्रतिवद्धता पूरा गर्ने बताएकी छन् ।
खाना महोत्सव लगायतका विभिन्न स्थानीय खानपानको संरक्षण र प्रवर्धन गर्ने अभियानमा क्रियाशिल भट्टराईले वाणिज्य संघको नेतृत्वमा रहेर अझ धेरै काम गर्ने योजना रहेको बताइन् ।
व्यापारीहरुका समस्याहरुसँगै व्यवसाय क्षेत्रमा सहयोग गर्न नयाँ योजना निर्माण गर्ने, कामयावी मुद्धाहरु स्थापित गर्ने उनको योजना छ । महिला सहभागितालाई बढाएर जाने, वाणिज्य संघमा संविधान बमोजिम महिलाको सहभागिता हुनेपर्ने माग भट्टराईले अघि सारेकी छन् ।
वाणिज्य संघको नेतृत्मा आएर व्यापारका लागि महिलाहरुलाई सहजीकरण गर्ने बताइन् ।
बलबहादुर लिम्बू (बिशन)
उद्योग सचिव पदमा उम्मेदवारी दिएका बलबहादुर लिम्बू (बिशन)ले बिर्तामोडमा रात्रीकालिन व्यवसाय सञ्चालन गर्न पहल गर्ने बताएका छन् ।
सुरक्षित तवरले रातको समयमा ब्यापार गर्न सकिने बातावरण सिर्जना गर्न वाणिज्य संघले पहल गर्नुपर्ने र आफू विजयी भएपछि सो काम गरेर देखाउने उनको भनाई छ ।
१२ वर्षदेखि बिर्तामोडको बस्नेत मार्केटमा मोर्डन फेशनवेयर कपडा पसल सञ्चालन गर्दै आएका उनी निर्माण ब्यवसायीसमेत हुन । गजुरमुखी ट्रेड एण्ड सप्लायर्स उनको निर्माण कम्पनी हो ।
बिर्तामोड नगर खेलकूद विकास समितिको सचिव, पाथीभरा टोल समाजका अध्यक्ष, झापा गोल्डकपका सदस्य लगायतका अन्य विभिन्न सामाजिक क्षेत्रमा समेत उनी क्रिायशील छन् ।
बिर्तामोड१ शान्तिटोल निवासी बिशनले अबका दिनमा हरेक संघ–संस्थामा युवाको आवश्यकता रहेको बताउँदै आफ्नो उम्मेदवारी युवाको प्रतिनिधित्व हुने पनि बताएका छन् ।
आफ्नो उम्मेदवारीलाई प्रष्ट पार्दै विशनले अहिले बिर्तामोडको बजार साँझ ६–७ बजे नै बन्द हुने गरेकाले त्यसको समय बढाउन आवश्यक रहेको जिकिर गरेका छन् । साँझ अबेरसम्म पसल खोल्न पाए व्यवासायीहरुलाई केही राहत पुग्ने उनको भनाई छ ।
आफूले चुनाव जितेर जिम्मेवारी सम्हालेपछि अब्यवस्थित रुपमा रहेको बजार क्षेत्रलाई स्थानीय तहसहित सरोकारवालासँग समन्वय तथा सहकार्य गरी सुरक्षित रुपमा रात्रीकालिन ब्यवसाय गर्ने वातावरण बनाउने उनको प्रतिवद्धता छ ।
ब्यापारीहरुका थुप्रै गुनासा र समस्या आउने गरेको बताउँदै उनले ब्यापारीका गुनासो र समस्या समाधान गर्न छुट्टै ब्यवस्थापन समिति निर्माण गर्न संघमा पहल गर्ने उनको अर्को योजना छ ।
उनले ब्यापार तथा ब्यवसायबाट उत्पादित प्लाष्टिकजन्य फोहोर ब्यवस्थापनमा समेत समन्वयकारी भूमिका खेल्ने बताएका छन् ।
ब्यवसायीलाई करको बिषयमा जानकारी दिन अन्तरक्रिया तथा छलफल निरन्तर रुपमा गर्दै र त्यसकालागि आवाज उठाउनेसमेत बताएका छन् ।
युवराज निरौला
यही फागुन १४ गते हुने निर्वाचनमा स्वतन्त्र व्यवसायिक प्यानलबाट कोषाध्यक्ष पदमा उम्मेदवारी दिएका युवराज निरौलाले उद्योग वाणिज्य संघहरु व्यापारीको अभिभावकीय संस्था हुनुपर्ने आवश्यकता औंल्याएका छन् ।
१६ वर्षदेखि मोवाइल फोन र एसेसरिजको व्यापारमा जमेका उनी पछिल्लो समय वाणिज्य संघले व्यवसायीको बेवास्ता गर्न थालेपछि संघप्रति विश्वास घट्दै गइरहेको आरोप लगाएका छन् ।
वाणिज्य संघको नेतृत्वले दुख,अप्ठ्यारोमा परेका व्यवसायीलाई साथ दिने, संस्थामा आफ्नो अनिवार्य उपस्थिति मात्रै हुनुपर्ने तर, व्यवसायीहरु प्रति जिम्मेवार नहुने क्रम बढेपछि नयाँ अनुहारहरु वाणिज्य संघ मार्फत योगदान गर्न अग्रसर हुनु परेको पनि उनको भनाई छ ।
युवा व्यवसायी निरौला बिर्तामोडका सबैखाले परिस्थितिहरु बारे जानकार छन् । व्यापारीहरुले भोग्दै आएको दुख, अप्ठ्याराहरु मसिनो गरी बुझेका निरौलासँग वाणिज्य संघको नेतृत्वमा रहेर केहि काम गर्ने अठोट छ ।
निर्वाचनको पूर्वसन्ध्यामा घोषणा गर्ने भन्दा पनि समस्याहरुको पहिचान गर्दै समाधानमा लाग्ने योजना छ । यहाँका सानादेखि ठूलाखाले समस्याहरु, संभावनाहरु महसुस गरेका उनले समाधानको लागि बृहत योजना निर्माण गर्ने बताए ।
व्यवसायीहरुको समस्या मसिनो ढंगबाट बुझेका कारण काम गर्न सहज हुने उनको बुझाई छ । बिर्तामोडमा व्यापारीहरुलाई सुरक्षा चुनौति छ । शान्तिपूर्ण रुपमा व्यापार गरेर गन्तव्यसम्म पुग्न सक्ने बिर्तामोडको परिकल्पना निरौलाले गरेका छन् ।
सबैभन्दा ठूलो समस्या भनेको व्यवसायीबीचको द्वन्द्व हो । बिर्तामोडको उन्नयन र विकासका लागि सर्वप्रथम व्यवसायिक एकता मुख्य आधार हो । व्यवसायीहरु बीचको एकता बलियो बनाउने काम मेरो पहिलो प्राथमिकतामा छ । यहाँको व्यवसाय र बजारको विकास तथा प्रवर्धनको निमित्त पहिलो आधार भनेकै एकता हो ।
व्यवसायी बीचको एकताले मात्रै प्रगति हासिल गर्न सकिन्छ । बिर्तामोड बनाउनका वा बचाउनका लागि एकता अति आवश्यक छ । कोषाध्यक्ष पदका उम्मेदवार निरौलाका अनुसार बजारमा अहिले उधारो (बाँकी) का कारण धेरै व्यवसायीहरु पलायन हुने अवस्था छ । त्यसको सहजीकरण गर्न संघको तर्फबाट सानो संयन्त्र नै बनाउने योजना पनि छ । रातभर होइन, सुरुवाती चरणमा ९ बजेसम्म बजार खुल्ला गरेर व्यापार गर्न सकिन्छ ।
होटल व्यवसायहरुमा शान्ति सुव्यवस्थाको प्रवन्ध मिलाउनका लागि सरोकारवाला, सुरक्षा निकायसँग रचनात्मक योजना निर्माण गर्ने सोच छ । घरधनी र व्यवसायी बीचको सम्बन्ध सुधार गर्दै व्यवसाय मैत्री बनाउन समन्वकारी भूमिका निभाउने, बजारलाई सातै दिन खुल्ला गर्न व्यवसायीसँग परामर्श गरेर अघि बढ्ने योजना रहेको उनको भनाई छ ।
देशबाट ठुलो संख्यामा युवाहरुको पलायन भइरहेको छ । त्यसको दोष वाणिज्य संघलाई पनि जान्छ । युवा तथा व्यवसायीहरुलाई स्वदेश मै व्यापार व्यवसाय गर्ने वातावरण बनाउन वाणिज्य संघको भूमिका उत्तिकै प्रभावकारी हुनुपर्छ । मेरो उम्मेदवारी युवालाई स्वदेशम संभावना देखाउनलाई पनि हो । युवा जति विदेश लागेपछि यहाँ सबै क्षेत्रमा त्यसको असर पर्छ । त्यसैले युवालाई व्यवसायमा संभावना देखाउने अर्को योजना छ । सरकारी निकायबाट व्यवसायी माथि ज्यादती छ । कतिपय बुझाई नभएको अवस्थामा त, कतिपय समन्वयको अभावले समस्याहरु आइरहेका हुन्छन् ।
केदार खनाल
अर्जुनकुमार मैनाली नेतृत्वको स्वतन्त्र व्यवसायी प्यानलबाट खुल्ला सदस्य पदमा उम्मेदवारी दिएका केदार खनालले अहिलेसम्म बिर्तामोड उद्योग वाणिज्य संघले ब्यवसायीलाई समय अनुसार अपडेट गराउन नसकेको आरोप लगाएका छन् ।
खनालले व्यवसायीहरु समय अनुसार परिवर्तन हुन आवश्यक रहेको बताउँदै आफू निर्वाचनमा विजयी भएसँगै ब्यवसायीलाई अपडेट गराउन पहल गर्ने दावी गरेका छन् । उनले ग्राहकहरु समय अनुसार अपडेट भए पनि ब्यवसायीहरु अपडेट हुन नसकेको जिकिर गरेका हुन् ।
१२ वर्षदेखि जर्नी ग्राफिक एण्ड मिडिया नामक फोटोग्राफी ब्यवसाय सञ्चालन गर्दै आएका खनालले व्यवसायीलाई समय अनुसार अपडेट गराउने भिजनसहित उम्मेद्वारी दिएको बताएका छन् ।
‘ग्राहकहरु समय अनुसार अपडेट छन्’ उम्मेद्वार खनालले भने ‘व्यवसायी अहिले पनि पुरानै तरिकाले व्यापार व्यवसाय गर्दैछन् ।’ खनालले स्वतन्त्र व्यवसायिक प्यानलले जिते ब्यवसायीलाई अपडेट गराउन प्रशिक्षण, तालिम दिदै विषयगत वस्तुस्थितिका बारेमा जानकारी गराउने बताए ।
नेपाल उद्योग तथा व्यवसायी महासंघ बिर्तामोडका सचिवसमेत रहेका खनालले निर्वाचित भइसकेपछि कार्यसमितिको नेतृत्वले राम्रो काम गरे सपोर्ट र नराम्रो काम गरे विरोध गर्न पनि पछि नपर्ने पनि सुनाएएका छन् ।
स्वतन्त्र व्यवसायिक प्यानल ब्यवसायीको हकहितमा लड्ने साथै विज्ञ उम्मेद्वारहरु भएकाले प्यानलका सबै उम्मेद्वारलाई मतदान गरेर निर्वाचित गराउनसमेत खनालले अपिल गरेका छन् ।
सुष्मा उप्रेती
बिर्तामोड उद्योग वाणिज्य संघको फागुन १४ गते हुने निर्वाचनमा महिला सदस्य पदमा उम्मेदवार बनेकी सुष्मा उप्रेती सुवेदीले ब्यापारीका हकहितमा लागिपर्ने बताएकी छन् ।
स्वतन्त्र व्यवसायिक प्यानलबाट महिला सदस्यको उम्मेदवार बनेकी सुष्माले हाल व्यावसायीहरुले भोगेको समस्या समाधान गर्न आवश्यक रहेको बताएकी हुन् ।
विगत ८ वर्षदेखि भद्रकाली इन्पेक्स कस्मेटिक पसल सञ्चालन गर्दै आएकी सुष्माले बैंकको चर्को ब्याजदर, कर र आर्थिक मन्दीका कारण व्यवसाय धरासायी बनेकोले वाणिज्य संघको नेतृत्व यसको समाधानमा लाग्नुपर्ने आवश्यकता औंल्याएकी हुन् ।
सामाजिक कार्यमा समेत सक्रिय सुष्माले समस्यामा परेका ब्यक्तिहरु सहयोगका लागि ब्लड डोनेशनको अभियानमा समेत सक्रिय भएको बताइन् ।
धरासायी बन्दै गएका व्यवसायीका समस्या समाधान गर्न स्वतन्त्र व्यवसायी प्यानल निर्वाचित भए मात्र सम्भव भएकाले उक्त प्यानलका सवै उम्मेदवारलाई मतदान गर्न उनले सबै ब्यवसायीलाई आग्रहसमेत गरेकी छन् ।
सत्रुघनप्रसाद गुप्ता
बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचनमा खुल्ला सदस्य पदका उम्मेद्वार सत्रुघनप्रसाद गुप्ता (रौनियार)ले स्थानीय सरकारले बिर्तामोड क्षेत्रमा जग्गा उपलब्ध गराएमा सार्वजनिक शौचालय निर्माणका लागि आफूले पहल गर्ने बताएका छन् ।
वर्षौंदेखि बिर्तामोडमा सार्वजनिक शौचालय अभावका कारण ब्यापारी, व्यवसायी, ग्राहक, पैदल यात्रीहरु सहित आन्तरिक तथा बाह्य पर्यटकहरु समस्या पर्दै आएका छन् । उनले आफू आवद्ध भएको स्वतन्त्र व्यवसायिक प्यानलको प्रतिवद्धता पत्रमा नै सो कुरा उल्लेख गराएको र निर्वाचित भएपछि सार्वजनिक शौचालय निर्माणका लागि पहल गर्ने बताएका हुन् ।
उम्मेदवार रौनियारले ब्यवसायीहरुले संघमा ३ वर्षको एकैपटक नविकरण गराउनु पर्दा २ हजार २०० रुपैयाँसम्म लाग्ने गरेको बताउँदै त्यसलाई परिमार्जित गर्ने पनि दावी गरेका छन् । हरेक वर्ष ब्यवसायको सदस्यता नविकरण गर्दा ३५० देखि ४०० रुपैयाँसम्म मात्र शुल्क लिने वातावरण बनाउन पहल गर्ने उनको भनाई छ । उनका अनुसार दस्तुर घटाएर धेरै ब्यवसायीलाई संघमा आवद्ध गराउन यसले मद्धत पुग्ने छ ।
हाल बिर्तामोड बजार क्षेत्रमा घर बहाल कर व्यवसायीले नै तिर्दै आएको बताउँदै उनले ब्यवसायीले घर भाडा तिरेपछि घरबहाल कर स्वयम घरधनीले तिर्नुपर्ने भएपनि अहिलेसम्म अधिकांशले नतिरेको बताएका छन् । तसर्थ यसका लागि संघमा पुगे पहल गर्ने गुप्ताको भनाई छ ।
गुप्ता झापा चेम्वर्स अफ कर्मशका संस्थापक सदस्य, हाल कोषाध्यक्ष, सुन्दर सामुदायिक सेवा केन्द्रका कोषाध्यक्ष, रौनियार सेवा समितिका संस्थापक कोषाध्यक्ष, श्री छठ समाज सेवा समितिका पूर्व सचिव हाल सल्लाहकार, ऊँ शान्ति टोल विकास संस्थाका सहसचिव, जनजाति कल्याण आश्रमका सचिव लगायतका संघ–संस्थामा आवद्ध छन् । गुप्ता २३ बर्षदेखि बिर्तामोडस्थित प्रसाई मार्केटमा न्यू गुप्ता क्लोथ सेन्टर सञ्चालन गरिरहेका छन् ।
कृष्णप्रसाद बजगाई
अर्जुनकुमार मैनाली नेतृत्वको स्वतन्त्र ब्यवसायिक प्यानलबाट खुल्ला सदस्यमा उम्मेद्वारी दिएका कृष्णप्रसाद बजगाईले एकलौटी रुपमा संघमा नेतृत्व रहँदा नयाँ भिजन र ब्यवसायीको हकहित हुन नसकेको भन्दै नेतृत्व परिवर्तन गर्न आवश्यक महसुस गरेर आफू पनि उम्मेदवार बनेको बताएका छन् ।
बिगत ७ वर्षदेखि शान्ति बुद्ध मेडिकल सेन्टर प्रालि, शुभलक्ष्मी डायग्नोष्टिक सेन्टर प्रालि र केयर फार्मेसी सञ्चालन गर्दै आएका बजगाई स्वास्थ्य क्षेत्रसहित समग्र व्यवसायीको आवाज उठाउन उम्मेदवारी दिएको बताउँछन् ।
स्वतन्त्र व्यवसायी प्यानलका सबै उम्मेदवारलाई जिताए मात्र संघमा ब्यवसायीको हकहित हुने उनको भनाई छ । बजगाई बिर्तामोड लायन्स क्लबका सचिव, निरन्तर साकोसका सल्लाहकार समिति संयोजक, नेपाल जनस्वास्थ्य संघ कोशी प्रदेश कार्यसमिति सदस्य, निर्माणधिन नागरिक सहकारी अस्पताल बिर्तामोडका सञ्चालक समिति सदस्य, जनस्वास्थ्य संघका आजीवन सदस्य, नेपाल फर्मास्युटिकल एशोसिएशनका आजीवन सदस्य, नेपाल औषधि ब्यवसायी संघका ब्यवसायिक सदस्यसहित थुप्रै सामाजिक संघ/संस्थामा कुसल नेतृत्वदायी भूमिकामा रहेर काम गरिरहेका छन् ।
बजगाईले संघमा आफुले जिते ब्यवसायीको गरिखाने बाटो स्थापित गराउँदै प्रविधिमैत्री सहित युवा ब्यवसायीलाई अगाडि बढाउन समन्वय र सहजीकरणको भूमिका खेल्ने बताएका छन् ।
अमिर खाँ पैठान
स्वतन्त्र व्यवसायी प्यानलबाट खुल्ला सदस्य पदमा उम्मेद्वार बनेका अमिर खाँ पैठानले पछिल्लो समय देखिएको आर्थिक संकटका कारण व्यवसायी मारमा परेको बताएका छन् ।
उनले आर्थिक मन्दीका कारण व्यापारमा गिरावट आए पनि व्यवसायीले महंगो भाडा तिर्नु परेको बताउँदै बिर्तामोड क्षेत्रमा सटरभाडा अत्याधिक बृद्धि भएको सुनाएका छन् ।
आफुखुसी घरधनीले सटर भाडा बृद्धि गर्दा व्यवसायीलाई यस्तो बिषम परिस्थितिमा झनै समस्या परेको बताउंदै उनले यसलाई नियमन गर्नुपर्ने आवश्यकता आंल्याएका छन् ।
उनले संघमा निर्वाचित भएको खण्डमा आफ्नो पहिलो प्राथमिकतामा सटर भाडा समायोजन गर्न स्थानीय सरकारसहित सम्बन्धित सरोकारवालासँग समन्वय गरी पहल गर्ने योजना रहेको बताउंछन् ।
करिब २० वर्षदेखि बिर्तामोडमा मोटरसाइकल ग्यारेज सञ्चालन गर्दै आएका खान सबै अटोमेकानिक व्यवसायीको हक र हितका लागि आफु संघमा उम्मेदवार बनेको बताउँछन् ।
उनले स्थानीय सरकारले अटोमेकानिकलाई बुट्टाबारी क्षेत्रमा स्थानतरण गर्ने निर्णय गरेको भन्दै त्यसो गर्न नहुने तर्क राख्दै यथास्थान मै व्यवसाय सञ्चालन गर्न दिनुपर्ने आवाज उठाइरहेका छन् ।
उनी बिर्तामोडको भद्रपुररोडमा आशिफ अमिर मोटरसाइकल रिकन्डिशन एण्ड सर्भिसिङ हाउस सञ्चालन गरिरहेका छन् । हाल उनले ६ जनालाई रोजगारी प्रदान गरेका छन् ।
चन्द्रादेवी भट्टराई
व्यवसायमा लामो समय संलग्न रहेर आफूमात्र होइन, अरुलाई पनि रोजगारी दिनु चानचुने कुरा होइन । चन्द्रादेवी भट्टराई त्यस्तै एउटी उद्यमी महिला हुन्, जो आफू मात्रै आत्मनिर्भर छैनन्, अरुलाई पनि आत्मनिर्भरताको बाटोमा हिँडाउन सफल भएकी छन् ।
बिर्तामोड उद्योग वाणिज्य सङ्घको फागुन १४ गते हुने निर्वाचनमा अर्जुनकुमार मैनाली नेतृत्वको स्वतन्त्र व्यावसायिक प्यानलबाट खुला सदस्यमा उम्मेदवारी दिएकी भट्टराईले झापाको बिर्तामोडस्थित पश्चिम बस स्टेन्डमा दीपश्री खाजा घर सञ्चालन गर्दै आएकी छन् ।
साना व्यवसायीमाथि हुने गरेको थिचोमिचो विरुद्ध वाणिज्य संघले आवाज उठाउन नसकेको भट्टराईलाई महसुस भएको छ । व्यवसायीका नीतिगत समस्यामा वाणिज्य सङ्घको नेतृत्व बोल्न नसकेको चौतर्फी गुनासोका बीच आफू चुनावी मैदानमा होमिएको र भोलि निर्वाचित भएर गएपछि सङ्घको नेतृत्वलाई आफूले अगाडि सारेका व्यवसायिक मुद्दाहरूमा कन्भिन्स गर्ने क्षमता रहेको उनी बताउँछिन् ।
लामो समयदेखि होटल व्यवसायको क्षेत्रमा क्रियाशील उनी उद्योग व्यापार व्यवसायमा महिलाहरूको सहभागिता बढाउँदै लैजानुपर्ने मान्यता राख्छिन् । सानोतिनो व्यापार व्यवसाय गरेर पारिवारिक दायित्व पूरा गर्दै आएका महिलाहरूलाई थप आत्मनिर्भर हुने गरी उद्योग वाणिज्य संघले अवसरहरू सिर्जना गर्नुपर्ने भट्टराईको धारणा छ ।
महिलाहरूमा सीप तथा क्षमताको विकास गरी उनीहरूलाई उद्यम व्यवसायमा स्थापित गर्दै लैजाने दृढ अठोट र इच्छाशक्तिका कारण आफूले स्वतन्त्र व्यावसायिक प्यानलका तर्फबाट खुला सदस्यमा उम्मेदवारी दिएको भट्टराई बताउँछिन् ।
व्यापार व्यवसायमा लामो समय जमेकी भट्टराई दिदी बहिनीहरुलाई सीपमूलक तालिममार्फत उद्यमी बनाउने र आत्मनिर्भर बनाउन सकिनेमा विश्वस्त छिन् । नेपाल उद्यमशील महिला संघको सचिव रहेकी भट्टराईले बिर्तामोडका थुप्रै सामाजिक संघसंस्थाको नेतृत्व गरेकी छन् ।
आमा समूहमा रहेर महिला दिदी बहिनीहरूलाई संगठित गर्ने, उनीहरूका समस्यामा बोल्ने, व्यावसायिक हुन प्रोत्साहन र प्रेरित गर्ने लगायतका भूमिकामा भट्टराईको निरन्तर योगदान रहँदै आएको छ ।
लायन्स क्लब अफ बिर्तामोड लेडीको थर्ड भाइस प्रेसिडेन्ट भट्टराई ऊर्जाशील रामधुनी आमा समूहकी सदस्य छिन् । उनी सिद्धिविनायक भजन कीर्तन मण्डलको पूर्व सचिव पनि हुन् ।
भट्टराईले बिर्तामोडमा व्यापार व्यवसाय गरेको २० वर्ष बितिसकेको छ । उनले अहिले पनि सात जनालाई रोजगारी दिँदै आएकी छन् ।
राकेशकुमार सिंह
परिवर्तित समय, आर्थिक मन्दीबाट थलिएको व्यवसायिक क्षेत्रको उचित सम्बोधनका साथ काम गर्ने उद्देश्यसहित बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचनमा राकेशकुमार सिंहले खुल्ला सदस्य पदमा उम्मेद्वारी दिएका हुन् ।
संघलाई साझा छाता संस्थाको रुपमा अगाडि बढाउनु पर्ने अधिकांश व्यवसायीहरुको भनाईलाई आत्मसाथ गर्दै आफूले उम्मेद्वारी दिएको उनको भनाई छ । संघलाई राजनीतिभन्दा पर राखेर विशुद्ध व्यवसायिक क्षेत्रको हितमा काम गरिनु पर्ने उनको भनाई छ ।
उनले उत्कृष्ट र सबल नेतृत्व खोजी भइरहेको संघको निर्वाचनमा सदस्य पदमा आफ्नो बलियो दाबेदारी प्रस्तुत गरेका हुन् । वाणिज्य संघ बिर्तामोडका संस्थापक सदस्य सिंह विगत २५ वर्षदेखि व्यवसायिक क्षेत्रमा आबद्ध छन् ।
नेसनल रेफ्रिजेरेटर एण्ड इलेक्ट्रोनिक्सका सञ्चालक राकेश सिंह बिर्तामोडको सामाजिक, राजनीतिक र व्यवसायिक क्षेत्रलाई गहिरो अध्ययन गरेका युवा व्यवसायी हुन् ।
नेपाल रेफ्रिजेरेटर एण्ड इलेक्ट्रोमेकानिकल संघ (नेरेमा)को पूर्वाञ्चल इकाइमा ९ वर्ष अध्यक्षको कार्यकाल सफलतापूर्वक सम्पन्न गरिसकेका सिंह हाल केन्द्रीय सञ्चालक सदस्य छन् । सहयोगी, मिलनसार र हँसिला स्वभावका उनी व्यवसायीहरुमाझ लोकप्रिय छन् । व्यवसायिक हितका लागि सदैव लागिपर्ने सिंह संघले ठोस कार्यक्रम बनाएर व्यवसायीक हितका लागि काम गर्नु पर्ने बताउँछन् ।