२०८१ पौष ८, सोमवार , १०:५७:३५ बजे

Sajhamanch
'

रुसी सेनामा नेपाली : मृत्युको अपुष्ट खबरकै भरमा काजक्रिया

बिहिवार, फागुन १०, २०८०

काठमाडौं । दशैंको तीन दिन अघि कात्तिक ३ गतेमात्र रुसी सेनामा भर्ना हुन भनेर रुस गए लम्जुङका दूधपोखरी गाउँपालिका–१ का सन्तोष गुरुङ । एजेन्टको विश्वासमा मस्को पुगेर उनी सिधै रुसी सेनामा भर्ना भए ।

महिना दिनको तालिम पश्चात उनी युक्रेनको युद्धग्रस्त क्षेत्रमा पठाइए । रुस गएको दुई महिनासम्म उनी परिवारकै सम्पर्कमा थिए । भाइ रमेशसँग उनको ह्टवासएपमा निरन्तर कुरा भइरहन्थ्यो । ‘दाइले एजेन्टले झुक्काएर युद्धमा फसाएको बताइरहन्थे । माघ १ पछि त दाइसँग सम्पर्क टुट्यो,’ भाइ रमेश गुरुङले भने, ‘दाइलाई युद्धको रेड जोनमा पठाएको कुरा सँगै भएका साथीहरुबाटै थाहा पायौं ।’

परिवारसँग सम्पर्कविहीन भएको तीन दिन पछि अर्थात माघ ४ गते उनी युद्धमा मारिएको अपुष्ट खबर आयो । ‘दाइ युद्धमा वितेको भनेर खबरहरु आउन थाल्यो’ भाइ रमेशले भने, ‘सँगै भएका साथीहरुले दाइ वितेको खबर पठाएका थिए ।’

चार दिन अघिमात्र परिवारका सदस्यहरुसँग कुराकानी गरिरहेका सन्तोषको एक्कासी मृत्यु भएको भनेर आएको खबर सुन्दा परिवारलाई पत्याउनै मुश्किल भयो । ‘मृत्यु भयो भन्ने ह्वाट्सएपमा खबरमात्र आयो,’ उनले भने, ‘मृत्यु भएकै हो भने केही प्रमाण त होला, लाशको फोटो भए पनि पठाउन भन्यौं तर केही आएन ।’

रुसी सेनामा पुगेका अन्यबाट पनि सन्तोषको मृत्युको खबर तारन्तार आइरह्यो । तर परिवारलाई मृत्यु भएको पत्याउने आधार केही थिएन । ‘दाइको मृत्यु भइसक्यो भन्दै आएको खबरले हामीलाई अत्यायो’ उनले भने, ‘दाइको खबर बुझिदिन भनेर अनेक ठाउँ गएँ, सरकारी निकाय पनि धाएँ, तर केही पत्तो लागेन ।’

यता सन्तोष पनि सम्पर्कमा आएनन् । अन्ततः परिवारका सदस्यले रुसबाट आएको अपुष्ट खबरकै भरमा परम्परा अनुसार माघ ७ गते सन्तोषको अन्तिम संस्कार गर्यो ।

लम्जुङका दूधपोखरी गाउँपालिका–१ का सन्तोष गुरुङ (दायाँ) र गुरुङ परम्पराअनुसार गरिएको उनको अन्तिम संस्कार।

तर अहिले पनि परिवारलाई भने अपुष्ट खबरकै भरमा मृत्यु भएको कुरा स्विकार गर्न गाह्रो भइरहेको थियो । ‘खबर नै अधुरो आएकाले हाम्रो मनले आज पनि यो कुरा मानिरहेको छैन,’ रमेश भन्छन् ।

मकाउ जान्छु भनेर घरबाट हिँडेका छोरा साजन गुरुङलाई रुसी सेनाको पोशाकमा देखेपछि लमजुङको दूधपोखरी गाउँपालिका– १ का श्रीमान गुरुङ आश्चर्यमा परे । कमाउन भनेर हिँडेको छोरा युद्ध लड्न गएको थाहा पाएपछि उनी छाँगाबाट खसेजस्तै भए ।

छोराले गाउँमै केही गरोस् भन्ने चाहन्थे उनी । तर साजन भने एजेन्टले देखाएको लोभमा परेर परिवारलाई नै नभनी गत असोज १२ गते रुसी सेनामा भर्ना हुन पुगेका थिए । पछि थाहा भयो, एजेन्टले साजनलाई युद्ध लड्नु पर्दैन ग्रिन जोन अर्थात सुरक्षित क्षेत्रमा बस्न पाइन्छ भनेर झुक्काएर पठाएको रहेछ ।

जे नहुनु भइगयो भनेर उनले बाबु श्रीमानले छोरा साजनलाई पटक–पटक फर्कन भने । ‘एक पटक त ऊ भागेर हिँड्यो पनि तर सेनाले फेरि समातेर लगेछ,’ बाबु श्रीमानले सुनाए ।

गत पुस १२ गतेसम्म परिवारको सम्पर्कमै रहेका साजन त्यसपछि सम्पर्कमा आएनन् । ‘रेड जोनमा जाँदैछु फोन लाग्दैन भन्दै थियो,’ बाबु श्रीमानले भने, ‘उता गएदेखि फेरि सम्पर्कमै आएन ।

त्यसको हप्ता दिन नबित्दै छोराको मृत्युको खबर फेसबुकभरी फैलियो । साजनसँगै रुसमा रहेका एक जना साथीले उनका कान्छा छोरालाई साजनको मृत्युको खबर पठाएका रहेछन् । ‘छोरा रुसमा ढलेको खबरमात्र आयो,’ उनले भने, ‘त्यसबाहेक केही आएन ।’

छोराको मृत्युको खबर पुष्टी गर्न उनले पनि अनेक प्रयास गरे । ‘छोराको शव भए पनि देख्न पाए ढुक्क हुन्थ्यौं,’ उनले भने, ‘धेरै ठाउँ धाउँदा पनि शव पाउनै नसिकने भयो ।’ त्यसपछि उनले पनि गुरुङ परम्परा अनुसार पुस २९ गते छोराको किरिया गरे ।

काजकिरिया गरे पनि छोराको मृत्युको खबर पत्याउन भने मुश्किल परिहेको छ उनलाई । न त सरकारले नै छोराको मृत्यु भयो भनेको छ’ उनले भने, ‘अझै पनि जिउँदै छ की भन्ने लागिरहन्छ ।’

कुश बनाएर दाहासंस्कार

दार्चुलाको महाकाली नगरपालिकाका १ का कुन्दन सिंह नागल पनि रुसी सेनामा भर्ना हुन भनेर भदौको अन्तिमतिर रुस पुगे । त्यहाँ पुगेर रुस सेनामा भर्नामा भएलगतै २० दिनपछि उनलाई युद्धको रेड जोनमा पठाइयो ।

परिवारका सदस्यहरुका अनुसार एजेन्टको भर परेर रुस गएका उनलाई त्यहाँ पुगेपछिमात्र युद्ध लड्नुपर्छ भन्ने कुरा थाहा भएको थियो । युद्धग्रस्त क्षेत्रमा जानु अघि घरमा फोन गरेर यो कुरा सुनाएका थिए उनले । यो गत कात्तिक २९ गते तिरको कुरा हो ।

त्यसपछि उनको हट्वासएपमा न फोन आयो न कुनै खबर । परिवारका सदस्य भने उनकै फोनको पखाईमा बसिरहे । कुन्दन सम्पर्कविहीन भएको करिब २ महिना पछि परराष्ट्र मन्त्रालयले रुसी सेनामा मृत्यु भएको भनेर पत्र पठायो ।

‘सम्पर्क टुटेपछि उसको पत्तो लागेन,’ कुन्दनका दाइ रमेश नागल भन्छन्, ‘सरकारले पनि उसको मृत्युबारे खबरमात्र पठायो, शव देख्न पाइएन ।’ उनको परिवार भने शवको पखाईमा थियो । ‘धेरै गुहार गर्दा पनि शव आउने टुंगो भएन,’ रमेश भन्छन्, ‘शव आउने कुनै सम्भावना नदेखेपछि कुशको शव बनाएर दाहसंस्कार गर्यौंं ।’

रुसी सेनामा भर्ना भएर रुस–युक्रेन युद्धमा ज्यान गुमाउने नेपाली कति छन्, यकिन तथ्यांक छैन । हालसम्म १० जनाको मृत्यु भएको सरकारले पुष्टी गरेको छ । तर यो तथ्यांक भन्दा थुप्रै संख्यामा नेपालीहरु रुसी सेनामा गएर ज्यान गुमाएको अनुमान छ ।

रुसी सेनामा गएर वेपत्ता, घाइते र मृत्यु भएका परिवारहरुलाई जोड्ने काम गरिरहेको छ, ‘पीडित परिवार तथा नागरिकको जीवन रक्षाका लागि सचेतना अभियान’ले । यो अभियानको अभियन्ता कृति भण्डारी हालसम्म रुसी सेनामा भर्ना भएकाका पाँच सय परिवार आफूहरुको सम्पर्कमा रहेको बताउँछिन् ।

रुसी सेनामा गएका १६ जना नेपालीको आधिकारिक रुपमा मृत्यु भएको पुष्टी भइसकेको रेकर्ड आफूहरुसँग रहेको उनले बताइन् । तर कतिपयले मृत्युको पुष्ट्याइँ विना र कसैले मृत्यु भयो भनिदिएकै भरमा अन्तिम संस्कार गरेका छन् ।

‘केहीको आधिकारिक रुपमा मृत्यु भएको पुष्टी भए पनि धेरै परिवार चाहिँ अपुष्ट खबरकै भरमा बस्नु भएको छ,’ उनले भनिन्, ‘तीमध्ये कतिले अन्तिम संस्कार गरिसक्नु भएको छ, कतिपय आधिकारिक खबरकै पर्खाइमा हुनुहुन्छ ।’