२०८२ जेठ ५, आइतवार , ०४:२६:५३ बजे

Sajhamanch
'

प्रधानमन्त्रीलाई ४० बुँदे मागपत्र बुझाउँदै राप्रपाले सुरु गर्‍यो आन्दोलन

बुधवार, फागुन ९, २०८०

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारलाई ४० बुँदे मागपत्र बुझाउँदै आन्दोलनको सुरुआत गरेको छ । बुधबार सिंहदरबारमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मागपत्र बुझाएका हुन् ।

राजसंस्था र हिन्दुराष्ट्रको पुनः स्थापना, प्रदेश संरचनाको खारेजी, बलियो केन्द्र र अधिकारप्राप्त स्थानीय तह रहेको दुई तहको सरकार, भ्रष्टाचार नियन्त्रण, सुशासन, सेवा प्रवाह एवं जनजीविकासँग प्रत्यक्ष सम्बन्धित ४० बुँदे माग प्रधानमन्त्रीलाई बुझाइएको अध्यक्ष लिङदेनले जानकारी दिए ।

देशले नयाँ बाटो लिन सबैलाई समेटेर अघि बढ्न प्रधानमन्त्रीलाई सुझाव दिइएको उनले जानकारी दिए । आफूहरूको मागपत्रलाई प्रधानमन्त्रीले सकारात्मक रूपमा लिएको लिङ्देनले जानकारी दिए । उनले आफूहरूले भुटानी शरणार्थी प्रकरण, ललितानिवास प्रकरण र सुनकाण्डमा गरेको छानबिनलाई पूर्णता दिन पनि माग गरेको बताए ।

राप्रपाको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डले सरकारले गरेका राम्रा कामका लागि धन्यवाद दिन र अझ राम्रो गर्न प्रोत्साहित गर्न आग्रह गरे । ज्ञापनपत्र अघि भृकुटीमण्डपबाट भद्रकाली, सुन्धारा, वीर अस्पताल, रत्नपार्क क्षेत्रमा राप्रपाले र्याली निकालेको थियो ।