विराटनगर । चौथो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलनमा जीवन विकास लघुवित्त वित्तीय संस्थाले संस्थागत उद्यमशीलता विकास तर्फ उत्कृष्ट घोषित हुँदै एक लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ ।
फागुन ५ र ६ गते भएको लघुवित्त सम्मेलनमा मोरङको कटहरीमा केन्द्रीय कार्यालय रहेको जीवन विकासले संस्थागत उद्यमशीलता विकास उत्कृष्ट घोषित हुँदै एक लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको हो ।
सम्मेलनमा जीवन विकास लघुवित्त संस्था, लघुवित्तका कर्मचारी र सदस्यले मात्रै विभिन्न १० वटा विधामा उत्कृष्ट हुँदै पुरस्कार पाएका छन् ।
संस्थागत उद्यमशीलता विकासतर्फ उत्कृष्ट घोषित भएको जीवन विकास लघुवित्त अति विपन्नको उत्थान गर्ने उत्कृष्ट संस्था पनि बन्यो । जीवन विकासले थ्री जिरो (शून्य गरिबी, शून्य बेरोजगारी र शून्य खुद कार्वन उत्सर्जन) क्लब प्रवर्धनतर्फ पनि उत्कृष्ट पुरस्कार प्राप्त गर्यो ।
जीवन विकास लघुवित्तका सदस्य जहदा गाउँपालिका वडा नं. ४ मोरङकी किरणदेवी कोइरी उत्कृष्ट र उदाहरणीय कृषि कार्य गरेवापत पुरस्कृत भइन् । उक्त पुरस्कार कोइरीसहित अन्य नौं संस्थाका एक–एकजना सफल सदस्यले पनि प्राप्त गरे ।
उत्कृष्ट उद्यमी पुरस्कार जीवन विकासका अर्का सदस्य नसिमा खातुनले प्राप्त गरिन् । विराटनगरकी खातुनले श्रीमान र छोरालाई उद्यमी बनाएकी छन् ।
अति विपन्नको उत्थान गर्ने उत्कृष्ट सहयोगी कर्मचारी पुरस्कार जीवन विकास लघुवित्त नदीताल सर्लाही शाखामा कार्यरत वरिष्ठ सहायक सन्तोषकुमार मण्डलले प्राप्त गरे । सो पुरस्कार चमेली बचत तथा ऋण सहकारी संस्थाका फिल्ड प्रबन्धक अर्जुन पासवानले पनि पाएका छन् ।
उद्यमशीलता विकासमा उत्कृष्ट र उदाहरणीय कार्य गरेवापत जीवन विकास लघुवित्त अमाहीवेल्हामा कार्यरत वरिष्ठ सहायक अन्तोषकुमार साहले पनि पुरस्कार प्राप्त गरे । सो विधामा उनीसहित पाँच जनाले पुरस्कार पाए ।
जीवन विकास लघुवित्त वित्तीय संस्थाका सदस्य गुलशन खातुनले उत्कृष्ट केन्द्र प्रमुखको पुरस्कार प्राप्त गरिन् । सो विधामा अन्य १० वटा संस्थाबाट एक–एक जनाले उत्कृष्ट केन्द्र प्रमुख पुरस्कार प्राप्त गरे ।
जीवन विकास लघुवित्तले थ्री जिरो (शून्य गरिबी, शून्य बेरोजगारी र शून्य खुद कार्वन उत्सर्जन) क्लब प्रवर्द्धन तर्फ उत्कृष्ट र उदाहरणीय कार्य गरेवापतको पुरस्कार प्राप्त गरेको छ । सो पुरस्कार जीवन विकाससँगै चमेली बचत तथा ऋण सहकारी र किसान बहुद्देश्यीय सहकारी संस्थाले पनि प्राप्त गरे ।
थ्री जिरो क्लब प्रवर्द्धनका लागि उत्कृष्ट कार्य गरेवापत जीवन विकास लघुवित्तका सामाजिक परिचालक पवनकुमार मलाहले पनि उत्कृष्ट कर्मचारी पुरस्कार प्राप्त गरेका छन् ।
थ्री जिरो उत्कृष्ट क्लबको रुपमा जीवन विकास लघुवित्तले झापाको बुद्धशान्ति गाउँपालिका– ६ मा गठन गरेको थ्री जिरो क्लब फर वातावरण पुरस्कृत गरेको छ । जीवन विकाससँगै चमेली बचत तथा ऋण र किसान बहुद्देश्यीय संस्थाले गठन गरेको एक–एक वटा क्लब सो विधामा पुरस्कृत भए ।
दुई दिनसम्म चलेको सम्मेलनमा ८०० महिला उद्यमी, लघुवित्त, सहकारीका कर्मचारी तथा सदस्यको सहभागिता थियो। सम्मेलन हरेक दुई–दुई वर्षमा हुँदै आएको छ।
संघीय सरकारका अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले उद्घाटन गरेको सम्मेलनले ‘स्वस्थ लघुवित्त, समृद्ध सदस्य’ नारालाई व्यवहारमा कार्यान्वयन गर्ने संकल्पसहित १२ बुँदे घोषणा पत्र पनि जारी गरेको छ ।
तेस्रो सम्मेलनले अगाडि सारेको ‘घरघरमा उद्यम फैलाउँ, गरिबीलाई शून्य बनाउँ’ अभियानलाई मूर्त रूप दिने प्रतिवद्धतासहित जारी भएको घोषणा पत्रमा लघुवित्तमा देखिएका विकृति विसंगतिलाई अन्त्य गर्ने उद्घोष गरिएको छ ।
सो घोषणा पत्रमा सदस्य तथा संस्थाले समेटेका वर्गलाई सुसूचित गर्ने अभियान चलाउने, सदस्य तथा कर्मचारीको आचरण सुधार गर्ने, विपन्न महिलालाई कर्जा तथा बचतमा सहजीकरण गर्ने, लघुवित्तमा जोडिएका सदस्यका सन्तानलाई युवा उद्यमी बनाउन सहयोग गर्ने उद्घोष छ ,
यस्तै वातावरण मैत्री र उद्यमशील समाज बनाउनको लागि युवा परिचालन गर्ने, वातावरण अनुकूलता प्रवर्द्धन गर्न वातावरण मैत्री गाउँ निर्माण, प्रविधिमैत्री संस्था निर्माण र निष्क्रिय सदस्यलाई सक्रिय बनाउने अभियान चलाउने उल्लेख छ ।