२०८१ मंसिर १६, आइतवार , ०२:२८:५८ बजे

Sajhamanch
'

पहिलो रिक्सा चालक फूलमायालाई वीरता लेडी जेसीजको ‘माया’

शनिवार, फागुन ५, २०८०

बिर्तामोड । वीरता लेडी जेसीजले नेपालको पहिलो महिला रिक्सा चालक फूलमाया धिमाललाई सहयोग हस्तान्तरण गरेको छ ।

बिर्तामोडको महानन्द चोकमा शनिबार आयोजित एक कार्यक्रममा धिमाललाई खाद्यान्न, लत्ता कपडा, घरायसी प्रयोजनका सफाई सामग्री र नगद सहयोग गरिएको हो ।

जीवन गुजारा चलाउन सङ्घर्ष गर्दै बिर्तामोडको सडकमा रिक्सा कुदाएर देशव्यापी चर्चामा आएकी फूलमाया यतिबेला गुमनाम जस्तै छिन् । हिजोको सीप, क्षमता र आँट बुढ्यौलीले ओझेल पार्दै लगेका बेला लेडी जेसीजले सहायताका लागि धिमाललाई सम्झिएको हो ।

समुदायमा जेसीज शुभ दिन, शुभ कार्य अन्तर्गत नेपालको पहिलो महिला रिक्सा चालक धिमाललाई खाद्यान्नसहित लत्ता कपडा र नगद सहयोग गरिएको वीरता लेडी जेसीज सन् २०२४ की अध्यक्ष मेनुका ओलीले बताइन् ।

अध्यक्ष ओलीका अनुसार धिमाललाई तीन बोरा चामल, १० लिटर खोनेतेल, नून, मसला, एक बोरा मुरै, ब्ल्याङ्केट, लत्ता कपडा, घरायसी प्रयोजनका सरसफाई सामग्री र नगद आठ हजार रुपैयाँ प्रदान गरिएको छ ।

अर्जुनधारा वडा नम्बर ६ का वडाध्यक्ष हरिश्चन्द्र बाँस्तोलाको प्रमुख आतिथ्यमा धिमाललाई सहयोग हस्तान्तरण गरिएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि बाँस्तोलाले सामाजिक उत्तरदायित्व अन्तर्गतका अभियानमा लेडी जेसीजले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताए ।

सहयोग हस्तान्तरण कार्यक्रममा नेपाल जेसीजका कानुनी सल्लाहकार सिनेटर नरेशचन्द्र ओझा विशिष्ट अतिथिका रुपमा सहभागी थिए ।

लेडी जेसीजका सहसचिव एलिना रिजालको संयोजकत्वमा भएको कार्यक्रममा पूर्व अध्यक्ष संगीता चिमरिया र निवर्तमान अध्यक्ष संगीता गिरी लगायतले आफ्ना धारणा राखेका थिए । उपाध्यक्ष कविता ओलीले आस्था वाचन गरेको कार्यक्रमको सञ्चालन महासचिव मुना ढुंगेलले गरेकी थिइन् ।

सम्बन्धित खबर