बिर्तामोड । झापाको व्यवसायिक क्षेत्रमा युवा व्यवसायीको बाहुल्यता बढ्दै जाँदा उद्योग वाणिज्य सङ्घको नेतृत्वमा युवा व्यवसायीहरु स्थापित हुने अभ्यासमा छन् ।
यसकारण व्यवसायका अनेक आयामभित्र युवाले आफूलाई नेतृत्वदायी भूमिकामा सशक्त रुपले उभ्याइरहेका छन् । व्यवसायिक संघसंस्थाको नेतृत्व गरेर उनीहरूको हक, अधिकार र संरक्षणमा लाग्ने व्यावसायिक युवामध्येका एक हुन् व्यवसायी युवराज निरौला ।
मोबाइल एसोसिएसन बिर्तामोडमा दुई कार्यकाल अध्यक्षको जिम्मेवारी सम्हालेका निरौला नेपाल उद्योग तथा व्यवसायी महासंघ बिर्तामोड नगर कमिटीका अध्यक्ष पनि हुन् । व्यवसायीका विषयगत संगठनमा रहेर नेतृत्व गर्दै उनीहरूको समस्या समाधानका लागि निरन्तर लाग्ने युवा व्यवसायीमा निरौलाको नाम आउँछ ।
स्थानीय सरकार, स्थानीय प्रशासन लगायतका सरकारी निकायसँग समन्वय गर्नसक्ने व्यावसायिक क्षमता भएका निरौला सहकारीकर्मी पनि हुन् । शिक्षा बहुउद्देश्यीय सहकारी संस्थामा ११ वर्षदेखि सक्रिय निरौला अहिले लेखा सुपरीवेक्षण समितिका संयोजक छन् ।
मोबाइल व्यवसायमा लागेर आफूलाई व्यावसायिक क्षेत्रमा समर्पित गरेका निरौला बिर्तामोड उद्योग वाणिज्य सङ्घको आसन्न निर्वाचनमा कोषाध्यक्षका उम्मेदवार छन् । संस्थागत व्यवसायिक योजना बनाएर बिर्तामोडको उद्योग वाणिज्य क्षेत्रलाई अब्बल र प्रतिस्पर्धी बनाउने मामिलामा आफ्नो पहिलो योगदान रहने निरौलाको योजना छ ।
घरधनी र बहालकर्ताको समस्या मात्र होइन, कर राजस्व लगायतका विषयमा पनि व्यावसायीको हितमा मुद्दा बोकेर हिँड्न सक्ने एउटा सशक्त उम्मेदवारका रुपमा निरौलालाई हेरिएको छ । समस्यामा परेका व्यवसायीलाई संरक्षण गर्ने, उनीहरूको पक्षमा वकालत गर्ने र उनीहरुलाई अन्याय हुन नदिन वातावरण बनाउने अभियानमा निरौलाले सशक्त भूमिका खेल्दै आएका छन् ।
‘व्यवसायिक क्षेत्रमा रहेर मैले जति पनि काम गरेको छु, साथीहरू सबैले मूल्याङ्कन गर्नुभएकै छ’, कोषाध्यक्षका उम्मेदवार निरौलाले भने, ‘बिर्तामोडको उद्योग वाणिज्यको क्षेत्रमा हुने मेरो उपस्थितिलाई धेरै साथीहरुले स्वागत गर्नुभएको छ।’
उद्योगी व्यवसायीको भावनालाई आत्मसात गर्दै वित्तीय संकटको यो बद्लिँदो स्थितिमा पनि उनीहरूको संरक्षणमा आफूलाई समर्पित गर्दै आएको कोषाध्यक्षका उम्मेदवार निरौलाले बताए । दृढ आत्मविश्वास, निर्णय क्षमता, व्यावसायिक स्थायित्व र सरल तथा मिलनसार स्वभावले निरौलाको चर्चा चुलिएको हो ।
समाजको आर्थिक विकास तथा रूपान्तरणमा व्यावसायिक क्षेत्रले निर्वाह गरेको भूमिकालाई कसैले नजरअन्दाज गर्न नहुने दृढ मान्यता बोकेका निरौला बिर्तामोडका आम उद्योगी व्यवसायीले आफूलाई मत दिएर जिताउनेमा ढुक्क छन् ।
बिर्तामोड उद्योग वाणिज्य सङ्घलाई संस्थागत रूपमा मजबुत बनाउने, स्थानीय सरकारसँग समन्वयकारी भूमिका निर्वाह गर्ने, व्यवसायीको पेशागत हित संरक्षण र सुरक्षामा निरन्तर बहस र पैरवी गर्ने, व्यवसायी माथि हुने अनाधिकृत धरपकड र थिचोमिचो विरुद्ध प्रतिवादमा उत्रने र उद्योग व्यवसायको विकास र प्रवर्द्धन गर्दै साना व्यवसायीको संरक्षणमा समेत उत्तिकै ध्यान दिने गरी लाग्न सक्ने क्षमता आफूमा रहेको निरौलाले बताए ।