बिर्तामोड । झापाको बिर्तामोडस्थित बिर्तामोड उद्योग वाणिज्य संघको यही फागुन १४ गते हुने निर्वाचनका लागि स्वतन्त्र ब्यवसायिक प्यानलका उमेद्वारहरुको नाम घोषणा गरिएको छ ।
विभिन्न पाँच राजनीतिक दलमा आस्था राख्ने उद्योगी व्यवसायीहरुको गठबन्धनले अर्जुनकुमार मैनालीको नेतृत्वमा स्वतन्त्र ब्यवसायिक प्यानलका उम्मेद्वारहरुको नाम घोषणा गरेको हो । नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), राप्रपा, राष्ट्रिय स्वतन्त्र पार्टी र जसपा गरी पाँच वटा दलका ब्यवसायीहरुको स्वतन्त्र व्यवसायिक प्यानल घोषणा गरिएको हो ।
जसअनुसार अध्यक्षमा अर्जुनकुमार मैनाली, वरिष्ठ उपाध्यक्षमा राजकुमार घिमिरे (राजु), उद्योग उपाध्यक्षमा गंगा मैनाली, बाणिज्य उपाध्यक्षमा ओमप्रकाश श्रेष्ठ र जनसम्पर्क उपाध्यक्षमा गोमा भट्टराईको उम्मेदवारी रहनेछ ।
सो प्यानलबाट महासचिवमा कृष्ण पौडेल, उद्योग सचिवमा बिशम लिम्बू, वाणिज्य सचिवमा कृष्ण चापागाई, कोषाध्यक्षमा युवराज निरौला र सहकोषाध्यक्षमा निशा कर्ण सोनीले उम्मेद्वारी दिनेछन् ।
त्यसैगरी खुल्ला सदस्यहरुमा सत्रुधनप्रसाद गुप्ता, कृष्ण बजगाई, केदार खनाल, सोहनलाल राजवंशी, राकेशकुमार सिंह, रिता चौधरी, आमिर खान तथा महिला सदस्यहरुमा चन्द्रा भट्टराई र सुष्मा उप्रेती रहेका छन् ।
निर्वाचन परिचालन समितिका संयोजक एकराज कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका सदस्य उमेश डालमियाको प्रमुख आतिथ्यमा उम्मेद्वारी घोषणा गरिएको थियो । डालमियाले उम्मेद्वारहरुको नामावली सार्वजनिक गरेका थिए ।
राप्रपा बिर्तामोड नगर समितिका अध्यक्ष रञ्जु प्याकुरेलले शाब्दिक स्वागत गरेको कार्यक्रममा वाणिज्य संघका पूर्व अध्यक्ष कुमार भट्टराई, माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य भवानीप्रसाद दंगाल, राप्रपा केन्द्रीय सदस्य राजकुमार पोखरेल, रास्वपाका बिर्तामोड नगर अध्यक्ष अर्जुन मैनाली लगायतले घोषित उम्मेद्वारलाई विजयको लागि शुभकामना दिएका थिए । कार्यक्रमको सञ्चालन निर्वाचन परिचालन समितिका सदस्य सुवास भट्टराईले गरेका थिए ।