बिर्तामोड । आगामी फागुन १४ गतेका लागि निर्धारित बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचनलाई लक्षित गरी स्वतन्त्र व्यवसायिक प्यानलले आफ्नो निर्वाचन कार्यालय शुभारम्भ गरेको छ ।
विभिन्न पाँचवटा राजनीतिक दलसँग आस्था राख्ने उद्योगी व्यवसायीहरुले बनाएको स्वतन्त्र व्यवसायी प्यालनको निर्वाचन सम्पर्क कार्यालय आज उद्घाटन गरिएको हो ।
नेपाल उद्योग वाणिज्य महासंघका सदस्य उमेश डामलमियाले निर्वाचन सम्पर्क कार्यालयको रिवन काटेर उद्घाटन गरेका हुन् । कार्यालय उद्घाटन पछि मन्तब्य राख्दै उनले समग्र व्यवसायीको हितका लागि सबैजना एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।
स्वतन्त्र व्यवसायी प्यालनका तर्फबाट अध्यक्ष पदका उम्मेद्वार अर्जुन मैनालीले शाब्दिक स्वागत गर्दै नयाँ, पुराना, साना–ठूला सबै व्यवसायीको पक्षमा काम गर्न आफूले उम्मेदवारी दिएको बताए । उनले बिर्तामोड उद्योग वाणिज्य संघलाई व्यवसायीको पक्षमा काम गर्ने थलोका रुपमा विकास गर्न लागिपर्ने पनि बताएका थिए ।
निर्वाचन परिचालन समितिका संयोजक एकराज कार्कीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन अर्का व्यवसायी सुवास भट्टराईले गरेका थिए ।
नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राप्रपा, जसपा र राष्ट्रिय स्वतन्त्र पार्टी आवद्ध व्यवसायीहरुले स्वतन्त्र व्यवसायिक प्यानल बनाएका हुन् । सो प्यानलबाट अध्यक्षमा अर्जुनकुमार मैनाली, वरिष्ठ उपाध्यक्षमा राजकुमार घिमिरे (राजु), महासचिवमा कृष्ण पौडेलको नाम टुङ्गो लागिसकेको छ । अब केही दिनभित्रै सबै उम्मेदवारहरुको नाम टुंगो लगाएर सार्वजनिक गरिने निर्वाचन परिचालन समितिका संयोजक कार्कीले जानकारी दिएका छन् ।