२०८१ मंसिर १५, शनिवार , ११:३७:५१ बजे

Sajhamanch
'

भद्रपुरका शिवाकोटी जेसीज वर्ष उत्कृष्ट नागरिक

आइतवार, माघ २८, २०८०

भद्रपुर । भद्रपुर जेसीज २०२४ को नेतृत्वले शनिबारदेखि औपचारिक पदभार ग्रहण गरेको छ । शनिबार आयोजित कार्यक्रममा सन् २०२४ का अध्यक्ष टिकाराम पाण्डे (दीपक)सहित नवनिर्वाचित कार्यसमितिका पदाधिकारी–सदस्यले कार्यभार सम्हालेका हुन् ।

झापा क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्य राजेन्द्रप्रसाद लिङदेनको प्रमुख आतिथ्यमा आयोजित समारोहका बीच सन् २०२३ का अध्यक्ष युवराज न्यौपानेले सन् २०२४ का अध्यक्ष पाण्डेलाई आफूले लगाएको जेसीज चेन पहिर्याएर पद हस्तान्तरण गरे । भद्रपुर जेसीजका पूर्व अध्यक्षहरुले जेसी न्यौपानेको गलामा रहेको जेसीज चेन खोलेर नवनिर्वाचित अध्यक्ष जेसी पाण्डेको गलामा पहिर्याइदिएका हुन् ।

निर्वाचन समितिका संयोजक भद्रपुर जेसीजका पूर्व अध्यक्ष अभिषेक ढुंगानाले निर्वाचित पदाधिकारीहरुको नाम घोषणा गरेका थिए । सन् २०२४ का लागि कार्यकारी उपाध्यक्ष अभिषेक प्रधान र रविन कार्की तथा उपाध्यक्षहरु हेडम्बराज निरौला, सुरज श्रेष्ठ, आदित्य दास र भूपाल घिमिरे रहेका छन् ।

अध्यक्ष पाण्डेले बोर्डका अन्य पदाधिकारी, सदस्य र विभिन्न समितिका संयोजकहर मनोनित गर्नेक्रममा महासचिवमा सरोज ढकाल र सचिवमा शेखर बुढाथोकीलाई जिम्मेवारी दिएका छन् ।

सो अवसरमा भद्रपुर जेसीजले भद्रपुर क्षेत्रमा बसेर सामाजिक तथा शैक्षिक क्षेत्रमा लामो समयदेखि योगदान पुर्याउँदै आएका शिक्षासेवी, समाजसेवी भद्रपुर–९ निवासी विष्णुप्रसाद शिवाकोटीलाई वर्ष उत्कृष्ट नागरिकको रुपमा सम्मान गर्यो ।

समारोहका प्रमुख अतिथि लिङ्देन, प्रदेशसभा सदस्य छविलाल चुडाल, भद्रपुर नगरपालिकाका प्रमुख एवम् भद्रपुर जेसीजका पूर्व अध्यक्ष गणेश पोखरेल, भद्रपुर नगरपालिका उपप्रमुख राधा कार्कीलगायतले शिवाकोटीलाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेका थिए ।

सम्बन्धित खबर