२०८२ जेठ ७, मङ्गलवार , १२:५७:२६ बजे

Sajhamanch
'

कमला मदन आश्रित माविको ६१औं वार्षिकोत्समा उत्कृष्ट शिक्षक, विद्यार्थीलार्ई सम्मान तथा पुरस्कार

शुक्रवार, माघ २६, २०८०

कमल । झापाको कमल गाउँपालिका वडा नं. २ स्थित कमला मदन आश्रित स्मृति माद्यमिक विद्यालयले आफ्नो ६१औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । वार्षिकोत्सवको उद्घाटन गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले गरेका थिए ।

कार्यक्रममा उद्घाटन मन्तव्य व्यक्त गर्दै अध्यक्ष राईले जबसम्म सबै बालकालिका शिक्षाको पहुँचमा पुग्दैनन् तबसम्म विकास सम्भव नहुने दावी गरे । आफ्नो गाउँपालिकाले सबै बालबालिकासम्म शिक्षाको पहुँच पुर्याउँदै शैक्षिक गुणस्तर अभिवृद्धिका लागि काम गरिरहेको अध्यक्ष राईको भनाई थियो ।

विद्यालयका प्रधानाध्यापक हिमप्रसाद दाहालले विद्यालयको गतिविधिहरु माथि प्रकाश पारेका थिए । वार्षिकोत्सव समारोहमा २०७९ सालको एसईई परीक्षामा विषयगत तर्फ उत्कृष्ट नतिजाको आधारमा विद्यालय शिक्षकहरुलाई नगद ५ हजार रुपैयाँसहित कदरपत्र प्रदान गरिएको थियो ।

सम्मानित हुने शिक्षकहरुमा दोप्रासद लिम्बू (ऐच्छिक गणित), बिमला भट्टराई (नेपाली) र यजुर्वेदानन्द प्रसाद भट्टराईलाई (स्वास्थ, जनसंख्या तथा वातावरण) रहेका छन् । यस्तै विद्यालयको शिक्षण सिकाईलाई प्रविधिमैत्री बनाउँदै शैक्षिक सुधारका लागि १२ जना शिक्षकलाई ल्यापटप प्रदान गरिएको विद्यालयले जनाएको छ ।

विद्यालयको वार्षिकोत्सव समारोहमा विभिन्न व्यक्तिहरूद्वारा स्थापित अक्षयकोषबाट छात्रवृत्ति पनि प्रदान गरियो । जस अन्तर्गत सोमनाथ रेग्मी अक्षयकोषबाट कक्षा १२ उत्कृष्ट नतिजा हासिल गर्ने मनिषा दाहाललाई ३६ हजार रुपैयाँ र प्रकाश खड्कालाई २४ हजार रुपैयाँले पुरस्कृत गरिएको थियो ।

यस्तै, नेत्रबहादुर श्रेष्ठ स्मृति पुरस्कारबाट २०७८ सालको एसईईमा उत्कृष्ट नतिजा प्राप्त गर्ने आस्मा ढकाललाई ५ हजार रुपैयाँ, रविना पौडेललाई ४ हजार रुपैयाँ, सौरभ अधिकारीलाई ३ हजार रुपैयाँ प्रदान गरी पुरस्कृत गरियो । २०७९ को सोही पुरस्कार क्रमशः राहुल राजवंशीलाई ५ हजार रुपैयाँ, दिपेश ढकाललाई ४ हजार रुपैयाँ र विवेक अधिकारीलाई ३ हजार रुपैयाँ प्रदान गरियो ।

यसैगरी अर्को अक्षयकोषबाट श्रीमाया लिङ्देन स्मृति पुरस्कार २०७८ बाट धनहाङ लिम्बू ५ हजार रुपैयाँ, मिना विक ४ हजार रुपैयाँ र मनिष खड्कालाई २ हजार ५०० रुपैयाँले पुरस्कृत गरियो । सोही पुरस्कार २०७९ तर्फ मविना राई र कविता दमाइलाई जनही २ हजार ५०० रुपैयाँले पुरस्कृत गरियो ।

कार्यक्रममा विभिन्न समयमा विद्यालयलाई सहयोग गर्ने कारितास नेपाल दमक, होलसेल व्यवसायी संघ दमक, पूर्व विद्यार्थी समाज लगायतलाई सम्मान गरिएको थियो ।

त्यस्तै विद्यालयमा अध्ययनरत जेहन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदानका लागि तोपगाछी धरमपुर मैत्री समाजका तर्फबाट ४ लाख रुपैयाँको अक्षयको स्थापना गरिएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिल्लीराम अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहायक प्रधानाध्यापक आइतबहादुर राईले शाब्दिक स्वागत गरेका थिए ।

विद्यालयका शिक्षक यामनारायण प्रधानले सञ्चालन गरेको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष प्रमिला न्यौपाने तिवारी, शिक्षा समिति सदस्य नारायणप्रसाद गौतम, शिक्षा शाखा प्रमुख सूर्यप्रसाद न्यौपाने, शिक्षा विकास तथा समन्वय इकाई झापाका प्रमुख राजकुमार बिक लगायतले मन्तव्य व्यक्त गरेका थिए ।