२०८२ जेठ ६, सोमवार , १०:२२:४५ बजे

Sajhamanch
'

विर्तामोड उद्योग वाणिज्य संघ चुनाव : पाँच दलीय मोर्चा तयार

बुधवार, माघ १७, २०८०

बिर्तामोड । यही फागनु १४ गते हुन गइरहेको बिर्तामोड उद्योग वाणिज्य संघको चुनावमा पाँच राजनीतिक दलले मोर्चा बनाएर अन्य उम्मेदवारसँग प्रतिष्पर्धा गर्ने टुंगोमा पुगेका छन् ।

नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टीमा अस्था राख्ने उद्योगी व्यवसायी एकै मोर्चामा रहेर स्वतन्त्र व्यावसायिक प्यानल बनाई प्रतिष्पर्धामा उत्रने भएका हुन् ।

मंगलबार साँझ अबेरसम्म बिर्तामोडमा ती राजनीतिक दलका नेताहरुसहित भेला भएका उद्योगी व्यवसायीहरुले अधिकतम सहमतिका साथ अघि बढ्ने विश्वास आदानप्रदान गर्दै निर्वाचन सम्पन्न गर्न कार्यदलसमेत गठन गरेको जनाइएको छ ।

कार्यदलमा विगतमा चार दलले बनाएको समितिमा राप्रपाबाट वेदप्रकाश अग्रवाल र रञ्जु प्याकुरेललाई थप गरी पाँच दलीय समिति बनाइएको हो । सो कार्यदलमा नेकपा एमालेबाट देवराज कार्की र सुवास भट्टराई, माओवादी केन्द्रबाट कुवेर श्रेष्ठ अरुण र जेवी जवेगु, राष्ट्रिय स्वतन्त्र पार्टीबाट फणिन्द्रराज न्यौपाने र अर्जुन उप्रेती तथा जनता समाजवादी पार्टीबाट गौरीमान राई र अभिषेक राई रहेका छन् ।

समाचार स्रोत भन्छ – १९ सदस्यीय बिर्तामोड उद्योग वाणिज्य संघमा जनता समाजवादी पार्टीको तर्फबाट १ जना सदस्य, नेकपा माओवादी केन्द्रबाट एकजना सचिवसहित २ जना, राष्ट्रिय स्वतन्त्र पार्टीबाट वरिष्ठ उपाध्यक्षसहित ४ जना, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट एक महासचिवसहित ५ जना र नेकपा एमालेका तर्फबाट अध्यक्षसहित बाँकी रहेका पदाधिकारी र सदस्यहरु लिने गरी लगभग कुरा मिलेको छ ।

कार्यदलको बैठकले चाँडै उम्मेद्वार चयन गर्नेसमेत सहमति गरेको छ । समाचार स्रोतका अनुसार अध्यक्षमा अर्जुन मैनाली, वरिष्ठ उपाध्यक्षमा राजकुमार घिमिरे (राजु), महासचिवमा कृष्ण पौडेल, सचिवमा ओमप्रकाश श्रेष्ठ र जनसम्पर्क उपाध्यक्षमा गोमा भट्टराईको उम्मेदवारी रहने मोटामोटी सहमति भएको छ ।

कार्यदलले राजनीतिक दल र स्वतन्त्र व्यवसायीहरुसँग समन्वय गरी अधिकतम् सहमतिका साथ बिर्तामोड उद्योग वाणिज्य संघको नेतृत्व निर्वाचित गराउन सहयोग गर्ने नेपाल उद्योग वाणिज्य महासंघका सदस्य उमेश डालमियाले जानकारी दिएका छन् ।

सम्बन्धित खबर